प्लटिङ काङ्ग्रेस !

प्लटिङ काङ्ग्रेस !


■ ज्ञानमणि भूर्तेल

‘राम राम मन्त्री मालिक !’

बीपी बाटिकाको काङ्ग्रेस पोखरी डिलमा टोलाइरहनुभएका उहाँ झसङ्ग हुनु’भो ! पुलुक्क हेर्नु’भो र मधुरो स्वरमा बोल्नु’भो– ‘के छ उत्तम ? आइज बस् !!’

छेउमा बस्यो उत्तम ! उत्तम रिक्सावाला ! मूल घर बिहार भए तापनि अहिले नेपाली नागरिक ! त्यो पनि बंशजको !! पेशाले रिक्साचालक भए पनि उहाँको प्रियपात्र !!! बमबम चोकको रैथाने !!!! निकैअघि एकपटक मन्त्री हुनुभएकोले उत्तम जस्ताले मन्त्री मालिक भनेर गरेको सम्बोधन उहाँलाई प्रिय लाग्छ !! यस्तो सम्बोधन गर्नेलाई विशेष महत्व पनि दिनुहुन्छ । अरुलाई त्यो महत्व प्राप्त हुन्न !!

उहाँ… अर्थात् हाम्रो डफेदार !!!

‘मन्त्री मालिक ! निकै टेन्सनमा हेर्दैछु ! कि भएछ ?’ बंशज नेपाली नागरिक उत्तमले बंशज लजवमै जिज्ञासा राख्यो !!

उहाँ केही बोल्नुभएन ! टोलाइलाई नै निरन्तरता दिनु’भो !!

केही बेरमा पान चपाउँदै चुना चाट्दै बाङ्गो–बाङ्गो हिँड्दै आएको मनुष्य देखेर उत्तमले चाकडी बजायो– ‘राम राम बिरजु महाराज !!’

बिरजु साँच्चै आफूलाई महाराज नै ठान्छ ! मन्त्री मालिकको सवारी मन्त्रीजत्तिकै छ !! कतै जानुपर्दा मन्त्री मालिकभन्दा अघि नै फुत्त गाडी चढिहाल्ने उसको मन्त्री मालिकसँग राम्रै साँठगाँठ छ ! प्रमुख सल्लाहकार नै भएको छ ! चाकडीबाजहरूले बिरजु महाराज भने तापनि पुरानाले चैँ उसलाई लुर्कण्डे भन्छन् !! जे–जस्तो भए पनि मन्त्री मालिकको आशीर्वादका कारण लुर्कण्डेको बोलवाला छ !!

‘जय नेपाल दाइ !’ छेउमै बस्यो लुर्कण्डे !! चिन्ताको कारण सोध्यो ! प्रमुख सल्लाहकारलाई चिन्ताको कारण बताउनु’भो– ‘पोखरी कसरी कब्जा गर्ने ?’

‘चिन्ता नगर्नुस् दाइ ! म सबै ब्यवस्था मिलाउँछु ! यसका लागि समाज र विभिन्न पार्टीका बौद्धिक ब्यक्ति समेटेर एउटा मजबुत टिम बनाउनु पर्छ ! त्यो जिम्मा मेरो भो !!’

टिम निर्माणको टेण्डर पेश गऱ्यो र आफैं हात पाऱ्यो लुर्कण्डेले !! बौद्धिक ब्यक्तिको खोजी शुरु भो ! उत्तम रिक्सावाला पनि काममा खटियो ! मेची क्याम्पसको पियन श्यामे भेटियो ! चूडामणि सरको हाजिरी रजिष्टरमा रातो मसी लाएर चर्चित भएको उसलाई सबैले फुर्क्याएर ‘श्याम सर !’ भन्देकाले ऊ आफूलाई प्रोफेसर नै ठान्थ्यो !! श्याम सरले अस्पतालको पियन बौवालाई सामेल गरायो ! बौवा स्वघोषित डाक्टर !!! अर्को बौद्धिक भेटियो, घर बनाउने मिस्त्री गनेसिया !! किशोरकुमारको स्वर निकालेर गीत गाइटोपल्ने बमबम चोकको गनेसिया कलाकार सँगसँगै इन्जिनीयर पनि भैगो !!

