सङ्गठन सवल तुल्याउन काङ्ग्रेसलाई अवसर !

सङ्गठन सवल तुल्याउन काङ्ग्रेसलाई अवसर !


इन्द्रबहादुर बराल

भनिन्छ, वर्तमान नै महत्वपूर्ण समय हो । समयले उपलब्ध गराएको अवसरलाई आफ्नो पक्षमा लिन नसके समयले पर्खेर बस्दैन । समयको महत्व र त्यसले दिएको अवसर गुमायौँ भने पश्चातापबाहेक अरु केही हुन सक्दैन । यो अभिव्यक्ति यतिबेला नेपाली काङ्ग्रेसका संस्थापन र संस्थापनइतर पक्षप्रति लक्षित गरिँदै छ ।

यसै पनि अहिले काङ्ग्रेस १४औंँ महाधिवेशनको तुवाँलोमा रुमलिएको छ । तुवाँलोमा यस मानेमा कि पूर्वनिर्धारित कार्यतालिकाबमोजिम महाधिवेशन हुन सक्छ कि सक्दैन भन्ने अन्योलता सघन बनेको छ । कोरोनाको बढ्दो सङ्क्रमणका कारण पनि कार्यकर्ताहरू आफैं अलमलमा परेका छन् । अहिलेसम्म गाउँ/नगर, वडा/नगरका सक्रिय सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणका कार्यक्रम करिव सकिइसक्नुपर्नेमा त्यसै अन्यौल र अलमलको स्थिति छ । यसले महाधिवेशन अरु कति पछाडि धकेलिने हो भन्ने सवालयुक्त आशङ्का पैदा गराएको छ ।

कोरोना महामारीको कारण आफ्नो जीवन प्यारो कि सङ्गठन भन्ने प्रश्न पनि त्यत्तिकै टड्कारो बनेको अनुभूति हुँदैछ । यसैलाई आधार बनाएर नेपाली काङ्ग्रेसभित्रको पौडेल गुटले संस्थापन पक्षविरुद्ध सशक्त ढङ्गले प्रहार गर्दैछन् । यो भयावह स्थितिको जिम्मा कसले लिने भन्ने बारेमा चाहिँ कसैले मुख खोलेका छैनन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार १४औँ महाधिवेशन यताउति नगरिकन सम्पन्न गर्नुपर्ने माग राख्नेहरूले कार्यकर्ताको जीवनरक्षाको जिम्मा लिने हिम्मत भने गरेका पाइएको छैन । कार्यकर्तालाई कोरोना भाइरसको महामारीमा धकेलेर कुनै पनि मूल्यमा महाधिवेशन आगामी फागुन ७–१० भित्र सम्पन्न गर्ने हो भने त्यसको जिम्मेवारी पनि लिन तयार हुनुपर्छ, होइन भने परिस्थितिको मूल्याङ्कन गर्दै महाधिवेशनको तिथिमिति यताउति हुनुलाई अन्यथा लिनु हुँदैन ।

कोरोनाको महामारी नै संस्थापन पक्षले ल्याएको हो कि जस्तो व्यवहार एक पक्षले गर्नु विडम्बना हो । जस्तो बिउ रोप्यो त्यस्तै फल मिल्छ भन्ने कथन विश्वव्यापी नै छ । सोअनुसार आपसी सद्भाव र समझदारीपूर्वक पार्टी अधिवेशन गरे परिणाम जसको पक्षमा आए पनि सद्भाव र समझदारीपूर्ण ढङ्गले पार्टी अघि बढ्छ । तर, आरोप–प्रत्यारोप र तिक्तताकै बीच १४औं महाधिवेशनमा होमिने हो भने दुष्परिणाम हात पर्नेमा सन्देह राख्नै पर्दैन । जसरी १३औँ महाधिवेशनमा पराजित पक्षले विपक्षी पार्टीले भन्दा पनि दुश्मनीपूर्ण व्यवहार गर्दै गुजाऱ्यो, अब आउने नयाँ नेतृत्वले पनि त्यही दुर्गती ब्यहोर्नुपर्ने माहोल किन पैदा गरिँदै छ, दुखदाश्चर्यको विषय छ ।

दुःखको बेलामा ईश्वर सम्झेझैँ आफूलाई गाह्रो–साँगुरो परेको बेला दिवंगत नेताहरूको नाम जप्ने प्रवृत्ति काङ्ग्रेसमा हाबी छ । त्यही प्रवृत्तिले काङ्ग्रेस आज यो अवस्थामा छटपटिरहनु परेको हो । यस्तोमा अब पनि गम्भीर र जिम्मेवार नहुने हो भने कहिले हुने ? सधैं आफूलाई नै केन्द्रमा राखेर हिँड्ने हो भने आमकार्यकर्ता केको लागि तड्पिराख्ने ?

