सोह्र टोलीलाई पछि पार्दै गल्कोट स्पोर्ट्स क्लब टोकियो बन्यो विजेता

सोह्र टोलीलाई पछि पार्दै गल्कोट स्पोर्ट्स क्लब टोकियो बन्यो विजेता


विशेष प्रतिनिधि, जापान

नेपाल भलिबल क्लब इतावासी जापानले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले हात पारेको छ । जापानका विभिन्न स्थानबाट सत्र टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा गल्कोट स्पोर्ट्स क्लब टोकियो जापान र गल्कोट समाज जापान दुवै गल्कोटे टोली पुगेका थिए ।

ए पोलका नौ टीम र बी पोलका ८ टीमको प्रतिस्पर्धाबाट फाइनलको यात्रा तय गरेका दुवै टीम बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रबाट जापान आइ बसोबास गर्ने युवाहरु आवद्ध टीम हुन् ।

गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानमा भलिबलको प्रवद्र्धनमा निरन्तर लागेको संस्थासमेत हो । प्रत्यक वर्ष भलिबल प्रतियोगिता गर्दै आएको क्लबले यस वर्ष कोरोनाका कारण प्रतियोगिता स्थगित गरेको थियो । यस क्लबबाट नेपालमा राष्ट्रिय खेल खेलेका खेलाडी समेत खेल्नुले पनि क्लबलाई विशेष रुपमा हेरिन्छ भने क्लबमा आवद्ध खेलाडीलाई समेत यस्ता प्रतियोगितामा विशेष चासोका साथ हेर्ने गरिन्छ।

हितु थापा, राम मल्ल, गणेश केसी, मनोज केसी, केशव केसी, रेशम बस्नेत, ललित भण्डारी, सुनिल बस्नेत, महेन्द्र साहानी सहभागी टोली छनौट खेलाडी संयोजक अम्मर भण्डारी र देवेन्द्र खत्रीले गरेका थिए । प्रतियोगिताको उपाधि जित्न सफल क्लबले बीस मान नगदसहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने, क्लबका रमेश बस्नेत बेष्ट प्लेयर विधाबाट सम्मानित भएका थिए । उपविजेता बनेको गल्कोट समाज जापानले बाह्र मान नगदसहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । गल्कोटकै डम्मर बस्नेत बेष्ट ब्लकर उपाधि प्राप्त गर्न सफल भएका थिए ।

नेपाल भलिबल संघ जापान शाखाले गत वर्ष आयोजना गरेको भलिबल प्रतियोगितामा पनि गल्कोट स्पोर्ट्स क्लब टोकियो प्रथम स्थान हासिल गर्न सफल भएको थिय । खेल तोसिमाकुमा सम्पन्न भएको थियो ।