सङ्कटोन्मुख हुँदै असफल राष्ट्रको बाटोमा !

सङ्कटोन्मुख हुँदै असफल राष्ट्रको बाटोमा !


अराजकता, अव्यवस्था, कुशासन तथा भ्रष्टाचार वर्तमान गतिमै कायम रहे नेपाल आगामी दुई–अढाई वर्षमै असफल राष्ट्र बन्ने सम्भावना प्रवल बन्न पुगेको धारणा विज्ञ–विशेषज्ञ तथा विश्लेषकहरूले तर्कका साथ सार्वजनिक गर्न थालेका छन् । अस्थिर एवम् नेता/दलमुखी राजनीति, आर्थिक अराजकता वा चरम भ्रष्टाचार, विचारशुन्य राजनीतिका सारथीहरूलाई भेँडा प्रवृत्तिका कार्यकर्ताको अन्ध साथ–समर्थन, सचेत युवा वर्गको अनुशासनहीन तथा गैरजिम्मेवार क्रियाकलाप जस्ता यावत निराशादायी कारणहरूले नेपाललाई सङ्कटोन्मुख मुलुकको रूपमा चित्रित गरिँदै आएको हो । यसरी सङ्कटतर्फ धकेलिँदै गएको परिवेशका कारण ‘असफल राष्ट्र बन्न लागेको’ भनी देशको भविष्यबारे प्रक्षेपण गर्नेहरूले वास्तविक धरातलमै उभिएर विश्लेषण गरेका भन्ने ठानिँदै आएको हो । तर, मुलुक असफल हुने दिन यति नजिक आइसकेको किटानी अभिव्यक्ति दिन थालिएबाट चाहिँ बेग्लै प्रकारको सन्त्रास उत्पन्न गराएको छ, मुलुकप्रति सचेत र गम्भीर तप्कामा ।

कुनै पनि राष्ट्र ‘असफल’ घोषित हुन पुगेमा उक्त देश र जनताको हालत के–कस्तो हुन्छ भन्ने जान्नका लागि अनेकौँ उदाहरण भेटिन्छन् । त्यसको चर्चातिर नलागौँ । शासकीय विकृति बढेकोबढ्यै छ तर त्यसबारे औंल्याइँदा राज्यको कोपभाजनको शिकार हुनुपर्ने खतरा जो बढिरहेको छ, यसबारे चिन्ता र चिन्तन अपरिहार्य देखिँदै छ । सरकार देशमा राम्रो नै राम्रो भइरहेको देख्छ । केही त्यस्ता सकारात्मक काम भएका पनि होलान्, या कामको राम्रा परिणामहरू आउन बाँकी हुन पनि सक्छन् । आलोचनाकै निम्ति सरकार वा शासकहरूको आलोचना गर्ने अतिवादी प्रवृत्ति यहाँ नभएको होइन । यसो भन्दैमा नराम्रो केही भएकै छैन भनी सत्ताधारीहरूले दाबी गर्न मिल्ने ठाउँ छ र !?

सत्ताधारी दलभित्र पद–ओहदाको भागबण्डाका लागि जुन प्रकारको रडाको चलिरहेको छ, यसले सम्बन्धित नेताहरू मुलुक र जनताप्रति अत्यन्त सम्वेदनहीन रहेको दर्शाउँछ । मुलुकको यस्तो दुर्दशाले पनि शासकहरूलाई रत्तिभर नपोल्नु नेपाली जनताको ठूलो दुर्भाग्य हो ।

