नेपालको भाषानीति र योजना आधार

नेपालको भाषानीति र योजना आधार


आजसम्म कति पुस्तक लेखिएका हुनन् । साहित्यका, भाषाका, अर्थका, नीतिका, गणितका, विज्ञानका, स्वास्थ्य तथा शारीरिकसँग सम्बद्ध होलान् । हामीले सोचेका हौँला– नेपाली बजारमा पुस्तकको अभाव छैन । सबै प्रकृतिका पुस्तक खोजेसम्म पाउन सकिन्छ । त्यसमा पनि विविध सन्दर्भमा लेखिएका समीक्षाका लागि छनोट भएका पुस्तकहरूमा मूलतः साहित्यिक कृतिहरू नै पर्दछन् । तर, यो सन्दर्भ पुस्तकका बारेमा समीक्षाका दुई–चार कुरा गर्दा नवीन आयामबाट हेर्नु आवश्यक ठहर्छ । यसकारण पनि किनकि ‘भाषानीति र योजना’का सम्बन्धमा विरलै लेखिएका होलान् ।

हालसालै त्रिभुवन विश्वविद्यालयका प्रा.डा. राजेन्द्रप्रसाद पौडेल र धादिङको आदर्श बहुमुखी क्याम्पस गजुरीमा प्राध्यापनरत रमेश भट्टराई ‘सहृदयी’ द्वारा लिखित ‘नेपालको भाषानीति र योजना आधार’ नामक सन्दर्भ पुस्तक बजारमा आएको छ । यसलाई इन्टेलेक्चुअल्ज बुक प्यालेस कीर्तिपुरले प्रकाशन गरेको हो । यस पुस्तकमा आठओटा एकाइमा आठै प्रकृतिका विषयलाई गहन भावमा समेटिएको छ । यसभित्र भाषिक महत्ता र राज्य तथा सरोकारवालाको दायित्वलाई बोध गराइएको छ ।

हो, हामी त गर्वसाथ भन्छौँ– हाम्रो मुलुक बहुभाषिक मुलुक हो । बहुभाषिक मुलुकले भाषिक गरिमालाई जोगाउने नीति तथा योजना बनाएको छ ? अनि, भाषाले समाज र मुलुकलाई कसरी डोऱ्याउँछ ? हामी त भन्छौँ– ‘भाषा पहिचान हो । भाषाले स्वाभिमानलाई बचाएको हुन्छ ।’ वास्तवमा समाजले भाषालाई बाँध्छ अनि समाज स्वयम् भाषामा बाँधिन्छ । यस पुस्तकले भाषानीति, नेपालको भाषानीति, योजना तथा कार्यान्वयनका आधारलाई समेत सैद्धान्तिक कोणबाट समेटेको छ । वास्तवमा बहुभाषिक मुलुकमा भाषानीति तथा भाषायोजनाको विषयमा सन्दर्भ पुस्तकको अभाव भइरहेको अवस्थामा यो पुस्तकलाई बजारमा ल्याएर लेखकले ठूलो योगदान पु¥याउनुभएको छ ।

नेपालले सङ्घीय पद्धतिसँग भाषिक अधिकारलाई नीतिगत तहबाट जसरी दर्ज गरेको छ त्यो मात्रै पर्याप्त छैन । संविधानले मातृभाषामा शिक्षा प्रदान गर्ने विषयलाई किटानी गरे पनि कसरी कार्यान्वयन गर्ने भन्ने स्पष्टोक्ति दिन नसकेको प्रतीत हुन्छ । यसमा संवैधानिक प्रावधान अनुरूप २०७२ प्रदत्त भाषिक उपलब्धिलाई यसमा तर्कसम्मत आधारमा खुट्याइएको छ । बहुभाषिक वातावरण निर्माणका लागि मुलुक कटिबद्ध हुनु आवश्यक छ । व्यावहारिक आधारमा अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयलाई व्यावसायिक प्रयोजनार्थ खोलिएका भए पनि मातृभाषाको पठन–पाठनका लागि राज्य तहबाटै जाँगर चलाइएको पाइँदैन ।

यस पुस्तकले उठाएका विषय नितान्त नयाँ यसकारण छन् किनकि यसमा नेपालको सङ्घीय शासन व्यवस्थामा भाषा आयोगको स्थापनाका विषयलाई लेखकद्वारा प्रष्ट्याइएको छ । भाषा र शिक्षाको सम्बन्धलाई मुलुकले हेर्न नसक्दा भाषिक विकासको विषय छाया परेको यथार्थलाई नकार्न मिल्दैन । राजनीतिक सन्दर्भले भाषाका सवाललाई घोषणापत्रमा मात्रै समेट्न खोजेको जस्तो देखिन्छ । ऐन, नियमावली तथा कानुनी क्षेत्रमा नेपालको बहुभाषिक पृष्ठाधारलाई जसरी समेट्न खोजिए पनि भाषाको संरक्षण, संवद्र्धन र विकासमा राज्यले भूमिका निर्वाह गर्न नसकेको कुरालाई यस पुस्तकले इङ्गित गरेको छ । भाषिक राष्ट्रवादलाई बोध गरेर माध्यमभाषा, मातृभाषा र विदेशी भाषाको स्पष्ट आधार तोक्न पुस्तकमा निर्देश गरिएको छ ।

निष्कर्षतः विकसित भाषा, विकासशील भाषा, सङ्कटापन्न भाषा, लोपोन्मुख भाषा र मृतभाषा गरी यस पुस्तकले भाषाको स्तरगत वर्गीकरण गरेर हेर्न सुझाएको छ । यो पुस्तकले वास्तवमा नेपाली बजारको एउटा अभावलाई भर्ने काम गरेको छ ।

पुस्तक : नेपालको भाषानीति र योजना आधार
लेखक : प्रा.डा. राजेन्द्रप्रसाद पौडेल र रमेश भट्टराई ‘सहृदयी’
प्रकाशक : इन्टेलेक्चुअल्ज बुक प्यालेस, कीतिपुर
पृष्ठ : २८३
मूल्य : ४२५ रुपैयाँ