योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री

योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री


विशेष प्रतिनिधि, टोकियो (जापान)

बुधबार तल्लो सदनमा भएको चुनावबाट सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)का नेता योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री चुनिएका छन् । संसदमा भएको मतदानमा ३१४ मतसहित सुगा जापानको ९९औं प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएसँगै सुगाले कोरोना महामारीका कारण तहसनहस भएको अर्थतन्त्र उकास्‍न आफ्नो जोड रहने बताएका छन् ।

उनले न्यूनतम ज्याला बढाउने, कृषि सुधार र पर्यटन प्रवर्द्धन गर्ने पनि बताएका छन् ।

विदेशनीतिमा पनि उनले आबेको लिएको नीति पछ्याउने अपेक्षा गरिएको छ र जापानले अमेरिकासँग लामो समयदेखिको गठबन्धनलाई प्राथमिकता दिँदै चीनसँग स्थिर सम्बन्ध कायम राख्‍ने अपेक्षा गरिएको छ ।

स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएका सिन्जो आबेको उत्तराधिकारीका लागि जापानको सत्तारुढ दल एलडीपी गत सोमबार नयाँ नेताको रुपमा योशिहिदेलाई सुगालाई निर्वाचित गरेको थियो ।

सोमबार सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले उनलाई आफ्नो नेता चयन गरेसँगै सुगा जापानको नयाँ प्रधानमन्त्री बन्न निश्चितजस्तै भएको थियो ।

सन् २०१२ देखि उनी आबेको क्याबिनेटमा कार्यरत थिए। सुगाको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिने छ ।