‘कोभिड १९’ बाट विश्वमा सङ्क्रमितको संख्या तीन करोड १८ लाख नाघ्यो

‘कोभिड १९’ बाट विश्वमा सङ्क्रमितको संख्या तीन करोड १८ लाख नाघ्यो


विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १८ लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १८ लाख २४ हजार ९०८ पुगेको बुधबार (२३ सेप्टेम्बर) प्राप्त समाचारमा जनाइएको छ ।

चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या नौ लाख ७६ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । यद्यपि विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड ३४ लाख २७ हजार ९१८ व्यक्ति कोरोनामुक्त भएका छन् । अझै पनि विश्वमा ७४ लाख २० हजार ८३५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् ।

कोरोना भाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ७० लाख ९८ हजार २९१ भन्दाबढी सङ्क्रमित भएका छन् भने दुई लाख पाँच हजार ४९१ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो ।

मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या ५६ लाख ५० हजार नाघेको छ ।

यस्तै, ब्राजिलमा एक लाख ३८ हजार १५९ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ९० हजार ७७ जनाको मृत्यु भएको छ । रुस ११ लाख २२ हजार २४१ सङ्क्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको कोलम्बियामा ७ लाख ७७ हजार ५३७ जनामा सङ्क्रमण रेहेको छ । छैठौैँ स्थानमा रहेको पेरुमा सात लाख ७६ हजार ५४६ व्यक्ति सङ्क्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ ।