नीर शाह अर्थात् सबैका प्यारा ‘नीर राजा’

नीर शाह अर्थात् सबैका प्यारा ‘नीर राजा’


  • राजन घिमिरे

नेपाल टेलिभिजनका जन्मदाता नीर शाह…, अर्थात् नीर राजा । सबैले माया र सम्मान गरेर श्रद्धापूर्वक नीर शाहलाई यसैगरी सम्बोधन गर्ने गर्छन् । ‘राजा’ भन्ने यो सम्बोधनमा नीर शाहलाई न कहिल्यै घमण्ड पलायो न त उनी आफै कहिले फुर्किए । राजपरिवारको एक सदस्य भएको नाताले पनि उनले कहिल्यै त्यो सम्बन्धको न फाइदा उठाए न त पहुँचको बारेमा धाकधम्की दिएर शान नै देखाए । नेपाली कलाकारिता विधामा सडकदेखि महलसम्म उनको ब्यवहार र उठबसमा कहिल्यै पनि उतारचढाव आएन । भनिन्छ नि ‘हातमा दिए पनि ठिक पातमा दिए पनि ठिक..’ यो भनाइ नीर शाहको कलाकारिता र जीवनमा वर्षौंदेखि मेल खाँदै आएको छ ।

सबैका प्रिय र आँखामा राख्दा पनि नबिझाउने नेचरका नीर शाह कुनै समय कलाकारिता, सिनेमा निर्माण र आफूले सन्चालन गरेको टेलिभिजन च्यानलका कारण आर्थिक मारमा पनि परेका थिए । त्यस्तो प्रतिकुल अवस्थामा पनि उनि डग्मगाएनन्, निरन्तर लागि नै रहे कलाकारितामा ।

नेपाली कलाकारिता फाँटमा विशेष शान, मान र सम्मान पाएका नीर शाह बल्लतल्ल जन्मिएको नेपाली चलचित्रदेखि झाँगिएको आजको अवस्थासम्म आइपुग्दा पनि दत्तचित्त भएर लागि नै रहेका छन् । टेलिचलचित्र होस् या ठूलो पर्दाको चलचित्र नै किन नहोस्, टेलिविज्ञापन होस् या अरू कुनै विधा, जसले जे जति अफरका साथ खेलिदिन प्रस्ताव राखे पनि ‘नाइँ’ नभन्ने सोच र पहिचानले नै आज शाहलाई सबैको प्रिय बनाएको छ । सबै कुराबाट भरिपूर्ण हुँदााहुँदै र कुनै पनि कुराको अभाव नहुँदा पनि अभावै अभावको अवस्थामा जन्मिएको नेपाली चलचित्र बजारसँग पनि उनी हातेमालो गर्दै अगाडि बढिरहे र आज पनि लागिपरिरहेका छन् ।

आज नेपाली कलाकारिता विधामा उच्च नाम, दाम र शान हात पारेका थुप्रै कलाकर्मीहरूका गुरू हुन् नीर शाह । ती चेलाहरू जस्तै नेपाली कलाकारर्मी र यससँग सम्बन्धितहरूले पनि शाहको योगदान, निरन्तरता र लगावलाई जीवनपर्यन्त बिर्सने छैनन् र बिर्सनु पनि हुन्न । नेपाली कलाकारिताका अग्रज, आदरणीय ब्यक्तित्व अनि सम्मानित धरोहर नीर शाहलाई आज परेको उहाँको जन्म दिनको मुरी मुरी शुभकामना… !