विद्यार्थी र अभिभावकको हितविपरीत गएको भन्दै शिक्षा शाखामा तालाबन्दी

विद्यार्थी र अभिभावकको हितविपरीत गएको भन्दै शिक्षा शाखामा तालाबन्दी


सिद्धार्थनगर नगरपालिका रुपन्देहीको शिक्षा शाखामा तालाबन्दी भएको छ । सत्तारुढ नेकपानिकट अनेरास्ववियू भैरहवा बहुमुखी क्याम्पस कमिटी सिद्धार्थनगरले सिद्धार्थनगर शिक्षा शाखाले गरेको निर्णय विद्यार्थी र अभिभावकको मर्म र हितविपरीत भएको भन्दै सो निर्णय २४ घण्टा भित्र फिर्ता गर्नुपर्ने माग राखे पनि सुनुवाई नभएको कारण देखाउँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले ताला लगाएको हो ।

‘नगरपालिकाले स्कुल भर्ना खोल्ने र विद्यार्थीहरुको असार, साउन, भदौको ७० प्रतिशत, असोज महिनादेखि ८० प्रतिशत शुल्क लिने निर्णय गरेको छ, यसमा अनेरास्ववियूले घोर आपत्ति छ, निर्णय सच्याउनु पर्छु, सिद्धार्थनगर कमिटी अध्यक्ष मनिष ढकालले बताए ।

संगठनले निजी शैक्षिक संस्थाहरुलाई पनि तत्काल भर्ना कार्यक्रम स्थगित गरी सहयोग गर्न अनुरोध गर्दै भर्ना कार्यक्रम सञ्चालन गरेको पाइएमा थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

निर्णयमा विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को दफा ३ मा भएको व्यवस्थाबमोजिम संस्थागत विद्यालयको शुल्क निर्धारण सम्बन्धमा २०७६ को शुल्कलाई आधार मानी असार, साउन भदौ महिनाको ७० प्रतिशत र असोजबाट ८० प्रतिशत शुल्क लिने, असोजको दोस्रो हप्ता सम्ममा विद्यालय भर्ना हुन बाँकी र स्थान्तरित विद्यार्थीहरुको भर्ना गर्ने, निर्देशिका बमोजिम स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै पठनपाठनको व्यवस्था मिलाई कक्षा १ देखि ७ सम्मका विद्यार्थीलाई साताको २ दिन र कक्षा ८, ९ र १० लाई नियमित पठनपाठन सञ्चालन गर्ने उल्लेख थियो ।

उता सिद्धार्थनगर शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले भने विद्यार्थीको लागि पठनपाठनलाई निरन्तरता दिन र शैक्षिक सत्र खेर जान नदिनका लागि सिकाई सहजीकरण निर्देशिका २०७७ ले विद्यार्थीलाई वैकल्पिक विधिबाट पढाउन अनुमति दिएको बताए ।