के साँच्चै ईश्वर छन् ?!

के साँच्चै ईश्वर छन् ?!



■ रमेश भट्टराई ‘सहृदयी’


वास्तवमा मानिसको शरीर पनि भौतिक वस्तु हो । आध्यात्मिक धारबाट हेर्दा मानिसको शरीरमा आत्मा हुन्छ । आत्मिक आधार अदृश्य रूपमा हुनाले यस कुरालाई विज्ञानले नमान्नु स्वाभाविक हो । विश्वासको मात्रालाई मापन गर्ने यन्त्र नहुन्जेल विज्ञानले विश्वासको सत्यतालाई बोध गर्न सक्दैन । त्यसो हो भने यो संसारमा विश्वास नै टुट्यो भने त्यो मानिसको जीवन के सुखमय होला ? अर्को अर्थमा बुद्धिलब्धी मापन गर्ने आधारलाई तय गरिएको पाइन्छ । त्यो विश्वासकै एक अंशमा आधारित विषय हो ।


ईश्वर भन्नाले एक हिसाबमा विश्वास हो । हामीले ईश्वरीय सत्तालाई मूर्तिमा राखेर व्याख्या गऱ्यौँ । धर्म र धार्मिक आस्थालाई मन्दिर, गिर्जाघर, मस्जिद आदिमा राख्यौँ किनकि त्यो विश्वास अड्याउने प्रतिमा रहेछ । आजसम्म हाम्रो मानवीय समाजको आस्था र विश्वासले नैतिक आचरणलाई सिकाएको छ । दार्शनिक मार्क्सको मान्यतामा आत्मिक र भौतिक संस्कृतिको आधारमा समाज चलेको हुन्छ । तर, भौतिक उन्नति नै सुखको आधार हो भन्ने मार्क्सवादी सारमा विश्वासको स्तम्भलाई ढालिएको छ । तथापि, समाजको आत्मिक अनुशासनभित्र मार्क्सको व्याख्या गराइभन्दा पृथक् आधारमा विश्वासको कसिलो सम्बन्ध हुन्छ । त्यहाँ समाजले गरेको विश्वासमा सुख र शान्ति हुन्छ । सत्यवादी सोच हुन्छ । अपवित्र भावना हुँदैन किनकि भावनात्मक पक्ष नै पछाडि परेपछि वर्गद्वन्द्वको अन्त्य भएर भौतिक सम्पन्नतामा मात्र मानिस खुशी हुन सक्दैन । खुशी व्यक्तिगत विषय हो । जति पनि अनैतिक आचरण हुन्छन् त्यो समाज मात्रै नभएर मानिसभित्रको विकारले पारेको असर हो । वास्तवमा आध्यात्मिक अनुशासनले जसरी भौतिक ज्ञानको अनुशासनले मानिसलाई चरित्रवान् बनाउनै सक्दैन ।


जुन दिन विश्वास र ईश्वरीय शक्तिलाई समेत मापन गर्ने यन्त्रको आविष्कार हुन सक्छ सायद त्यसदिन भौतिकवादी पनि अध्यात्मवादी बन्न सक्लान् । भौतिक चिन्तन र आध्यात्मिक चिन्तन दुवै अभ्यास वा भक्ति हुन् । दुवै सुखका लागि गरिएका अभ्यास हुन् । यसको अर्थ शरीर यन्त्र (भौतिक वस्तु) हो र आत्मा (आत्मिक) को मिश्रणबाट मानिस बनेको छ । यी दुवै भौतिक र आत्मिक तत्वको सारमा मानिसको जीवन सुखदायी बन्छ । शरीर र आत्माको नातालाई अभ्यासकै पोल्टामा राखेर केलाउन सकिन्छ । तथापि, शरीरको तागत के हो भन्ने प्रश्नको आजसम्म ठोस उत्तर छैन । यसबाट के फाइदा पुग्छ भन्ने फाइदामुखी सोच तब मानिसमा उब्जिन्छ । अनि मानिस फेरि भौतिक लालसामा नै धकेलिन्छ र दुःख मात्रै रोज्न पुग्छ ।

जुन दिन विश्वास र ईश्वरीय शक्तिलाई समेत मापन गर्ने यन्त्रको आविष्कार हुन सक्छ सायद त्यसदिन भौतिकवादी पनि अध्यात्मवादी बन्न सक्लान् ।


