संक्रमित बढे पनि खुल्यो ताजमहल

संक्रमित बढे पनि खुल्यो ताजमहल


भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढे पनि उत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालयहरु स्थानीय प्रशासनले खुला गरेको छ ।

भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या ५४ लाख नाघिसकेको छ । संयुक्त राज्य अमेरिकापछि भारतमा सबैभन्दा बढी मानिस कोभिड–१९ बाट संक्रमित भइसकेका छन् ।

गत मार्च महिनामा सरकारले गरेको कडा लकडाउनका कारण लाखौँ मानिसको जीविकामै असर परेको छ । त्यही कारण प्रधानमन्त्री नरेन्द्र मोदी पछिल्ला दिनहरुमा अरु मुलुकले अबलम्बन गरेझैं कडा नियमहरु लागू गर्न इच्छुक देखिएका छैनन् ।

सरकारले पछिल्ला महिनामा रेलसेवा, घरेलु बिमान सेवा, बजार र रेष्टुराँ समेतका पेशा व्यवसायमा गरिएका प्रतिबन्धहरु खुकुलो बनाउन थालेको छ । सरकारले अब भारतकै विश्वप्रसिद्ध स्मारक ताजमहल सर्वसाधारणका लागि खुला गरेको छ ।

ताजमहल घुम्न परिवारसहित आइपुगेका बैंकका एक अधिकृत आयुब शेखले लकडाउनका कारण धेरै मानिसले रोजगारी गुमाएको अवस्थामा सरकारले पूरै मुलुकलाई खुला गर्नुपर्ने प्रतिक्रिया दिएका एएफपीले जनाएको छ । ‘हामीलाई अब भाइरसको डर छैन । यसले संक्रमण गर्ने भए गरिसक्यो, अब कति चिन्ता लिएर बस्ने ? अहिले मानिसको मृत्युदर पनि घटेको छ । मेरो विचारमा यो भाइरस त्यतिकै हराएर जाँदैन’, तिनले भनेका छन् ।

भारतमा आग्रास्थित ताजमहल निकै लोकप्रिय पर्यटकीय स्थल हो । यो स्मारक हेर्न वर्षमा झण्डै ७० लाख मानिस त्यहाँ पुग्छन् । तर यो स्मारक विगत सात महिनादेखि बन्द छ ।

अधिकारीहरुले सामाजिक दूरीका नियमहरुमा कडा गरिएको र पर्यटकहरुलाई यहाँका संगमरमर छुन निषेध गरिएको बताएका छन् । राजकुमारी डायनाले सन् १९९२ मा बसेर फोटो खिचाएको बेन्चलाई विशेष किसिमबाट ल्यामिनेट गरिएको छ ताकि त्यसलाई बेलाबेला स्यानिटाइज गर्न सकियोस् ।

सोमबार पहिलो दिन बिहानै सयौँ मानिस ताजमहल पुगिसकेका थिए । सुरक्षाकर्मीहरुले मानिसहरुलाई मास्क लगाउन अनुरोध गरिरहेका थिए । त्यहाँ दैनिक भ्रमण गर्नेको संख्या भने पाँच हजारमा सीमित गरिएको छ । यो संख्या विगतको भन्दा एक तिहाई मात्र हो ।