चिकित्सकमा संक्रमण देखिएपछि कटहरियामा पिएचसीका सेवा बन्द

चिकित्सकमा संक्रमण देखिएपछि कटहरियामा पिएचसीका सेवा बन्द


आरके श्रीवास्तव, रौतहट

रौतहट जिल्लाको कटहरिया नगरपाललिकास्थित प्राथमिक स्वाथ्य केन्द्र (पिएचसी)को सबै सेवाहरु बन्द गरिएका छन् ।

कटहरिया नपाअन्तर्गत प्राथमिक स्वाथ्य केन्द्र कटहरियाका एक डाक्टरमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालका सबै सेवा बन्द गरिएको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहाले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिन सक्ने सम्भावना भएकोले बुधबार (७ असोज) देखि आउँदो १० गतेसम्मको लागि प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गरिने आकस्मिक सेवालगायत सम्पुर्ण सेवा बन्द गरिएको छ ।

बन्द सेवाबाट पर्न गएको असुविधाप्रति कटहरिया नगरपालिका तथा प्राथमिक स्वास्थ्य केन्द्रद्वारा सम्पुर्ण नगरवासीसमक्ष क्षमा याचना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहद्वारा जारी सूचनामा उल्लेख रहेको छ ।

यसैसाथ कटहरिया नपाले २४ सय जनाको पिसिआर परीक्षण निःशुल्क रुपमा गराएको छ । तीमध्ये ५१ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको कटहरियाका मेयर शियाराम कुश्वाहले जानकारी दिए ।

संक्रमितहरुलाई नगरपालिकाले नै व्यवस्थापन गरेको र आइसोलेसनमा राखिएको समेत मेयर कुश्वाहले जनाए ।

तालिकाअनुसार उनीहरुलाई पौष्टिक खानपिन गराउने, आवश्यक व्यायाम र योग समय समयमा गराउने गरेको कटहरिया नगरपालिकाले जनाएको छ ।