विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्षले गरे आत्महत्या

विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्षले गरे आत्महत्या


तेह्रथुमको आठराई गाउँपालिका–४ इवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर इङ्नामले आत्महत्या गरेका छन् ।

व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्ष इङ्नामले आत्महत्या गरेका हुन् । बिहीबार (८ असोज) बिहान १०ः०० बजे खाना खाएर बैठक बस्न भनी घरबाट निस्किएका इङ्नाम अपराह्न २ः०० बजेसम्म बैठकमा उपस्थित नभएपछि उनको खोजी शुरु गरिएको थियो ।

इङ्नामलाई खोज्न निस्किएका स्थानीयवासीले उनकै घरनजिकैको महाभीर भन्ने ठाउँमा शव झुन्डिएको अवस्थामा फेला पारेका थिए । वडा नं ४ का वडाध्यक्ष श्यामकुमार भट्टराईका अनुसार घटनास्थलको मुचुल्का गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पठाइएको छ ।

घटनाका बारेमा आवश्यक अनुसन्धान शरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताएका छन् ।

यसैबीच बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत् एक महिलाको कोरोना सङक्रमणबाट मृत्यु भएको छ । कपिलवस्तु वाणगंगा नगरपालिका–११ वनगाइका ७० वर्षीया महिलाको बिहीबार साँझ मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार मिर्गौलाको समस्या भएकी ती महिला यही असोज ५ गते अस्पतालमा भर्ना भई भेन्टिलेटरमा उपचार भइरहेको थियो ।