भुइँमान्छेहरूको जिन्दगी ..!

भुइँमान्छेहरूको जिन्दगी ..!


■ देवकी तिमल्सिना

एकोहोरो झरिरहेछ वर्षात
नपत्याउने गरी घरी–घरी
डुबान र पहिरोमा पुरिएका छन् बस्ती
कहिल्यै नभेटिने गरी
हराएका छन् मानवहरू !

जिन्दगीका असीम आशाहरू
टुक्रिएका छन् शिशासरी
न किनार न छाल रोकिएको छ
जमिनको धाँजाहरू फटाउँदै कुदेको छ
एकतमासले नदी
खै ! कुन नशामा मस्त छन् देश बनाउँछु भन्नेहरू
र, फलाकिरहेका छन् बिनातयारीका योजना ।

सिङ्गै पहाड गर्लम्मै भत्किएर
विवेकहीन आतङ्क मच्चाइरहेछ
पूरै बस्तीका आँखाभरिका सपनाहरू
नियति बन्दै बगिरहेका छन्
कहालीलाग्दो ज्वारभाटासँगै
अनगिन्ती यादहरू छातीभरि बोकेर ।

मौसम पूर्वानुमान सुनाइएकै छ
विपत पूर्वतयारीका आश्वासनहरू
बग्रेल्ती छरिएकै छन्– आँखामा छारो हाल्दै
जो जाग्नुपर्ने हो ऊ सुतिरहेकै छ
जो उठ्नुपर्ने हो ऊ बसिरहेकै छ
विगत लामो समयदेखि मुकदर्शक भएर ।

बाढीले डुबिरहेको छ तराई
पहिरोले पुरिरहेको छ पहाड
टुटे–फुटेका छरपस्ट सामानहरू
यत्रतत्र छरिएका छन्
कोकोहोलो गरी चिच्याइरहेका छन्
एक हुल मान्छेहरू
गाँस, बाँस र निकास खोज्दै
अपुरणीय क्षति व्यहोरेर
बाध्य छन् सुस्ताउन
आकाशको छतमुनि ।

भत्किएपछि जोड्न नमिल्दो रहेछ– धर्ती
रात गएपछि देखेको सपना जस्तै
पटक–पटक टुटेको जिन्दगी
जोड्न गाह्रो हुँदोरहेछ
त्यसैले,
नदीले कटान गरेजस्तै गरी
भताभुङ्ग भएर भत्किएको छ
भुइँमान्छेहरूको जिन्दगी …!