नहरमा मृत भेटिए अस्पतालका कर्मचारी

नहरमा मृत भेटिए अस्पतालका कर्मचारी


बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारी नहरमा मृत अवस्थामा भेटिएका छन् ।

सिमरा घर भई बितेको ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र मृतअवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार (३ असोज) बिहान ११ वजे अस्पताल नजिक हँुदै बगेको नहरमा भेटिएको थियो । शवलाई भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले घटनाको छानविन गर्न माग गरेका छन् ।

यसैबीच करेन्ट लागेर यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा मायागडी गाउँपालिका वडा नं ८ घर भइ भरतपुर महानगरपालिका ३ मा रहेको त्रिशक्ति कंक्रिट एण्ड ब्लक उद्योगमा कार्यरत २७ वर्षीय प्रेम राना रहेको प्रहरीले जनाएको छ ।

उद्योगमा रहेका तारमा कपडा सुकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।