प्रौढ समुदायबाट राधे बूढो र मोतियाको बाउको प्रतिनिधित्व भो !! अर्को बौद्धिक ब्यापारी थपियो, वसन्ती चियावाला !! चिया बगानको पाले लोकनाथसमेत थपिएपछि वरिष्ठ उद्योगपतिको पनि पदपूर्ति भो !! रामटहल पनि जुँगामा ताउ लाउँदै सामेल हुन आइपुग्यो !! उसले यो टिममा वरिष्ठ पत्रकार पनि भएमा टिम दरो हुने जिकीर गर्दै हिजोआज दैनिकको कम्पोजिटर गोकुलको नाम प्रस्ताव ग¥यो ! रामटहलको प्रस्ताव पारित भो !!

बौद्धिक समूहको खोजीपछि बमबम चोकको नरहरि रिसोर्टमा समूहको गोप्य बैठक बस्यो ! एजेण्डा थियो– पोखरी कब्जा !!

मत जाहेर गर्ने क्रममा उत्तम रिक्सावाला बोल्यो– ‘पोखडी कब्जाको लागि पुर्ना कङ्ग्रेस जो छ, उस्को ठिकान लगानु पर्छ पैला ! पुर्ना कङ्ग्रेस खाली बीपी–बीपी चिल्लाउन्छ ! मरेको मान्छीको नाम चिल्लाएर कि पाउन्छ ?’

‘हो त !’ प्रोफेसर श्यामले थप्यो– ‘मरेको बीपी चैँ आर्यघाटमा लगेर पोल्ने अनि त्यै बीपीको नाम जपेर कति दिन बस्नु हौ हामी ?’ बौवा डाक्टरले तत्काल उत्तमको कुरामा सहमति जनायो ।

बौद्धिकताको खानी वरिष्ठ पत्रकार गोकुलले प्रस्ताव ल्यायो– ‘पुराना काङ्ग्रेस ठेगान लाउन हाम्रो समूह पनि काङ्ग्रेस हुनुपर्छ र बहुमतले उनीहरूलाई पेल्नुपर्छ !! हामी पनि त्यहाँभित्र छिर्नुपर्छ !’

‘गोकुल मालिकको बात सोले आना ठीक !’ इन्जिनीयर गनेसियाले सही थाप्यो– ‘पुर्ना कङ्ग्रेस पोखडी से खेदाएपछि उस्मे मट्टी पुरेर प्लटिङ करेर बिक्री करके पैसा कमानु पर्छ !! हामी त पैसा कमाने खातिर कङ्ग्रेस भएछ ! ठोडै सेवा कर्छ मुफ्त में ? सेवाको ठिक्का त पुर्ना कङ्ग्रेस लिएछ !!’

इन्जिनीयर गनेसियाको पोखरी प्लटिङ गरेर बेच्ने योजनाको समर्थन गर्दै उद्योगपति लोकनाथले थप्नु’भो– इन्जिनीयर साहबको कुरो मनासिव हो ! अबको काङ्ग्रेस पुरानो ढर्राबाट चल्दैन ! औद्योगिकरणको युग छ ! अब काङ्ग्रेसलाई औद्योगिकरण गर्नुपर्छ ! पहिले मैदान साफ गरौँ ! प्लटिङ गरौँला, गाँठवाला खोजेर बेचौँला ! त्यहीँ भब्य सपिङ मल खोल्दा पनि भो बीपीकै नाममा !! जसरी पनि कमाउनु त हो नि, बीपीको नाममा !!’

बौद्धिक ब्यक्तित्व रामटहलले शङ्का ब्यक्त गऱ्यो– ‘त्यस्तो कर्नु ठीक लाग्छ बिरजु महाराज ? बीपीको नाम से खिलबाड हुन्न तेस्तो कर्दा ?’ सबैले बिरजु महाराजतिर हेरे ! ऊ चुना चाट्नमै ब्यस्त थियो !!

