कामदारमा कोरोना देखिएपछि खुलेको एक दिनमै तातोपानी नाका बन्द

कामदारमा कोरोना देखिएपछि खुलेको एक दिनमै तातोपानी नाका बन्द


सोमबारदेखि खुलेको तातोपानी नाका आज (२० असोज मंगलबार) देखि पुनः बन्द भएको छ । बाढी तथा पहिराको कारण करीब तीन महिना बन्द भएको तातोपानी नाका आज सात कामदारमा कोरोना देखिएपछि पुनःबन्द भएको हो ।

भन्सार सामग्री लोड अनलोड गर्ने मजदूरमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि खुलेको एक दिनमै चीनले नाका बन्द गरेको हो ।

चीनतर्फ सामग्री लोड अनलोड गर्न गएका ३३ मजदूरको स्वास्थ्य परीक्षण गर्दै स्वाब सङ्कलन गरिएकामा सात जनामा सङ्क्रमण देखिएपछि चीनले एकतर्फी रुपमा नाका बन्द गरेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिएका छन् ।

नेपालमा परीक्षण गर्दा ती मजदूरको कोरोना रिपोर्ट नेगेटिभ आए पनि चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएकाले अर्को सोमबारसम्मका लागि आयातनिर्यात बन्द गरिएको बताइएको छ । सबै चालक र मजदूरको पाँच पाँच दिनमा परीक्षण गर्ने क्रममा कोरोना भाइरस देखिएका चार जनालाई सदरमुकाम चौतारास्थित आइसोलशनमा राखेर उपचार गरिँदैछ । ती चार जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ नसकिँदै पुनः तीन जनामा कोरोना पोजिटिभ देखिएपछि सीमा नाका बन्द गरिएको हो ।

यही असोज १३ गते नेपाल–चीन अधिकारीबीच मितेरीपुलमा भएको बैठकमा कोरोना भाइरस नियन्त्रण गर्ने शर्तमा नाका खुलाउने सहमति भएको थियो ।

खासा र न्यालममा अड्किएका डेढ सय कन्टेनर सामान दशैँअघि काठमाडौं पुर्‍याउने योजनानुसार दुवै देशको सहमतिमा नाका खुलेको थियो । आइतबार बेलुकीदेखि सोमबार बिहानसम्म चीनको खासाबाट १२ कन्टेनरबाट लत्ताकपडा, तयारी कपडा सहित केही तयारी सामग्री तातोपानी भित्रिएको थियो ।