इङ्ल्याण्डभरि पुनः बन्दाबन्दी हुन सक्ने !

इङ्ल्याण्डभरि पुनः बन्दाबन्दी हुन सक्ने !


बेलायतको सरकारले कोरोना भाइरस महामारीको प्रतिरोध गर्न इङ्गल्याण्डमा फेरि कडा नियन्त्रणको उपाय (बन्दाबन्दी) गर्न सकिने बताएको छ । हरेक हप्तामा अस्पताल भर्ना दरमा दोब्बर वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीले उक्त सम्भावनालाई उल्लेख गरेका हुन् ।

बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले बीबीसी टेलिभिजनलाई दिएको अन्तवार्तामा भनेका छन्– ‘हामीले राष्ट्रिय रूपमा बन्दाबन्दी (लकडाउन) गर्ने अवस्था नआओस् भन्ने चाहन्छौँ । तर, यदि आवश्यक परेमा उक्त विकल्पका लागि पनि हामी तयार रहनुपर्छ ।’

ज्यान बचाउने र जीविकोपार्जनका उपायलाई सहज पार्ने दुवै विकल्पका लागि तयार छौँ भन्दै उनले शुक्रबार १८ सेप्टेम्बर)देखि उत्तरपूर्वी इङ्गल्याण्ड राज्यका विभिन्न स्थानमा प्रतिबन्ध लगाएपछि थप स्थानीय कदम चाल्ने चेतावनी दिएका हुन् ।

बेलायत महामारीको कारण युरोपमा सबैभन्दा बढी प्रभावित देश भएको छ र कोभिड–१९ बाट लगभग बेलायतमा ४२ हजार व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ ।

गत अप्रिलदेखि थप सङ्क्रमितको सङ्ख्या उच्च रहेको थियो । यद्यपि बीचमा सङ्क्रमण पुष्टिका घटनामा निकै कमी आएको भए पनि पछिल्ला केही हप्तादेखि यो सङ्ख्यामा उच्च वृद्धि देखिएको छ ।

महामारी नियन्त्रणको निम्ति विशेष प्रयास गर्नुपर्ने आवश्यकताको पुष्टि गर्दै ह्यान्ककले भनेका छन्, ‘हामीले दुःखको साथ यो पनि देख्यौं कि कोरोना भाइरसका साथ अस्पतालमा भर्ना भएका व्यक्तिहरूको सङ्ख्या हरेक आठ दिनमा लगभग दोब्बर हुँदैछ, त्यसैले हामीले नियन्त्रणका कार्य गर्नु आवश्यक छ ।’

नर्दम्बरल्याण्ड, उत्तर र दक्षिण टाईनेसाइड, न्यूक्यासलको टाइन क्षेत्र, गेट्सहेड, र काउन्टी डरहममा २० लाख भन्दा बढी मानिसहरूलाई असर पार्ने सामाजिक दूरी कायमसहितका उपायका कडा विकल्पलाई लागू गरिएको छ ।