अब शक्तिको अदृश्य चीजसँग गाँसिने ठोस आधारलाई हेरौँ । बिजुलीको तारमा करेन्ट बगेको देखिँदैन । हावा पनि त अदृश्य हुन्छ तर त्यसको मूल्य सबैभन्दा बढी छ । संसार आस्था र विश्वासमा यसरी नै अडिएको छ । अन्तर्राष्ट्रिय शान्तिवक्ता प्रेम रावतको सन्देशबाट सापटी लिएर भनौँ- ‘ईश्वर त त्यस्तै छ, जसरी नुन पानीमा घोल्नुपूर्व देखिन्छ, घोलिएपछि हराउँछ तर पानीमा नुनको अस्तित्व बस्छ । तथापि ईश्वर मानिसको हृदयमा छ र त्यसलाई यसै जीवनमा प्रत्यक्ष अनुभव गर्न सकिन्छ । त्यो शक्तिलाई जे नाम दिए पनि फरक पर्दैन । यो धर्मभन्दा बाहिर मानिस हुनुको सार्थक विषय हो ।’


चाहे जुनसुकै धर्मको आस्था जे-जस्तो भए पनि ईश्वरीय सत्तालाई स्वीकार गर्नुपूर्व मान्छेले स्वयम्को मूल्यबोध गर्नु आवश्यक हुने रहेछ । धर्म, ईश्वर, आस्था र विश्वासको कसीमा राखिने दृष्टिकोण एकाङ्की व्याख्यामा बन्धित हुन्छ । यो कुरा पुनर्जन्म र पाप-पुण्यको होइन । यसै जीवनलाई कसरी बुझ्ने भन्ने बारेमा आधारित विषय हो । अब प्रश्न उब्जिन्छ- मानिसभित्र ईश्वर छन् भन्ने सन्त, महात्माको मत र शास्त्रीय मतलाई कसरी हेर्ने ? यसको अर्थ मान्छेलाई नै ईश्वर भन्न सकिन्छ त ? मानिसले कर्म गरेर त्यसको फलमा बाँच्नका लागि सुखको परिभाषालाई ईश्वरीय तत्वभित्र कस्दै लैजाँदा अन्धविश्वासको डोरो तन्किन्छ । मानिस नकारात्मक कर्म गर्छ अनि ईश्वरलाई प्रार्थना गरेर आफू निष्पाप हुन चाहन्छ । यसको अर्थ त्यो मानिसले लालची प्रवृत्तिको स्वार्थी सोचलाई बढावा दिन ईश्वररूपी आस्थालाई ढाल बनाएको हो । त्यो भक्ति होइन ।


मानिस आज संसारलाई नियालिरहन्छ तर आफैंलाई बिर्सन्छ । परिवारमा, आफन्तमा, समाजमा, छिमेकी देशमा प्रेमले बचाएको सम्बन्ध छ । सबैभन्दा ठूलो कुरा मानिसमा ईश्वरीय विश्वासकै कारण सत्प्रेरणाको मानवीय भाव र प्रेम उत्पन्न हुन्छ । ज्ञान, दया, क्षमालाई नचिन्नु मानव सत्ताकै खिल्ली उडाउनु पनि त हो । अतः तत्वशास्त्रीय सिद्धान्तको उच्च स्थानमा जन्मिएको अध्यात्मवादी चिन्तन दुःखको कारण खोज्नमा मात्र सीमित छैन व्यावहारिक आत्मज्ञानको मार्गबाट सफल छ । पदार्थमा चेतना हुने भए भैँसी र मानिसको शारीरिक तत्व एउटै भएर पनि किन मानवीय चेतना उच्च छ ? भैँसीलाई किन विद्यालयमा नैतिकता सिकाउन सकिन्न ? यही ईश्वरीय कृपा हो संसारका सूक्ष्मातिसूक्ष्म जीव अमिबादेखि ठूलो प्राणी निलो ह्वेल, हात्तीको सृष्टि कुनै जर्ज फलाना भन्ने वैज्ञानिकले गरेका हुन् र भन्ने तर्क अघि सार्न सकिएला कि त ? यसै सन्दर्भमा कविशिरोमणी पौड्यालले भनेका छन्-


सुरमुनिदेखि भुसुनासम्म
प्रभु नै सबका घटमा टम्म
जलचर थलचर ग्रहगण तारा
सूर्य लगायत सुरमुनि सारा ।।