सामान्य चेतका नागरिकले पनि प्रष्ट बुझिरहेका छन् कि आज सार्वजनिक पदहरूको मनोनयनमा बिचौलिया, दलाल तथा नेताका आसेपासे मात्र छनोटमा परिरहेका छन्, लोकतन्त्रको मूल्य समाप्तप्रायः भएको छ, महँगी र मुद्रास्फिति बढेर धनी–गरिवबीचको खाडल दिनानुदिन फराकिलो हुँदैछ, बेरोजगारी बढेको र विदेशमा समेत रोजगारी गुमेको छ जसले विद्रोह वा अराजकता बढ्ने, शान्ति खल्बलिने सम्भावना उच्च तुल्याउँदै छ, खोक्रो राष्ट्रवादको आवरण चम्किँदै गर्दा मित्रराष्ट्रहरूसँगको सम्बन्धमा खलल पुगिरहेको छ, प्राकृतिक प्रकोप वा विपत्तिको चपेटामा परेका नागरिकलाई आवश्यक राहत प्रदान गर्नमा राज्य चुकेको छ, जसका कारण जन–जनमा मानसिक तनाव हुर्किएको छ, सामाजिक सद्भाव खल्बलिँदो छ, युवा पुस्ता अन्धकार भविष्यको कल्पना गरेर डिप्रेसनतर्फ धकेलिँदै छन् । यी सबै विसङ्गतिको समष्टि नतिजा भनेको अन्ततः देश चरम सङ्कटहुँदै ‘असफल राष्ट्र’को बिन्दुमा पुग्ने नै हो । वर्तमान वलिष्ट सरकारले गुजारेको अढाइ वर्ष अवधिले प्रष्टै देखाइसक्यो कि शासकीय नेतृत्वबाट ‘गफ’ तहको भाषणभन्दा ज्यादा केही मिल्नेवाला छैन ।

मुलुकको यस्तो दुर्दशाले पनि शासकहरूलाई रत्तिभर नपोल्नु नेपाली जनताको ठूलो दुर्भाग्य हो । सत्ताधारी दलभित्र पद–ओहदाको भागबण्डाका लागि जुन प्रकारको रडाको चलिरहेको छ, यसले सम्बन्धित नेताहरू मुलुक र जनताप्रति अत्यन्त सम्वेदनहीन रहेको दर्शाउँछ । देश र जनताको चिन्ता गर्ने दल वा नेताले जनताको पीडाप्रति आँखा चिम्लिएर आफ्नो ओहदा र सुख–सुविधातर्फ कदापि ध्यान दिन सक्दैन । राजनीतिलाई सेवा ठान्ने कुनै पनि नेता देश दलदलमा फस्दै गर्दा यसरी निर्लप्त भाव दर्शाएर रमाउन सक्दैन । सत्तापक्षलाई मात्र औंल्याएर आलोचना गर्नु पनपक्ष नै ठहरिनेछ, किनकि मुलुकको प्रमुख प्रतिपक्षी दलको दशा पनि कम्ती हास्यास्पद र दयनीय छैन । सत्तापक्षको ज्यादतिलाई ठेगान लगाउने कर्म र धर्म विपक्षीको हो । शासकीय अत्याचारविरुद्ध जनता जगाउने मूल दायित्व उसैको हो ।

तर, आफ्नो धर्म निर्वाहमा चुकेको प्रतिपक्षसमेत यतिबेला आन्तरिक भागबण्डाकै रडाकोमा अल्झिएको छ । सतहत्तर वर्षसम्म आफ्नै स्वभाव–शैलीमा बाँचेका पार्टी सभापतिलाई सातै दिनमा सच्चिएर–सुध्रिएर देखाउन अल्टिमेटम दिएर प्रमुख प्रतिपक्षी दलका ‘वरिष्ठ’ तहका नेता–समूहले जग हँसाएको छ । देश र जनताको चिन्ताले नभई प्रमुख विपक्षी दलभित्रको महाभारत पनि फगत आ–आफ्नो बन्दोबस्ती मिलाउनकै लागि भएको साराले बुझेका छन् । यो सब बुझेर जनता वाक्क भइसके भनी बुझ्न नसकेका त नेताहरूले नै हो । यस्ता सठ प्रकृतिका नेताको झुण्डले देश बनाउने आशा र विश्वासमा बाँचेका नेपाली जनता आफ्नो भाग्य र भविष्य आफै निर्धारण गर्न अब फरक ढङ्गले जाग्नु अपरिहार्य छ । अन्यथा, असफल राष्ट्रका दुःखी आत्मा बनेर अस्तित्व मेटिनुको विकल्प देखिँदैन ।