ओशाकाले जितिन् अमेरिकी ओपनको उपाधि

ओशाकाले जितिन् अमेरिकी ओपनको उपाधि


विश्व वरियता क्रममा चौथो स्थानमा रहेकी जापानी खेलाडी नाओमी ओसाकाले अमेरिकी ओपन २०२० को महिला सिङगलको उपाधि जितेकी छिन् । ओसाकाले फाइनलमा बेलारुसकी खेलाडी विक्टोरिया अजारेन्कालाई तीन सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएकी हुन् ।

तीन सेटसम्म चलेको फाइनल खेल निकै रोमाञ्चक र सनसनीपूर्ण भएको थियो । पहिलो सेटमा उत्कृष्ट खेलको प्रदर्शन गर्दै विक्टोरियाले आफ्नो पक्षमा पारेकी थिइन् । विक्टोरियाले पहिलो सेट ६–१ को अन्तरले जितेकी थिइन् ।

यसपछि लयमा फर्किएकी ओशाकाले पुनरागमन गर्दै दोश्रो सेट ६–३ ले आफ्नो पक्षमा पारिन् । निर्णायक तेस्रो सेटमा पनि ओशाकाले उत्कृष्ट प्रदर्शन गर्दै ६–३ को अन्तरले विक्टोरियालाई पराजित गर्दै अमेरिकी ओपनको उपाधि दोश्रो पटक उचाल्न सफल भइन् । आर्थर एस स्टेडियममा संचालन भएको महिला सिंगलको फाइनल खेल १ घण्टा ५३ मिनेट चलेको थियो ।

यो जितसंगै तीन वर्षको अन्तरालमा २२ वर्षिय ओशाकाले अमेरिकी ओपनको उपाधि दोश्रो पटक जित्न सफल भएकी छिन् । यो सहित ओशाकाको यो तेस्रो ग्य्राण्डस्ल्याम उपाधि हो । ओशाकाले यसभन्दा अधि सन २०१८ मा अमेरिकी ओपन, २०१९ मा अष्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन् । ओशाकाले अमेरिकी ओपनको पहिलो उपाधि जित्दा फाइनलमा तत्कालिन विश्व नम्वर एक खेलाडी सेरेना विलियम्सलाई पराजित गरेकी थिइन् ।

ओशाका सेमिफाइनलमा अमेरिकन खेलाडी जेनिफर ब्रेडीलाई तीन सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन् । त्यस्तै विक्टोरियाले २३ पटक विभिन्न ग्य्राण्डस्ल्यामको उपाधि जितेकी अमेरिकी खेलाडी सेरेना विलियम्सलाई तीन सेटको अन्तरमा पराजित गरेकी थिइन् ।