पाल्तु कार्यकर्ताद्वारा ‘व्यवस्था’ बचाउने योजना

पाल्तु कार्यकर्ताद्वारा ‘व्यवस्था’ बचाउने योजना


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पाल्तु कार्यकर्ताहरू राखेर सङ्घीय गणतन्त्रात्मक धर्मनिरपेक्ष व्यवस्थाको रक्षा गर्ने योजना बनाएको छ ।

पछिल्लो समय सत्तारुढ नेकपाले छिमेकी मित्रराष्ट्रसँग विश्वासपूर्ण, सन्तुलित एवम् मित्रवत सम्बन्ध बनाउन नसकेको र देशभित्र पनि असन्तुष्टि बढ्दै गएकोले ‘व्यवस्था’ सङ्कटमा पर्न सक्ने निष्कर्ष निकाल्दै त्यसको बचाउनका निम्ति विभिन्न उपाय अवलम्बन गर्ने निर्णयमा नेकपा पुगेको हो । त्यसैले राज्यबाट सुविधा नपाउने हरेक नेता र पूर्णकालिक कार्यकर्तालाई मासिक पारिश्रमिक उपलब्ध गराउने निर्णय नेकपाले गरेको छ ।

मासिक पारिश्रमिक पाएपछि पार्टीका नेता–कार्यकर्ताहरूको सक्रियता बढ्ने र तिनले आफ्नो सुविधाको रक्षाका निम्ति पनि ‘लडेर व्यवस्था जोगाइदिने’ विश्वासका आधारमा पार्टीका नेता–कार्यकर्ताहरूलाई पारिश्रमिक उपलब्ध गराउने निर्णय नेकपाबाट भएको बुझिएको छ ।

कम्युनिष्टहरू आपसमा जतिसुकै बाझ्ने र जुध्ने गरे पनि आफ्नो शान, मान र स्वार्थमा धक्का पुग्ने सम्भावना देखियो भने रातारात एकजुट हुने गर्दछन् । एउटा शत्रु र सङ्कट नदेखाएसम्म कम्युनिष्ट कार्यकर्ताहरू नतात्ने, एकजुट नहुने र क्रियाशील नबन्ने भएकोले नेकपा नेतृत्वले शत्रु र सङ्कट देखाएर कार्यकर्तालाई आक्रामक ढङ्गले अघि बढाउने भएका छन् । निकट हुँदै गरेको स्थानीय निर्वाचन र त्यस लगत्तै हुने संसदीय निर्वाचनको परिणाम एकलौटी बनाउन पनि कार्यकर्ताको आक्रामक सक्रियता आवश्यक पर्ने हुन्छ । स्थानीय तहमा नेकपाको बर्चश्व भएकोले स्थानीय नेताहरू त्यतै लाभान्वित भइ आएका छन् । वडा सदस्य, वडा अध्यक्ष, गाउँ/नगरका उपप्रमुख तथा प्रमुखहरू मासिक हज्जारौँ रुपैयाँ भत्ताबापत पारिश्रमिक लिने गर्दछन् ।

गाउँ र नगरपालिकाहरूमा सिर्जना हुने रोजगारीमा पनि पार्टी कार्यकर्ताहरूलाई मात्र अवसर दिने गरिएको छ । त्यसैगरी निर्माण र आपूर्तिसँग सम्बन्धित ठेक्कापट्टाका काममा पनि पार्टीकै स्थानीय नेता र कार्यकर्ताले मौका पाउने गरेका छन् । सरकारी कामकाजको लागि घरजग्गा भाडामा लिनु पर्दा र स्काभेटर, डोजर तथा गाडी प्रयोग गर्नु परेमा पनि पार्टी कार्यकर्ता तथा नेताकै स्वामित्वका लिने गरिएका छन् ।

यसरी राज्यको सम्पूर्ण श्रोत र साधनमाथि नेकपाको कब्जा हुन पुगेको छ । सबै स्तरका राजनीतिक नियुक्ति, ठेक्कापट्टा, आपूर्ति र आम्दानी हुनेजति सबै अवसर नेकपाका नेता, कार्यकर्ता एवम् समर्थकहरूलाई मात्र उपलब्ध हुँदै आएकोमा अब जो बेरोजगार नेता छन् तिनलाई समेत तलब भत्ता दिएर नेकपाले खुशी तुल्याउने भएको छ । यसरी पार्टीका सयौँ÷हजारौँ नेता–कार्यकर्ताहरूलाई उपलब्ध गराउने पारिश्रमिकको श्रोत के हुने हो सो स्पष्ट गर्न सक्ने अवस्थामा नेकपा छैन ।

