कोइलीनदीमा वेपत्ता भएकामध्ये थप एकको शव फेला पऱ्यो

कोइलीनदीमा वेपत्ता भएकामध्ये थप एकको शव फेला पऱ्यो


विशेष प्रतिनिधि, कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नगरपालिका कोइलीनदीमा वेपत्ता भएकामध्ये थप एक जनाको शव फेला परेको छ ।

बिहीबार बिहानैबाट वेपत्ताहरुको खोेजीमा रहेका सशस्त्र प्रहरी बल पिपराका इन्स्पेक्टर अर्जुन ढकालका अनुसार अर्घाखाँची घर भएका केशव भाट क्षेत्रीको शव भेटिएको हो ।

खोजी गर्ने क्रममा वडा नम्बर ६ सुठौलीस्थित नदी किनारमा क्षेत्रीको शव फेला परेको बताउनुभयो । मध्यान्ह साढे १२ बजेतिर क्षेत्रीको शव घाँसमा अल्झिएको र घोप्टो परेको अवस्थामा भेटिएको ढकालले जानकारी दिए ।

वेपत्तामध्ये विद्यूत कार्यालय जितपुर शाखाका प्रमुख कृष्ण पौडेलको शव अझैसम्म भेटिएको छैन । उनको पनि खोजी भइरहेको र साँझसम्म फेला पारिने ढकालको दाबी छ ।

भलवाडबाट बनगाई आउने क्रममा कजवेमा बुधबार खोलाले जिप बगाउँदा ३ जना वेपत्ता भएका थिए । त्यसमध्ये जिपचालक माधवप्रसाद पाण्डेको भने बुधबार साँझ शव भेटिएको थियो ।

अहिले पनि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका तिनचार टोली खोजी कार्यमा लागिरहेका छन् ।