क्रिप्टो क्रिश्चियन !

क्रिप्टो क्रिश्चियन !



■ मोहन लामा रुम्बा

(क्रिप्टो क्रिश्चियन-१)

दश–पन्ध्र वर्ष अगाडि एकपटक मलाई चिनजानकै एक पास्टर आएर ‘तपाईंलाई हामी दक्षिण कोरियामा उपचारको व्यवस्था गर्छौं मोहन सर !’ भन्दै आए, मैले ‘हुन्छ’ भनेँ । त्यसको केही समयपछि आएर फेरि भने– ‘हामीले सबै कुरा हाम्रो बोसलाई जानकारी गराइसक्यौँ तर उहाँले एउटा सर्त राख्नुभएको छ..।’

मैले ‘के सर्त होला ?’ भनेर जिज्ञासा राखेँ ।

उनले भने– ‘तपाईंको घरको एकापरिवारको कुनै सदस्य इसाईको सदस्य हुनुपर्छ भन्नुभएको छ, तपाईं सामाजिक क्षेत्रमा चिरपरिचित हुनुहुन्छ तपाईं हुनु पर्दैन तर तपाईंको चुल्होभित्रको कुनै सदस्य भएपछि मात्र सहयोग गर्न सक्ने भन्ने कुरा आएकोले यो खबर गर्न आएको ।’

०००

दार्जिलिङमा जन्मेको गोपाल गुरुङ मंगोल नेशनल अर्गनाइजेसन पार्टीको संस्थापक अध्यक्ष हुन् । यिनले आफ्नो जीवनकालभरि हिन्दु धर्मले बौद्ध किराँत बोन सारा नेपाली मुलवासीले मान्दै आएको धर्ममाथि हिन्दुकरण गऱ्यो भन्दै एउटा नारा दिए– ‘अहिन्दु मुलवासी मंगोल’ ! यस्तो प्रकारको धर्मलाई जोडेर समाजमा साम्प्रदायिक हिंसाको विषाक्त विष घोल्दै ल्याए तर यिनले आफ्नो जीवनकालमा कहिल्यै गुरुङको मौलिक भाषा–संस्कृति घ्याब्री, पच्यु, प्हैंबो ल्हु को संरक्षण सम्बर्द्धन बारेमा एक शब्द बोलेनन्, न त कुनै पहल गरे । बरु गुरुङ समुदायको दिग्गज नेता कुलबहादुर गुरुङ चुनावमा उठेको बेला त्यही निर्वाचन क्षेत्रमा गएर आफू पनि उठेर निर्वाचन हराउने काम गोपाल गुरुङले गरे ।

यिनलाई गुरुङ समुदायको मौलिक संस्कृति लोपोन्मुख हुँदै गइरहेको बारेमा न त चासो थियो न संरक्षण बारेमा चिन्ता नै थियो । चासो र चिन्ता थियो त केवल कसरी जातिको नाममा द्वन्द्व मच्चाउने ! त्यसको लागि अमेरिकी नागरिक सुसन हंगेन भन्ने अमेरिकी महिलाले सोधकार्य गर्ने निहुँमा यिनको गतिविधि नियाल्दै सन् १९९३ देखि लगातार ३ वर्ष सम्मसँगै बसिन्, यो कतैबाट सेटिङ भैरहेको थियो भन्नेमा कुनै दुविधा रहेन ।

तर, जब यिनी मरे धेरैले सोचे गुरुङ परम्पराअनुसार लम बोन लगाउला ! ‘अर्घुं’ गर्ला भन्ने ठाने तर उनलाई कफिनमा हालेर क्रिश्चियन परम्परा अनुसार गाडे पछी बल्ल थाहा भयो यो त ‘क्रिप्टो क्रिश्चियन’ पो रहेछ !

क्रिप्टो क्रिश्चियन !!

