तास र कौडा खेल्ने २० जना पक्राउ

तास र कौडा खेल्ने २० जना पक्राउ



जिल्ला प्रहरी कार्यालय चितवनले दशैँको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ ।

चाडपर्वलक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले सात जना, इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले सात र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए ।

उनीहरुको साथबाट दुई लाख ४६ हजार ७ सय ६५ रूपैयाँ, खेलमा प्रयोग गरेको कौडा र तास बरामद भएको र कात्तिक १ गतेदेखि आजसम्मको अवधिमा उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही अघि बढाइएको छ । सामूहिक रुपमा ठूलो धनराशी बाजी राखेर खेलेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।