आफ्नै बाबु वैरी भएपछि…

आफ्नै बाबु वैरी भएपछि…


आफैले जन्माएको छोरीप्रति पनि कुनै बाबुआमा कतिसम्म वैरभाव राख्न सक्छन् भन्ने कुराको उदाहरण खोटाङस्थित एक गाउँपालिकाका सचिव बनेका छन् । प्राप्त जानकारी अनुसार दिक्तेलनिवासी सचिव टङ्कप्रसाद आचार्य दम्पत्तिको जेष्ठ सुपुत्रीका रूपमा तेइस वर्षअघि यशोदा आचार्यले जन्म लिएकी थिइन् । एकाघरकी हजुरआमाको लालनपालनमा हुर्किएकी यशोदाप्रति उनका बाबुआमा त्यसबेलादेखि बक्री भए जब आफ्ना बाबुआमाले हजुरआमामाथि गरेको अन्यायविरुद्ध उनी उभिइन् ।

टंकप्रसाद र उनकी पत्नीले आफ्नै आमालाई खान–लगाउनसमेत नदिने र ज्यादै नै सताउने गरेपछि विद्यालय स्तरमा पढ्दै गरेकी यशोदाले प्रतिवाद गर्दै हजुरआमाको पक्षमा बोलेकी थिइन् । त्यसरी आफ्नो विपक्षमा बोल्न थालेपछि छोरी यशोदाको विद्यालयको शुल्क बुझाउन र खान दिन पनि टङ्कप्रसादले छोडिदिए । हजुरआमाको सहयोगमा एसएलसीसम्म पूरा गर्न सफल भएपछि यशोदाले उच्च शिक्षा अध्ययनका निम्ति बाबुआमाको सहयोग मागिन्, तर टङ्कप्रसादले एक रूपैयाँ पनि नदिने जवाफ फर्काए । त्यसपछि छिमेकीहरूसँग सरसापट खोजेर यशोदा काठमाडौं आइपुगिन् र, यहीँको एक कलेजबाट ‘प्लस टू’ उत्तीर्ण गरिन् ।

यसरी अध्ययन पूरा गर्न उनले विभिन्न ठाउँमा मजदूरी गर्नु परेको थियो । यशोदाकी एक मात्र सहारा हजुरआमाको समेत त्यसैबीच निधन भएकोले उनीसँग मजदूरी गर्दै पढ्नुको विकल्प पनि थिएन । ‘प्लस टू’ उत्तीर्ण भएपछि उनले नर्सिङ या फार्मेसी विषय अध्ययन गर्न चाहेको र प्रवेश परीक्षामा उनको नाम पनि निस्कियो । बाबुलाई यस कुराको जानकारी गराउँदा उनले फेरि पनि उस्तै कठोर जवाफ पाइन्– ‘तेरो नाममा एक पैसा पनि खर्च गरिने छैन, जेसुकै गर ।’

यशोदाको आम्दानीको कुनै श्रोत थिएन, मजदूरी गरेको पैसाबाट नर्सिङ या फार्मेसी विषय पढ्न सकिने स्थिति भएन । कलेजले निर्धारण गरेको समयभित्र उनी भर्ना हुन सकिनन्, उनको स्थानमा अरु नै विद्यार्थीले भर्ना पाए ।

यसरी मेडिकल शिक्षा आर्जन गरेर स्वरोजगार बन्ने इच्छा पूरा नभएपछि यशोदाले वैदेशिक रोजगारीमा जाने निधो गरिन् र, त्यसनिम्ति आवश्यक पर्ने रकम सापटीस्वरूप भए पनि उपलब्ध गराइदिन आफ्नो बाबुसँग अनुनयविनय गरिन् । बाबुआमा यसपटक पनि पग्लिएनन्, बरु कठोर वचनको प्रयोग भयो यशोदामाथि ।

दुई छोरी र एक छोराका पिता टङ्कप्रसादले एक छोरा र छोरीलाई आफैंसँग राखेर शिक्षादीक्षा दिलाइरहेका छन्, तर यशोदालाई भने एक कौडी पनि खर्च नगर्ने भएपछि उनले अङ्श दाबी गरेर मुद्दा दिने निर्णय लिइन् । बाबु हुन्, सकेसम्म किन मुद्दा हाल्नु भन्ने सोचेर यशोदाले टेलिफोनमार्फत ‘मैले अङ्श मुद्दा नै दिनुपर्ने हो त’ भनेर सोधिन् । टङ्कप्रसादबाट ‘सकेको गर्, म एक रुपैयाँ पनि दिन्न’ भन्ने जवाफ पाएपछि यशोदा आफ्नो प्राणरक्षाका निम्ति अङ्श मुद्दा हाल्न बाध्य भएकी छिन् ।

काठमाडौं जिल्ला अदालतमा यशोदाले मुद्दा दायर गरेको केही समयपछि नै ‘लक्ड डाउन’ भएकोले पेसी तोकिन सकेको छैन । आफ्नै मातापिता वैरी भएपछि देशकी एक प्रतिभाशाली छोरी यतिबेला काठमाडौंको सडकमा भौँतारिएर हिँड्न बाध्य भएकी छिन्, मजदूरी गरेर जीवन गुजारा चलाउनु उनको दैनिकी बनेको छ ।