वसन्ती चियावाला बम्क्यो– ‘कसरी खिलबाड हुन्छ रे ? बीपीको बेटाहरू प्लटिङ करेर बेचेछ कोइराला निवास, विलाठनगर में !! खिलबाड त उनेरू करेछ आफ्नो बापको नाम उपर ! हामी कौन सा पोखडी बचाउने कङ्ग्रेस छ ? हामी त कमाउन आएछ, कङ्ग्रेस भएछ !’

रहस्यमय स्वरमा फुस्फुसायो वसन्ती– ‘सुनेछु ! मन्त्री मालिक भी बामी थियो पहिले ! पछि कङ्ग्रेस भएछ ! खुब माल कमाएछ ! अब तो बड्का कङग्रेस !!!’

वसन्तीले धोती खुस्काउला भन्ने त्रासले वरिष्ठ उद्योगपति लोकनाथको प्रस्ताव पारित गर्दै काङ्ग्रेस प्रवेशको तयारीमा लाग्न निर्देशन दिँदै बिरजु महाराजले बैठक टुङ्ग्यायो ।

कार्यक्रम जाहेर भो ! यस्तो बौद्धिक समूहको काङ्ग्रेस प्रवेशबाट आफ्नो टिम मजबुत हुने कल्पनाले मन्त्री मालिक पनि दङ्ग पर्नु’भो !!

बारीको डिलमा पण्डाल खडा गरियो ! पार्टी प्रवेश भनिए तापनि कार्यक्रम पार्टी अफिसमा राखिएन, आफ्नै करेसाबारी रोजियो ! पार्टीको कार्यक्रम पार्टी अफिसमा गर्नुपर्छ ! हामी करेसाबारीबाट पार्टी प्रवेश गर्दैनौँ भन्ने साहस ती नवप्रवेशी बौद्धिक समूहमध्ये कसैले पनि गर्न सकेन ! त्यति भन्ने बौद्धिकता उनीहरूमा पलाएन पनि !!

सबैलाई स्वागत गर्दै डफेदार बोल्नु’भो– ‘आजको यस कार्यक्रममा यो बौद्धिक समूह देखेर म अत्यन्तै भावविह्वल भएको छु ! काङ्ग्रेसमा तपाईंहरू जस्तै बौद्धिक ब्यक्तित्वको खाँचो छ र मेरो प्रयत्न पनि यस्तै बौद्धिकताकै खोजीमा केन्द्रित रहने छ !! बीपीको सपना पनि यही हो ! उहाँले ब्यक्तिगत रूपमा बारम्बार यही भन्नुहुन्थ्यो मलाई ! अहिले पनि सपनामा आएर घच्घच्याइरहनु हुन्छ !!! अबको काङ्ग्रेस तपाईंहरू जस्तै बौद्धिक डाक्टर, इन्जिनीयर, पत्रकार, उद्योगपतिबाट चल्नुपर्छ !! पुराना पिलन्धरेबाट अब पार्टी चल्दैन !!’

डफेदारले मन्द मुस्कानका साथ सबैलाई अबीर लाइदिनु भो ! पार्टी अफिसमा भए पार्टीको सदस्यता दिइन्थ्यो ! आफ्नै करेसाबारीको कार्यक्रम भएकोले चिनोस्वरुप आफ्नै बारीको उत्पादन एक–एक वटा घिरौँला बाँड्नु भो ! उहाँको उदारता र आत्मीयता देखेर बौद्धिक समूहका आँखा रसाए ! सबैले मनमनै पुकारा गरे… मन्त्री मालिकको जय होस् !!

मन्त्री मालिकले आफूलाई साथ दिन आग्रह गर्दै नारा लाउनु’भो– ‘जय नेपाल !’

बौद्धिक समूहको आवाजले पूरै कोठेबारी हल्लियो… ‘जै नेपाल !!!!’

यो कोठेबारी काङ्ग्रेस खेतीका बारेमा–
जेलनेल खटेका, काङ्ग्रेस बचाउन ज्यान अर्पेर लागिपरेका, काङ्ग्रेस चर्किंदा आफ्नो छाती चर्केको महसूस गर्ने अनि पार्टी सङ्कटमा पर्दा अहिले पनि अग्रपङ्क्तिमा बुर्कुसी मार्न तयार पिलन्धरे ‘पुर्ना काङ्ग्रेस’को प्रतिक्रिया चैँ के छ कुन्नि ???