नेपाली चलचित्रका पहिलो छायाँकारको निधन

नेपाली चलचित्रका पहिलो छायाँकारको निधन



राजन घिमिरे


कोरोना संक्रमणका कारण नेपाली चलचित्रका पहिलो छायाँकार बैकुण्ठमान मास्केको निधन भएको छ । कोरोनाका कारण उनको शुक्रबार ८३ वर्षको उमेरमा निधन भएको हो

दिवंगत मास्के विगत ७ वर्षदेखि मृगौलासम्बन्धी रोगसँग लडिरहेका थिए । नेपाल टेलिभिजनका पूर्व निर्देशकसमेत रहेका उनी समाचार ऐजेन्सी रोयटर्सका लागि नेपालका प्रतिनिधि थिए ।

गत आइतबार मास्केलाई कोरोना संक्रमण पुष्टि भएपछि निदान अस्पतालमा भर्ना गरिएको थियो । मास्केले लामो समयदेखि बनस्थलीस्थित मृगौला उपचार केन्द्रमा मृगौलाको उपचार गराइरहेका थिए ।

२०२१ सालमा भारतको पुणास्थित भारतीय फिल्म प्राविधिक शिक्षालयबाट औपचारिक अध्ययन सकाएका मास्केले २०२७ सालमा रिलिज चलचित्र ‘परिवर्तन’बाट छायाङ्कन यात्रा थालनी गरेका थिए । उनी ठूलो पर्दाको चलचित्र खिच्ने पहिलो नेपाली छायाँकार हुन् ।

मास्केले ‘मनको बाँध’, ‘पच्चीस वसन्त’लगायत दुई दर्जन बढी चलचित्र खिचेका छन् ।

उनका एक श्रीमती र एक छोरी छन् ।

मास्केको पार्थिव शरीरको शुक्रबार नै पशुपतिको विद्युतीय शवदाह गृहमा अन्तेष्टि गरिएको छ । उनी कोरोना संक्रमणबाट ज्यान गुमाउने पहिलो नेपाली चलचित्रकर्मी भएको बताइएको छ ।