काङ्ग्रेसका आम कार्यकर्ताको लाागि सबैभन्दा प्यारो लोकतन्त्र नै हो । लोकतन्त्र रहेसम्म उनीहरुको केही जाँदैन, जान्छ त तिनै नेताको भाग–भोग जान्छ । त्यसैले परिस्थितिलाई सामान्यकरण गर्दै सद्भाव रसमझदारीका साथ महाधिवेशन सम्पन्न गर्नु नेतृत्व वर्गको दायित्व हो । समझदारी र सहकार्यमा विश्वास नगर्नेले बीपीको पदचिन्हमा हिँड्न सक्ने कल्पना गर्न सकिँदैन । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई त बिर्सियौं बिर्सियौँ अब बीपी र जीपीलाई पनि पदप्राप्तिकै चक्करमा बिर्सने हो भने उहाँहरूको नाम जप्नुको कुनै तुक छैन । दुःखको बेलामा ईश्वर सम्झेझैँ आफूलाई गाह्रो–साँगुरो परेको बेला दिवंगत नेताहरूको नाम जप्ने प्रवृत्ति काङ्ग्रेसमा हाबी छ । त्यही प्रवृत्तिले काङ्ग्रेस आज यो अवस्थामा छटपटिरहनु परेको हो । यस्तोमा अब पनि गम्भीर र जिम्मेवार नहुने हो भने कहिले हुने ? सधैं आफूलाई नै केन्द्रमा राखेर हिँड्ने हो भने आमकार्यकर्ता केको लागि तड्पिराख्ने ? अरु पार्टीका कार्यकर्तासँग जुध्नुपर्ने त गाउँ–वडाकै कार्यकर्ताले हो नि ! के अब तल्लो तहका मतदाता र कार्यकर्ताको मार्मिक पीडा–वेदना सम्बोधन हुने गरी नेताहरू प्रस्तुत हुनुपर्ने होइन ?

अब काङ्ग्रेसका शीर्ष तहका नेताहरूले नियमित भेटघाट र छलफलको माध्यमबाट एकाआपसमा देखिएको असमझदारी र तिक्ततालाई घटाउँदै जानुपर्छ । समयको माग नै हो यो । नेपाली काङ्ग्रेसको आफ्नो आदर्शलाई मूर्तरुप दिन व्यक्तिलाई गौण अनि राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई केन्द्र ठान्नुपर्छ । जुन आदर्श र उद्देश्यले राजनीतिमा लागियो, त्यसमा पद र प्रतिष्ठाको विषय बनाइनु हुँदैन भन्ने तथ्य बिर्सनु महाभूल हुनेछ ।

वर्तमान समयमा नेपाली काङ्ग्रेसमा दुई वटा जिम्मेवारी प्रष्ट देखिएको छ । पहिलो, १४औँ महाधिवेशन आपसी सहमति, सद्भाव र समझदारीका साथ सम्पन्न गर्ने र केही असहमित र असमझदारी छन् भने आन्तरिक बहस तथा छलफलको आधारमा व्यवस्थापन गर्ने अनि बाहिर सार्वजनिक बहसको विषय हुनबाट रोक्ने । यदि यसो हुन सक्यो भने नेपाली काङ्ग्रेसको अपराजित यात्रामा कहीँ–कतै कुनै तागतले अवरोध गर्न सक्दैन । यो यथार्थतालाई आत्मसात गर्नैपर्छ । यस्तै, समयले नेपाली काङ्ग्रेसलाई जुराइदिएको अर्को अवसर भनेको संगठन विस्तारमा लाग्ने जिम्मेवारी हो । वास्तवमा यस्तो अवसर विरलै पाइन्छ जुन अहिले उपलब्ध छ । झण्डै दुई तिहाई बहुमत प्राप्त वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार असफल भएको र आमनेपालीका साथै स्वयम् सत्तारुढ दलका कार्यकर्तामा समेत देखिएको वितृष्णालाई आशामा बदल्दै ती सबैलाई नेपाली काङ्ग्रेसमा समेट्ने समय हो यो । चुनावताका अन्धाधुन्ध गुलिया भाषण गरेका कम्युनिष्टले जनताको भावना र चाहनाअनुरुप केही गर्न नसकेको सत्य हो । त्यसैबाट निराश र असन्तुष्ट मतदातालाई आफ्नो पक्षमा लिने यो सुवर्ण अवसर हो काङ्ग्रेसका लागि । यस्तो अनुकुल अवसर वा समय सधैं आइराख्दैन भन्ने कुरा काङ्ग्रेसले यतिबेला मनन गर्नैपर्छ ।

सत्तारुढ दलभित्रको आन्तरिक कलह र मनोमालिन्य अझै व्यवस्थापन भइसकेको छैन भने सरकारका काम–कारवाहीले जनताको मन छुन सकिरहेको छैन । यस्तो स्थितिको फाइदा लिन काङ्ग्रेस चुक्नु हुँदैन ।