हाम्रो नेपाली बहुल संस्कृतिले नारीको सम्मान गर्छ, गार्गी, विद्योत्तमाजस्ता विदुषीका कहानी, सीताले सिकाएको छविभित्रको आदर्श, देवीलाई त्रिदेवले पूजेको तात्विक गुढता- उच्च नारी सम्मानका दृष्टान्त हुन् । आइन्सटाइनले अन्तिममा ‘हरेक चिज ईश्वरबाटै निर्देशित हुने’ कुरालाई स्वीकार गर्नुको रहस्य सायद मानिस हुनुको प्रकृति हुँदो हो । भौतिकवादी भनिएका मार्क्स, लेनिनको उत्कर्ष बिन्दुभित्रको साम्यवादभन्दा बुद्धको निर्वाण सन्देश, रामराज्यको आदर्शवाद अझ बढी सम्भव हुने विषय हुन सक्लान् । त्यहाँ वर्ग विभाजनभन्दा ठूलो मानवताको सुगन्ध फैलिन्छ भने त्यो समाजमा सुख र शान्ति हुन सक्ला कि त !


अब प्रकृतितर्फ हेरौँ- धर्तीले अन्न नउमारे, बादलले पानी नबर्साए, सूर्यले तातो नदिए, हिमालले अनि जमिनले पानी नदिए मान्छेले के गर्न सक्ला ? ईश्वरलाई मान्ने नमान्नेको झिनो भावमा अल्झेर गरिएका धार्मिक युद्धका कारण धर्मका नाममा मानिस लडिरहनु मूर्खता हो । भलै मन्दिर, मस्जिद अघि नपुग्लान् तर मानसिक साधना अवश्य गर्छन् । जब दुःख पर्छ तब कठोर मानव पनि आस्तिक बन्छ । धर्मलाई पेसा र पैसासँग मोलिरहेका दृश्यले ईश्वरीय ज्ञानलाई हैन ईश्वरले दिने फलको लालचीपनलाई बढाइरहेको छ । यही सोचले धर्मका नाममा युद्ध हुन्छ अनि मानवीय अस्मिताको मुहारमा हिलो छ्यापाछ्याप गर्ने कुबुद्धि बढ्न थाल्छ ।


अन्धविश्वासलाई घुसाएर सात्विक ज्ञानलाई कुरूप बनाउने कार्य मानिसले गरेको हो । कर्तव्य बिर्संदा मानिसले सत्यताको सौन्दर्यलाई बिर्सने रहेछ । तब जाति, धर्म, सम्प्रदायको घम्साघम्सीले मानवतामै प्रश्न गर्नुपर्ने अवस्था जन्मिन्छ । हरेक मानिसले आफूभित्रको मानवताको पोको खोल्ने बित्तिकै यो संसार स्वर्ग हुन समय लाग्दैन सायद । यसर्थ यो धर्तीलाई स्वर्ग र यहाँका मानिसलाई देवता बनाउने खुबी मानिसमा छ । मरेर होइन बाँचेर ज्ञानलाई बोध गर्ने र आदर्शतालाई अपनाउने संस्कृति मानिसको प्रकृतिभित्र पर्छ । अतः ज्ञानलाई विज्ञान र मानवतासँग राखेर बुझ्नु हरेक मानिसको दायित्व हो ।


महाकवि लक्ष्मीप्रसाद देवकोटाले आर्यघाटमा पुगेपछि– ‘आखिर कृष्ण रहेछ एक’ भन्नुले जीवनको मूल्यलाई खोजेको बोध हुन्छ । अझ बढी त देवकोटाको यात्री कविताको मर्ममा जीवन चिन्तनको एउटा अपार सार छ । यसर्थ के भन्न सकिन्छ भने प्रायः जसो धर्म र धर्मग्रन्थले प्रकृतिलाई पुज्न र माया गर्न चाहँदा रहेछन् । यसमा प्रकृति र मानिसको सम्बन्ध गाँसिएको रहेछ । नाट्यसम्राट बालकृष्ण समले भनेका छन्- ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ ।’ मानिसलाई पशुसरह बेच्ने संवेदनहीनतालाई मानिसको स्वार्थी प्रवृत्तिले बढावा दिएको हो । लालचको कालो दहमा फाल हालेर पैसालाई सर्वोपरि ठान्दा हाम्रो मातृदेवो भव, पितृदेवोको भाव उपेक्षित छ । वास्तवमा हाम्रो समाजले हामीलाई मरणोपरान्त समेत मातापिताको आत्मशान्तिका लागि श्राद्ध गर्न सिकाएको छ । जुन थालमा खायो त्यही थालमा थुक्ने आदतले डिभोर्स हुन्छन्, आचरण छैन मानवमा- आज । हामी मानिसलाई हैन उसको कामसँग मात्र प्रेम गर्छौँ, स्वार्थमा अँध्यारिएको मानिसले मुखमा राम राम बगलीमा छुरा बोकेर नैतिक भाषण छाँट्छ, शङ्का उसमै हुन्छ ।


