‘आफैंलाई खोज्दा’ सार्वजनिक

‘आफैंलाई खोज्दा’ सार्वजनिक


जानेमानेका अर्थशास्त्री एवम् गीतकारको रूपमा समेत सुपरिचित व्यक्तित्व पूर्वराजदूत प्रा.डा. विश्वम्भर प्याकुऱ्यालको संस्मरणात्मक कृति ‘आफैंलाई खोज्दा’ आइतबार (४ असोज) लोकार्पण गरिएको छ ।

लोकर्पणका क्रममा पुस्तकका लेखक प्याकुऱ्यालले जीवनमा आफूले भोगेका सुख–दुःख, उत्साह, उमङ्ग र पीडाहरूलाई पुस्तकमा लिपिबद्ध गरेको जानकारी दिनुभयो । आफ्ना भोगाइलाई आफैंसँग किरिया खाएर जस्ताको तस्तै उतारेको बताउँदै स्रष्टा प्याकुऱ्यालले भन्नुभयो– ‘विद्यार्थी जीवनका बेला एक्टिभिस्ट भएर जेल पनि गएँ, विद्यालयमा शिक्षण गरेँ, विश्वविद्यालयमा लामो समय प्राध्यापनमा बिताएँ, गीत, कथा, कविता लेखेँ, सङ्गीतकार, गायक अनि लेखकहरूसँग निकट भएर बिताएँ, उनीहरूसँगको सम्बन्धमा रमाएँ ।’

‘कति वर्ष उत्पादनशील भएँ, कति वर्ष अनुत्पादक पनि भएँ होला, उच्च शिक्षा हासिल गर्न अमेरिका गएँ, शिक्षाको स्तर बढाउँदै गएँ, जीवनमा गल्ती पनि भए तर सुधार गर्नुपर्छ भन्नेमा सधैं सचेत रहेँ । जीवनमा विभिन्न ठाउँमा पुरस्कृत भएँ । कहीँकतै अपमानित पनि भएँ’– उहाँको थप भनाइ थियो ।

‘आफैंलाई खोज्दा’भित्र उल्लिखित विविध घटना एवम् विषयको समग्र प्रस्तुति समेटिएको उहाँको प्रष्टोक्ति थियो ।

भर्चुअल माध्यमबाट सम्पन्न पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ कलाकार, फिल्म निर्माता एवम् निर्देशक नीर शाह, सत्तारुढ नेकपा नेतृ रामकुमारी झाँक्री, बैंकर एवम् स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनले पनि पुस्तक तथा पुस्तकका लेखकबारे आ–आफ्ना अभिव्यक्ति दिएका थिए । स्वतन्त्र र स्वाभिमानी जीवन बाँच्दै आफ्नो कर्मपथमा निरन्तर लागिपर्नुभएका विश्वम्भर प्याकुऱ्याल जस्ता बहुआयामिक व्यक्तित्वको संस्मरण सबैका लागि उपयोगी हुने वक्ताहरूको भनाई थियो ।

‘मान्छेले आफ्नो जीवनका भिन्नभिन्न कालखण्डमा निर्वाह गर्नुपरेका भूमिकामाथि न्याय गर्नु भनेको ती कुनै पनि भूमिकामा आफूलाई मिसाउँदा आफ्नो मौलिकतालाई कायम राख्न सक्नु नै हो । त्यो आफ्नोपन विश्वम्भरजीले आजसम्म आफूभित्र जीवित राख्नुभएको रहेछ’ भन्दै नीर शाहले प्रोफेसर प्याकुऱ्यालको कृतिबारे प्रष्ट्याउँदै अगाडि भन्नुभयो– ‘गाउँले देहाती हुँदा होस् अथवा शहरिया विद्यार्थी, राजनीति गर्दा होस् वा साहित्य लेख्दा, प्रेम गर्दा होस् अथवा विवाह गर्दा, कुक हुँदा होस् अथवा कन्सल्टेन्ट हुँदा, मन पग्लिँदा होस् अथवा बाक्लिँदा । यी सबै कडीलाई एउटै तत्वले सधैं जोडेको रहेछ । र त्यो तत्व उहाँ स्वयम् र उहाँको जीवन दर्शनले बनाएको रहेछ, जो आजसम्म पनि भत्किएको रहेनछ । ‘आफैंलाई खोज्दा’ पुस्तक पढ्दा मैले यिनै सत्य भेटेँ र यसरी नै बाँच्ने प्रेरणा पनि पाएँ ।’

कोभिड–१९ को महामारीका कारण युट्युबमार्फत पुस्तक सार्वजनिक गरिएको पुस्तक प्रकाशन गृह ‘फाइनप्रिन्ट’का प्रमुख कार्यकारी अधिकृत नीरज भारीले जानकारी दिएका थिए ।