मानव-सृष्टिको निरन्तरताको लागि बदलियो निराकारको सोच

मानव-सृष्टिको निरन्तरताको लागि बदलियो निराकारको सोच


(प्रलय प्रारम्भ–३०)

निराकार बोल्न थालिन्–

‘अभ्यस्त, हामीले देखेका थियौँ– मानिसले कतिसम्म विकास गरेका थिए र गर्न सक्छन् भन्ने कुरा । तर कदाचित धर्तीमा मानिसको अर्को पुस्ता अभ्युदय भइहालेछ भने पनि उनीहरू धर्तीमा मानव–सभ्यताको पूर्वविकासबारे पूर्ण रूपमा अनभिज्ञ रहने छन् । उनीहरूको वास्तविकता यही जङ्गल, खोलानाला, पहाड, हिमाल र सागर मात्र हुनेछ । पुर्खाले आफूमा निहित प्राकृतिक क्षमताकै उपयोग गरी प्रकृतिमाथि कुन स्तरसम्मको विजय हासिल गरेका थिए भन्ने कुरा भोलिका पुस्ताले स्मरण गरिरहने छैनन् । विज्ञान, विकास, सभ्यता र शिष्टाचारसँग सम्बन्धित भाषा जो हामी अहिले बोल्दैछौँ, अर्को पुस्ता यसबाट ‘सिफ्ट’ हुनेछ र जङ्गल तथा जङ्गली व्यवहारकेन्द्रित भाषामा उनीहरू सीमित हुनेछन् ।’

अभ्यस्तले निराकारको कुरा खुब चाख मानेर सुन्यो । आमा बीचमै रोकिएपछि उसले कुरा अघि बढाइयोस् भन्ने आकाङ्क्षा राख्दै भन्यो– ‘अनि…अनि.. ?’

छोराले आफ्नो कुरामा रुचि राखेको देखेपछि निराकार थप केही बोल्न उत्साहित भइन् र अघि बढिन्– ‘केही पुस्तासम्म हामीले अहिले बोलेको भाषा बुझिनेछन्, तर शिकारी या जङ्गली युग उत्कर्षमा पुग्दा हाम्रा भाषाहरू पुर्णतः लोप भइसकेका हुनेछन् । यसको ठाउँ अर्कै नयाँ भाषाले लिइसकेको हुनेछ । विवेक र सभ्यताभन्दा प्रकृति र आवश्यकताले मानिसको सोच, व्यवहार एवम् संस्कार निर्धारण गर्नेछ । विज्ञानको चमत्कारबाट अनभिज्ञ भोलिको मानिस जङ्गली जनावरभन्दा थोरै मात्र भिन्न हुनेछ र तिनले विकास र सभ्यताको अनेकौँ शृङ्खला पार गरेपछि मात्र प्रलयपूर्वको मानव–सभ्यताको तहमा आफूलाई पुर्‍याउनेछन्, जुन हजारौँ वर्षको निरन्तर प्रयासपछि मात्र सम्भव हुनेछ ।’

‘सभ्य, सुसंस्कृत र एउटा विकसित मानवसभ्यताको कसरी अवसान भयो र सभ्य मानिस कसरी जङ्गली मानिसमा रूपान्तरित हुन पुग्यो भन्नेबारेमा भोलिका विज्ञानले पनि अध्ययन–अनुसन्धान गरिनसक्दै सायद फेरि अर्को प्रलयले पाइला अघि बढाइसक्नेछ । सभ्य र सुसंस्कृत मानिस जङ्गली भएको भोलिका वैज्ञानिकले पनि थाहा पाउने छैनन् र ठान्नेछन्– हामी बाँदरबाट विकसित भई वनमान्छे बन्यौँ र वनमान्छेबाट हामी हजारौँ वर्षमा मान्छे भएका हौँ । अनन्त–अनन्तसम्म यही क्रम चलिरहँदा हामी मान्छे आफ्नैबारेमा सधैं अपूर्ण र अनभिज्ञ रहिरहने छौँ ।’

