विषमावस्थाको व्यवस्थापनमा सघाउन प्रभु बैंकको ‘सहयात्रा समृद्धिको’ योजना

विषमावस्थाको व्यवस्थापनमा सघाउन प्रभु बैंकको ‘सहयात्रा समृद्धिको’ योजना


प्रभु बैँक लि.ले ‘सहयात्रा समृद्धिको’ (Partnership for Prosperity) नामक कर्जा योजना आरम्भ गरेको छ ।

मुलतः नेपाल राष्ट्र बैँक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकिकृत कार्यविधी, २०७५ अन्तर्गतको यो कर्जा योजना ‘आइडिया स्टुडियो नेपाल’सँगको सहकार्यमा कोभिड–१९ को कारणले प्रभाबित र समस्यामा परेका साना उद्यमी तथा व्यवसायी, स्वरोजगार उद्यमी, शिक्षित बेरोजगार युवा, विदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेशा र व्यबसायमा संलग्न उद्यमीहरूको विद्यमान आर्थिक कठिनाईलाई व्यवस्थापन गर्न ल्याइएको बैंकले जनाएको छ ।

साथै, यस माहामारीमा उल्लिखित व्यवसायी–उद्यमीहरूका पेशा, उद्यम र व्यवसायहरूलाई पुनः सुचारु गर्न सहयोग पुऱ्याउने लक्ष्यका साथ योजना ल्याइएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेलले जानकारी दिएका छन् । सहयात्रा समृद्धिको यो कर्जा योजना उक्त समुहलाई आर्थिक उन्नतिसहित जीवनभरको एउटा वित्तीय आधार र संयन्त्र तयार गर्ने एउटा प्रयास पनि भएको पोखरेलको भनाई छ ।

सरकारबाट जारी लामो समयसम्मको बन्दाबन्दीको कारण उपत्यकामा टेम्पोलगायत अन्य सार्वजनिक सवारी साधनहरूमा रोक लगाएसँगै विशेषगरी सफा टेम्पोका महिला चालकहरू आर्थिक संकटका बीच बाँचिरहेका छन् । नियमित रुपमा भइरहेको आम्दानी गुमाउनु परेसँगै दैनिक रोजीरोटीको लागी आर्थिक जोहो गर्न नसक्दा अहिले निकै ठूलो आर्थिक दबाबका बीच आफ्नो घर–व्यवहार चलाउन उनीहरू बाध्य छन् ।

अर्कोतिर, हाल विद्यालयहरूले विधार्थीहरूका लागि अनलाइन कक्षाहरू संचालन गरिरहेका छन् तर शिक्षकहरूले अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक पर्ने इन्टरनेट पहुँच, कम्प्यूटर तथा फर्निचर जस्ता न्यूनतम आवश्यकताहरूको जोहो गर्न सकेका छैनन् ।

यस कर्जा योजनाअन्तर्गत प्रथम चरणमा बैंकले काठमाडौ उपत्यकाभित्रका महिला टेम्पो चालकहरूलाई अधिकतम रु १ लाख र विद्यालय शिक्षकहरूलाई अधिकतम रु ४ लाख कर्जा सुविधा सरल र सहज तरिकाले उपलब्ध गराउने बताइएको छ ।

सोही क्रममा यो कर्जा योजना शुभारम्भको अवसरमा मंगलबार (६ असोज) काठमाडौं उपत्यकाभित्रका १० जना महिला सफा टेम्पोचालकहरूलाई बैंकले कर्जा प्रमाणपत्र हस्तान्तरण गरेको छ । यो कर्जा योजना तोकिएका अन्य पेशा, उद्यम र व्यवसायका साथै काठमाडौ उपत्यकाबाहिर पनि क्रमशः लागु गर्दै जाने बैंकको भनाइ छ ।

‘सहयात्रा समृद्धिको’ कर्जा योजना र यसको प्रक्रियामा ग्राहकहरूले कर्जा संगसंगै वित्तीय साक्षरता, वित्तीय व्यवस्थापन र अनुशासनको ज्ञान तथा सीपहरू पनि सिकुन् भन्ने अभिप्राय केन्द्रित गरिएको र यस विषमताको घडीमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा मार खेपिरहेका व्यक्ति र व्यवसायहरू यस कर्जा योजनाबाट लाभान्वित हुने विश्वास बैँकले लिएको जनाइएको छ ।