क्रिप्टो क्रिश्चियन’ (Crypto-christian) कुनै लान्छना लगाएको वा गालीगलौचको शब्द होइन, यो त क्रिश्चियनहरूको रणनीतिक शब्द हो । क्रिप्टो शब्दको उत्पत्ति रोमन साम्राज्यबाट उदय भएको हो, ग्रिक भाषामा ‘क्रिप्टो’को अर्थ ‘गुप्त’ वा ‘लुकेको’ भन्ने अर्थ लाग्छ ।

क्रिश्चियन धर्मावलम्बीले बिस्तारै रोमन सभ्यता नाश गर्दै लगेपछि रोमन सम्राट ट्रा‘जनले क्रिश्चियनहरूलाई या त तिमीहरू क्रिश्चियन छोड या मृत्युदण्ड भोग्न तयार हौ भनेपछि सबैले क्रिश्चियन छोड्ने निर्णय गरे । तिनले देखावटी रूपमा रोमन देवदेवी मान्दै गरेको जस्तो गर्दै भित्रभित्र क्रिश्चियन बन्दै आफ्नो संख्या वृद्धि गर्दै लैजादै गरे । यहीँदेखि ‘क्रिप्टो’ अर्थात गुप्त वा लुकेको (छद्मवर) अभियान सुरु भयो, जसलाई ‘क्रिप्टो क्रिश्चियन’ भन्ने गरिन्छ ।

काकुरे क्रिश्चियन !!

‘क्रिप्टो’ क्रिश्चियनलाई जापानी भाषामा ‘काकुरे’ क्रिश्चियन भन्ने गरिन्छ । यो काकुरे क्रिश्चियन भारतमा इसाई धर्म प्रचारप्रसार गर्न आएको संत जेवियर भन्ने पादरी सन् १५५० मा बौद्ध धर्मावलम्बीलाई इसाईकरण गर्न जापानमा पुगे । त्यहाँ बिस्तारै–बिस्तारै बौद्ध समुदायलाई इसाईकरण गर्दै लगेपछि जापानमा कहिल्यै नदेखेको एकापसमा जातीय द्वन्द्व धार्मिक अराजकता फैलिन थाल्यो । जापानी परम्परागत संस्कृतिमाथि टीकाटिप्पणी जस्तो कि अहिले नेपालमा हामीले भोग्दै गरेको प्रत्येक चाडपर्वमा विवादमा ल्याउँछ तेरो.. मेरो… उसको… यसको… किन… कसरी.. कहिले.. कहाँबाट भनेर विवाद गरेको जस्तै जापानमा पनि १६औँ शताब्दीतिर यस्तै हुन थाल्दै गएपछि जापानको राजा शोगुन ले विदेशी क्रिश्चियन धर्म जापानको लागि खतरा महसुस गर्दै गएपछि बलपूर्वक चर्च घर तोड्ने बाइबल जलाएर फाल्ने बौद्ध छोडेर इसाई बनेका जापानीहरूलाई फर्काउने नमान्नेलाई यातना दिने जस्तो काम गर्दै गएपछि त्यहाँ रहेको क्रिश्चियनहरूले आफूलाई बचाउँदै लैजान क्रिप्टो अर्थात काकुरे क्रिश्चियन बनाउने काम सुरुवात गऱ्यो ।

अवलोकित्यश्वरको मुर्ति जस्तै देखिने तर हल्का बीचमा क्रस राखेर ‘मेरी’को मुर्ति बनाउने बुद्धको जस्तै अनुहारमा यशुको मुर्ति बनाएर जापानी भाषामा बौद्ध शास्त्र जस्तै गरी बीच–बीचमा ल्याटिन पुर्तगली भाषा घुसाएर त्यस्तै ध्वनी निकाल्दै पुजापाठ गर्दै ‘काकुरे’ क्रिश्चियन जापानमा भित्र–भित्र संख्या वृद्धि गर्दै गयो । जब १८औं शताब्दीमा औद्योगिक क्रान्तिपश्चात् धर्ममा खुलापन ल्याउन थालियो, त्यसपछि जापानको नागासाकीमा सन् १८१६ मा क्याथोलिक पादरी बर्नार्ड पेटिजेनले काकुरे क्रिश्चियनहरूलाई पहिलोपटक बाहिर सार्वजनिक भेला गर्दा ३० हजार क्रिश्चियन भेला भएका थिए ।

तिब्बतमा क्रिप्टो क्रिश्चियन

इटालीको पोर्डेननका फ्रायर पादरीले सन् १३२८ तिर नै तिब्बतको भ्रमण गरिसकेका थिए भन्ने एकथरीको भनाइ छ, तर प्रमाणित रूपमा अर्का पादरी पोर्चुगलका फादर एन्टोनियो दे आन्ड्रेडा सन् १६२६ मा तिब्बतमा क्रिश्चियन धर्म प्रचारप्रसार गर्न पुगेका थिए भने त्यसपछि निरन्तर युरोपेली धर्म प्रचारकहरू तिब्बत पुग्ने काम भइरह्यो ।