एउटा शत्रु र सङ्कट नदेखाएसम्म कम्युनिष्ट कार्यकर्ताहरू नतात्ने, एकजुट नहुने र क्रियाशील नबन्ने भएकोले नेकपा नेतृत्वले शत्रु र सङ्कट देखाएर कार्यकर्तालाई आक्रामक ढङ्गले अघि बढाउने भएका छन् । निकट हुँदै गरेको स्थानीय निर्वाचन र त्यस लगत्तै हुने संसदीय निर्वाचनको परिणाम एकलौटी बनाउन पनि कार्यकर्ताको आक्रामक सक्रियता आवश्यक पर्ने हुन्छ ।

नेपालमा जनता आफैं असङ्गठित र निरीह रहेकोले पार्टी कार्यकर्ता तथा लठैतहरूले चाहेबमोजिम जनतालाई नियन्त्रण र प्रयोगमा ल्याउन सकिने ठहर नेकपाका नेताहरूको रहेको छ । भेनेजुएलामा मादुरोले सर्वसाधारणलाई नियन्त्रणमा लिन र तिनलाई आफ्नो पक्षमा उपयोग गर्न पनि पार्टीद्वारा पालित कार्यकर्ता र लठैतहरूको अतिरिक्त प्रयोग गर्ने गरेका छन् । जसलाई नेपालमा कुनै समय मण्डले र फिलिपिन्समा भिजिलान्ते भनिएजस्तै त्यहाँ ‘चाविस्टा’ भनिन्छ । हो, यतिबेला नेपालमा पनि भिजिलान्ते उर्फ चाविस्टाहरूलाई सशक्त तुल्याउने र सम्पूर्ण सत्तामा नियन्त्रण कायम गर्ने दूरगामी योजनामा कम्युनिष्ट नेतृत्व लागिपरेको छ ।

केन्द्रीय समितिका सदस्य नेताहरूलाई समेत तलव–भत्ताको व्यवस्था गरेर नेकपाले राजनीति एउटा पवित्र सेवा कार्य नभइ आम्दानी हुने व्यवशाय भएको शिद्ध गरिदिएको छ । चार सय भन्दा बढी केन्द्रीय सदस्यहरूलाई मासिक पन्ध्र हजार मात्र उपलब्ध गराइए पनि प्रतिमहिना साठी लाख र हरेक वर्ष साठी करोड रुपैयाँ ब्यय हुने गर्दछ । नेकपाले यति ठूलो रकम कुनै न कुनै रूपमा राज्यकै दोहनबाट प्राप्त गर्ने निश्चित छ ।

व्यवस्था जोगाउन यसरी पाल्तु कार्यकर्ताहरूको व्यवस्था मात्र नेकपाले गरेको छैन, ‘वामपन्थी काङ्ग्रेस पार्टी’का सभापति शेरबहादुर देउवालाई समेत बोकेर नेपालको सातवटै प्रदेशमा विशेष आमसभा र शक्ति प्रदर्शनको कार्यक्रम पनि नेकपाले बनाउने भएको छ । त्यसरी शक्ति प्रदर्शन गरेपछि यो व्यवस्थालाई विस्थापित गर्न खोज्नेहरू स्वतः निरुत्साहित हुने र ‘व्यवस्था’ जोगिने विश्वास कम्युनिष्ट नेताहरूले गरेका छन् ।

तर हजारौँको पञ्चऱ्याली भएकै केही दिनभित्र हज्जारौँ जनता सडकमा निस्किएर पञ्चायत ढालेको र, दश लाखभन्दा बढी आफ्ना समर्थकहरूलाई सभामा उतारेर सम्बोधन गरेको साता दिनभित्रै दशौँ लाख मानिस सडकमा उत्रिएर रुमेनियाका निकोलाई चाउचेस्कुको हत्या गरिएको घटनाबाट भने कम्युनिष्ट नेताहरूले सिक्न खोजेको देखिएन । राम्रा काम गर्दै सुशासनको अनुभूति दिलाउनुको सट्टा नेकपाले पाल्तुहरूद्वारा व्यवस्थाको रक्षा गर्ने योजना बनाएर संसार हँसाउने र देशलाई रुवाउने काम गरेको छ ।