हिन्दूको चाडपर्वमा सरकारद्वारा बाधा अवरोध खडा गरिएको विहिपको आरोप

हिन्दूको चाडपर्वमा सरकारद्वारा बाधा अवरोध खडा गरिएको विहिपको आरोप



कोरोना महामारीको बहानामा सरकारले हिन्दू धर्मसंस्कृतिप्रति पनपक्षपूर्ण व्यवहार गरेको आरोप विश्व हिन्दू परिषद् नेपालले लगाएको छ । सरकारले कोरोना संक्रमण नियन्त्रण गर्ने बहानामा हिन्दूहरुको महान् पर्व दशैँमा समेत मठ-मन्दिर दर्शनमा रोक लगाएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै परिषदले राजनैतिक लाभका लागि सरकारद्वारा एक विशेष समुहलाई भीडभाडका साथ सभा सम्मेलन गर्न छुट दिनु र बहुसंख्यक हिन्दू समुदायको आस्थालाई बेवास्ता गर्दै मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिनु दुर्भाग्यपूर्ण एवं निन्दनीय रहेको जनाएको छ ।

विहिप नेपालका महासचिव जीतेन्द्रकुमार सिंहले एक विज्ञप्ति जारी गर्दै हालै विभिन्न राजनैतिक दलहरुको पार्टी प्रवेश कार्यक्रम एवं गत महिना देशका विभिन्न ठाउँहरुमा मुस्लिम समुदायले हात–हतियारले सुसज्जित भइ मुहर्रम पर्व मनाइरहँदा कहीँकतै प्रशासनद्वारा रोकटोक गरेको नदेखिएको उल्लेख गरेका छन् ।

सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘पार्टी प्रवेश, शुभकामना आदानप्रदान एवं भवन लोकार्पण कार्यक्रमको नाममा मन्त्रीसहितको उपस्थितिमा हजारौँको भीड एकत्रित गर्दा कोरोना संक्रमण नहुने तर हिन्दूहरुको पर्वमा मात्र संकक्रमण हुने ? नेशनल मेडिकल कलेजको उद्घाटनको क्रममा प्रमुख जिल्ला अधिकारी तथा सेनासमेतको उपस्थितिमा हजारौँको भीड एकत्रित गरी सरकारद्वारा स्वयं नियमको धज्जी उडाउनु गम्भीर विषय हो । त्यस्तै भन्सार, कर तथा यातायात कार्यालयमा सयौँको भीड नियन्त्रण गर्न कुनै नियम कार्यान्वयन नगरिनुले सरकारको रवैयामाथि प्रश्नचिन्ह खडा गरेको छ ।’

यस प्रकारको गैर–जिम्मेवारीपूर्ण दोहोरो मापदण्डले बहुसंख्यक हिन्दू समुदायको मन–मस्तिष्कमा चोट पुऱ्याएको भन्दै सरकारको यस्तै हिन्दूविरोधी रवैया रह्यो भने हिन्दू समाज एवं विश्व हिन्दू परिषद नेपाल सरकारविरुद्ध सडकमा उत्रन बाध्य हुनेछ र तत्पश्चात सिर्जना हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुने चेतावनी दिइएको छ ।

हिन्दुहरुको आस्थालाई ख्याल गर्दै निश्चित स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर देशैभरिका मठ–मन्दिरमा नियमित दर्शन खुला गर्न एवं आउँदै गरेको दीपावली तथा छठ पर्वको सहजताको लागि आवश्यक व्यवस्था मिलाउन सरकारसमक्ष विश्व हिन्दू परिषद नेपालले आग्रह गरेको छ । साथै हिन्दूविरोधी तत्वहरुलाई निरुत्साहित गर्न सम्पूर्ण हिन्दू धर्मावलम्बीहरुलाई संगठित हुन विहिप नेपालले अपिल गरेको छ ।