प्रमुख भनिएका राजनीतिक पार्टीभित्रको आन्तरिक झगडा र मनमुटावले न पार्टी राम्रोसँग चल्न सकेको छ न त सरकार नै । यस्तो देख्दादेख्दै काङ्ग्रेस–काङ्ग्रेस किन हौसिएर झगडा गर्दैछन् ? अहिले त आपसी सहमति र समझदारी कायमका साथ सङ्गठन विस्तार गर्दै जाने अर्कोतर्फ पार्टी १४औँ महाधिवेशनको तयारीमा जुट्दै जाने हो । सायद यस्तो अवसर विरलै प्राप्त हुन्छ । सत्तारुढ दलभित्रको आन्तरिक कलह र मनोमालिन्य अझै व्यवस्थापन भइसकेको छैन भने सरकारका काम–कारवाहीले जनताको मन छुन सकिरहेको छैन । यस्तो स्थितिको फाइदा लिन काङ्ग्रेस चुक्नु हुँदैन । तसर्थ पार्टीभित्र देखिएको विवादलाई आन्तरिक रूपमै व्यवस्थापन गर्दै समयको माग र अवसरअनुसार संगठन विस्तारमा लाग्नु नै काङ्ग्रेसको एक महत्वपूर्ण दायित्व हो । यसलाई सामान्य रूपले लिनु महाभुल हुनेछ ।

अब नेपाली काङ्ग्रेसले अवलम्बन गरेको ‘कदमजम’ (कर्णाली, दलित, मधेशी, जनजाति र महिला नीतिलाई व्यापक तुल्याउनु पऱ्यो । त्यस्तै जोताहा किसानलाई प्रदान गरेको ५० प्रतिशत स्वामित्वको प्रचार गर्नु पऱ्यो । सदाचार, सुशासन, पारदर्शी र मानवअधिकार आदिको पक्षमा गरेका कामको सन्देश गाउँ–गाउँमा पुऱ्याउन सक्नुपऱ्यो । सामाजिक न्यायको पक्षमा काम गर्ने दलित आयोग, महिला आयोग, आदिवासी जनजाति प्रतिष्ठान केका लागि थिए भन्ने कुराको बोध आमनेपालीलाई गराउनु पऱ्यो । देशका सदाचार र सुशासन कायम गराउन निर्माण गरेको अख्तियार दुरुपयोग आयोगको औचित्यलाई अरु प्रभावकारी बनाउने काम पनि काङ्ग्रेसबाटै भएको हो जसले पारदर्शितामा पनि बल पुऱ्याउँछ । त्यस्तै मानवअधिकार चर्को महत्वपूर्ण आयोग बनेको छ त्यो पनि नेपाली काङ्ग्रेसकै नेतृत्वको सरकारले आफ्नै पहलमा गरेको थियो । यसरी सामाजिक न्याय दिलाउन र मुलुकका सदाचार सुशासन, पारदर्शिता मानवाधिकार कायम गराउने महत्वपूर्ण संवैधानिक आयोग बनाएर काम गरेको काङ्ग्रेसले हीनताबोध गर्नुपर्ने कुनै कारण छैन ।

काङ्ग्रेस पार्टी र उसले नेतृत्व गरेको सरकारले हरेक समयको हाँकलाई सवल र सक्षम नेतृत्वदायी भूमिका खेलेको इतिहास छ । यस्तो इतिहास रचेको पार्टी नेपाली काङ्ग्रेसले वर्तमानको समयलाई चिन्न सकेन र पार्टी संगठनमा एकजुटका साथ लाग्न सकेन भने योभन्दा दुर्भाग्य अरु केही हुन सक्दैन । उच्च मनोवलका साथ पार्टी संगठनलाई सटिक र सुसंगठित हुँदै अझै उन्नत एकता प्रदर्शन काङ्ग्रेसमा यतिबेलाको खाँचो हो । सत्तारुढ दलभित्रको असमझदारीको लाभ काङ्ग्रेसले लिन सक्नुपर्छ । खास दुःखै नगरी संगठन विस्तार गर्न सकिने यो अवसर विरलै मिल्न सक्ने यथार्थलाई मनन गर्न पङ्क्तिकारको पुनश्चः आग्रह छ, काङ्ग्रेसका नेता–कार्यकर्तासँग । आपसी विवाद, मनोमालिन्य र तिक्ततापूर्ण व्यवहारलाई समयमै सच्याई अघि जान सक्नु नै महानता हुनेछ । महाधिवेशनको रडाकोमा परेर यो उपयुक्त अवसरलाई नगुमाऔँ, आपसी झगडा छाडौँ, संगठन विस्तारमा लागौँ ।

(लेखक नेपाली काङ्ग्रेस सङ्घीय मामला तथा समन्वय विभागका सदस्य हुन् ।)