नेपाली पर्व संस्कारका आस्था, श्रद्धाले राष्ट्रिय स्वाभिमानलाई सगरमाथासँगै उच्च बनाएको छ । मानवीय आदर्श र गुणबाट असल शक्तिलाई जन्माएको छ । ज्ञान, ध्यान, साधना, जप सबै शान्तिकै मार्ग रहेछन् । यो कार्य मानव हुनुका कारणले सम्भव हुने रहेछ । अलिकति आध्यात्मिक रहस्यमा शान्ति र आनन्द छ । भौतिक सम्पन्नतासँग जोडिएको मानवीय भाव नै दीर्घजीवी बन्छ ।

हामी मानिसलाई हैन उसको कामसँग मात्र प्रेम गर्छौँ, स्वार्थमा अँध्यारिएको मानिसले मुखमा राम राम बगलीमा छुरा बोकेर नैतिक भाषण छाँट्छ, शङ्का उसमै हुन्छ ।


पुष्पक विमानको परिकल्पना, आकाशे दरबारका कथा, रामले समुद्रमा सेतु बाँधेका कथा, मन्त्र सिद्धिका रहस्य, महाभारतको सञ्जयले व्यास ऋषिबाट पाएको दिव्यदृष्टिद्वारा अन्धा धृतराष्ट्रलाई प्रत्यक्ष वर्णन गर्न सक्ने विज्ञान, शिव पार्वतीले ध्यानदृष्टिले हेरेर गरेका लीला, रूप बदल्न सक्ने खुबी- विज्ञानका लागि खोजकै विषय होलान् । धेरै त खोजिसकिएका विषय हुनन् । त्यो कल्पना र कथाको कुरातिर समाजको व्याख्या र अनुमान मात्रै हुँदै हो । अर्थात्, आध्यात्मिक धारमा हिजो मन्त्रले आगो बल्थ्यो, इच्छाशक्ति र वरदानले न्यायको जय हुन्थ्यो, षडानन्दले रुमाल ओछ्याएर सप्तकोशी तर्थे भन्ने सुन्न पाइन्छ । यो एउटा समयको सत्य हुँदो हो ।

विश्वासमा शक्ति हुन्छ । सबै शक्ति मूर्त रूपमा हुन्छन् भन्ने हुँदैन । जसरी ब्ल्याक होलमा केही नदेखिएर पनि शक्ति हुन्छ । जसरी गुरुत्वाकर्षण बल आफूमा अदृश्य भएर पनि पिण्डलाई अड्याउन सक्षम हुन्छ । तथापि, भौतिकवादी चिन्तनमा ईश्वरीय अस्तित्वलाई स्वीकार गरिँदैन । अणु, परमाणुमा मात्र सत्यता देख्ने यस चिन्तनमा ठोस प्रमाण र व्याख्या पनि पदार्थमा आधारित हुन्छ । यसले नियतिवाद अर्थात् अदृश्य शक्ति सत्ताद्वारा समग्र प्रकृति, घटना र व्यक्ति सत्ता सञ्चालित हुन्छ भन्ने मान्यतालाई अस्वीकार गर्छ । विश्वासको मूल्यलाई विज्ञानले मान्दैन । मूलतः विज्ञान र भौतिकवादको अर्थ सापेक्ष हुन्छ । अझ समाजको आत्मिक जीवन तथा सांस्कृतिक प्रणालीमा विज्ञानको भूमिकालाई निरपेक्ष मान्ने भौतिक ज्ञानमा आधारित विज्ञानवादले प्रमाण र कारण खोज्छ ।

ईश्वर छन् भन्ने कुनै प्रमाण र ठोस पुष्टि गर्ने आधार नभएकाले यस कुरालाई कल्पना र विश्वास मात्रै ठान्ने मान्यतामा भौतिकवादी सोच अघि बढेको छ । ब्रह्माण्डको ज्ञानभित्र विज्ञानले खोजेका प्रमाणलाई सत्य मान्ने र विज्ञानले खोज्न नसकेका तर धर्मले व्याख्या गरेका जति सबै कुरालाई अन्धविश्वास मात्रै हुन् भन्ने भौतिक विज्ञानको बुझाइमा एकाङ्कीगत व्याख्या छ । ईश्वर वा भगवान् वा गड वा अल्लाह जे भने पनि त्यो एउटा सकारात्मक शक्तिप्रतिको असल विश्वास हो ।