अभ्यस्त पूर्ण रूचिका साथ आमाको कुरा सुन्दैछ र, निराकार भन्दै गइन्– ‘जङ्गली जीवनबाट सभ्य समाज बसाउन मानिसलाई हजारौँ वर्ष लाग्न सक्छ, तर सभ्यता ‘जङ्गलमा रूपान्तरित हुन’ तीन पुस्ता पनि पर्खनुपर्ने देखिँदैन । जसरी स्वच्छ पानीलाई धमिल्याउन एकैक्षणमा सजिलै सकिन्छ, त्यसैगरी सभ्य मानिस पनि सजिलै जङ्गली बन्न सक्नेछ । धमिलो पानीलाई स्वच्छ बनाउन पनि लामो समय र सङ्घर्षको आवश्यकता रहन्छ । जङ्गलमा जङ्गली अवस्थामा जन्मेका मानिसको दिमागमा आफू जन्मेको र हुर्केको परिवेश नै वास्तविक हुन्छ र पुर्खाको कथामा अल्झिएर उसको भोक मेटिने छैन । भोक मेट्न सिकार गर्नैपर्ने हुन्छ र सिकार गर्नु र ज्यान बचाउनुभन्दा ठूलो र बेग्लै गन्तव्य उनीहरूसँग हुनेछैन ।’

‘त्यसैले बाबु, हामी एउटा यस्तो दोसाँधमा छौँ जहाँबाट एउटा सभ्यता विसर्जन हुँदैछ र आँखैअगाडि हामीले आफूलाई जङ्गल–सभ्यतामा समर्पण गर्दै छौँ ।’

‘हामीपछि कोही मानिस त यस धर्तीमा हुने छैनन् नि आमा, कसरी जङ्गल–सभ्यता र जङ्गली मानिसको कुरा आयो यहाँ ?’– अभ्यस्तले निराकारको शब्दप्रवाहको क्रम भङ्ग गर्‍यो ।

छोराको अनायास उत्पन्न प्रश्नले उनी एकैछिन अकमक्क परिन् र भनिन्, ‘होइन बाबु, मेरो आसय यदि मानव सृष्टिले निरन्तरता पायो भने भन्ने अर्थमा हो ।’

‘यो उहिल्यै अन्त्य भइसकेको प्रश्नमा हामी किन प्रवेश गर्दैछौँ आमा ? जब भोलि कोही मानिस नै यहाँ हुने छैनन् भने हामीले यसप्रकार नानाभाँतीका परिकल्पना किन गर्नुपर्‍यो ?’

निराकारले भनिन्, ‘मानवजीवनको अस्तित्व जीवित रहिन्जेल सृष्टि निरन्तरताको सम्भावना रहिरहन्छ अभ्यस्त । पहिले सनातनीहरूले सृष्टिकर्ता ब्रह्माजीमाथि आफ्नै छोरी सरस्वतीसँग अनुचित सम्बन्ध राखेको आरोप लगाउँथे र सृष्टिकर्ता भनिए पनि ब्रह्माजीको पूजा गर्दैनथे । मानिसहरू संहारकर्ता शङ्करको चाहिँ ठुल्ठूला पूजाअर्चना गर्थे तर सृष्टिकर्ताप्रति त्यति सरोकार राख्दैनथे । आफूहरू ब्रह्माजीको रचना भएको विश्वास ती सबैलाई थियो, तर कसैको पनि ब्रह्माजीप्रति अपेक्षित श्रद्धा र सम्मान भने थिएन ।’

‘ब्रह्माजीलाई अवश्य थाहा हुँदो हो कि आफैंद्वारा सिर्जित प्राणीले आफैंलाई उपेक्षा र अवहेलना गर्नेछन् भन्ने । तर, कर्तव्य निर्वाहका क्रममा उनले आफ्नो उच्चता र प्रतिष्ठाको ख्याल गरेनन् । आफूभन्दा अरूलाई नै महान् मान्ने मानिसको सृष्टि निरन्तरताका निम्ति ब्रह्माजी अनपेक्षित व्यवहार गर्न तत्पर भएको हुँदा हुन् । ब्रह्माजीले भोग्नुपरेको त्यही नियति दोहोरिन सक्ने सम्भावना फेरि पनि देखिँदै छ । धर्तीको सुन्दरता र शोभाका लागि पनि मानवजीवनको निरन्तरता आवश्यक छ । एउटा कालखण्डमा पृथ्वीको प्राकृतिक वातावरणीय सन्तुलन र सौन्दर्य नाश गर्ने पनि मानिस नै हुनेछन्, यो एउटा सत्य हो– जसले प्रलयलाई चाँडै निम्त्याउनेछ । तर, विकासको उत्कर्षमा प्रकट हुने विकृतिलाई प्रधान मानेर मानव सृष्टिकै विसर्जनको पक्षमा उभिनुचाहिँ उचित हुँदै होइन भन्ने मलाई लाग्न थालेको छ ।’ (क्रमशः)

यसअघिको खण्ड हेर्नुहोस्–
जङ्गली युगको प्रारम्भ