कांग्रेस केन्द्रिय समितिको बैठक असोज १९ गते

कांग्रेस केन्द्रिय समितिको बैठक असोज १९ गते


नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १९ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशनको तयारी सन्दर्भमा छलफल हुने बताइएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार पार्टी केन्द्रीय कार्यालयले कोरोना भाइरसको महामारीका कारण बैठकअगाडि पिसिआर परीक्षणको व्यवस्था पार्टी केन्द्रीय कार्यालयले गरेको छ भने पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीलाई अनिवार्य रुपमा असोज १५ गते पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।

यसैबीच नेपाली कांग्रेसले गुल्मीमा स्थानीय एक मुद्दामा केन्द्रीत रहेर पार्टी जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने क्रममा प्रहरीले अवरोध गरेको भन्दै आपत्ति जनाएको छ ।

कोरोना भाइरस सङक्रमणको प्रतिकुलता दृष्टिगत गरेर भौतिक दूरी कायम गर्दै निकालिएको ऱ्यालीपछि जिल्ला प्रशासन कार्यालय पुगेका पार्टीका जिल्ला नेतृत्व र नेता कार्यकर्तालाई प्रशासन कार्यालयमा प्रवेश गर्नुपूर्व रोकिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

ज्ञापन पत्र बुझाउन जान दिन आग्रह गरिरहँदा प्रहरीद्वारा उल्टै बल प्रयोग गरिएको र पार्टीका जिल्ला सभापति भन्ने जानकारी हुँदाहुँदै पनि जिल्ला पार्टी सभापति भुवन श्रेष्ठमाथि पनि प्रहरीले ध्रक्कामुक्का गर्दै दुर्व्यवहार गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

घटनामा पार्टीका गुल्मी सभापति श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण केसीलगायत घाइते भएका कांग्रेसले जनाएको छ । गुल्मी घटनाको यथार्थ छानविन गरेर घटनाका दोषीलाई कार्वाही गर्न माग गर्दै कांग्रेसले आगामी दिनमा यस्ता प्रकारका घटना नदोहोऱ्याउन गृह प्रशासनलाई चेतावनी दिएको छ ।