नेपालको बाटो हुँदै क्यापुचिन पादरीहरू सन् १७०० तिर पुगेर क्रिश्चियन धर्म फैलाउने काम अरु टोलीले भन्दा बढी गरेको देखिन्छ । सुरु–सुरुमा तिब्बतमा येशुलाई बौद्ध धर्मकै रूपमा प्रचारप्रसार गर्न थाले, अलि झ्याम्मिदै जान थालेपछि उनीहरूले यशु भनेको बुद्ध होइन बुद्ध मानेर केही हुँदैन भन्दै आफ्नो असली रूपमा प्रचारप्रसार गर्न थालेपछि तिब्बतभर सर्वसाधारणमा समेत हल्लाखल्ला हुन थाल्यो । यसपछि सन् १७४५ मा सबै इसाई मिसनरीहरूलाई देश निकाला गरियो, ठिक त्यही समयमा नेपालबाट पनि राजा पृथ्वीनारायण शाहले देश निकाला गरेका थिए ।

तिब्बतको राजा तत्कालीन दलाई लामाले मिसनरीहरू लखेटे पनि इसाईमा रुपान्तरण गरिसकेको तिब्बतीहरूलाई जोगाइराख्न हुबहु गुम्बा जस्तो चर्च घर, लामाले पढ्ने छ्योई जस्तै बाइबल बनाई ‘क्रिप्टो क्रिश्चियन’ बनाएर ज्यादै थोरै ०२ प्रतिशत संख्यामा अहिले रहेकोे छ । विश्वमा सबै ठाउँमा ‘क्रिप्टो क्रिश्चियन’ले खेल्न पाइरहेको छ भने विश्वमा एक मात्रै त्यस्तो ठाउँ हो तिब्बत जहाँ अहिलेसम्म कुनै क्रिश्चियनको दाल गलेको छैन । त्यसैले तिब्बतमा अन्तिम युरोपेली धर्मप्रचारक भएर सन् १८९२ मा तिब्बत आएको पादरी हडसन टेलरले तिब्बती समाज त्यहाँको वस्तुगत अवस्था देखेर भनेका थिए– ‘तिब्बतमा धर्म प्रचार गर्नु भनेको गुफाभित्र पसी शेरनीको डमरू खोसेर ल्याउनु बराबर हुन्छ’ भन्दै तिब्बत छोडेर चीनतिर लागे । यी पादरी हडसन टेलरको मृत्यु ३ जुन १९०५ मा चाङ्शा (चीन)मा भएको थियो ।

अब हेरौँ युरोपेली पादरी हडसन टेलरले आफ्नो धर्म–संस्कृतिमा तिब्बती लामाहरूलाई शेरनी जस्तो कठोर भनेर परिचय दिएका तिब्बतीहरूको नेपाल भागेर आएका शरणार्थी तिब्बती लामाहरूको अहिले कस्तो हालत छ ? शेरनी छ कि भिजेको बिरालो जस्तो छ ? तिब्बतको हावापानी खाएर बसेका तिब्बती लामाहरू र यी शरणार्थी गुम्बाका लामाहरू बीचमा कति फरक छ ?! एउटा नेपालको पश्चिमी देशको आर्थिक भौतिक सहयोगमा बाँच्ने तिब्बती शरणार्थी लामाहरूको तिब्बती गुम्बामा अहिले क्रिस्ट्मस पर्व मनाउँदै पादरीहरूलाई गुम्बामा प्रवचन गराउन बोलाउँछ, यिनकै पू्र्खा तिब्बतमा बस्ने लामाहरूले पादरीहरूलाई पाइला राख्ने ठाउँ पनि दिएको छैन ।

यस्तै, नेपालमा रहेको तिब्बती गुम्बाका लामाहरू क्रिश्चियन देख्नेबितिक्कै नुन खाएको कुखुरा जस्तो झोक्रिने अनि हिन्दू देख्ने बितिक्कै श्रीमती लैजाने जार जस्तो झोंक्किने गर्नुको रहश्य यही हो, फरक यही छ ।

जसको नुन खाएको छ त्यसअनुसारको शरीरमा गुण देखापर्छ, यो पनि ‘क्रिप्टो क्रिश्चियन’को एक अंश हो भनेर सबै सचेत हुनुपर्ने बेला भएको छैन र ? (क्रमशः)