‘प्रधानमन्त्री’मा मात्र सीमित नहोउन् केपी ओली

‘प्रधानमन्त्री’मा मात्र सीमित नहोउन् केपी ओली


■ दामोदर पौडेल

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कतिपयले नेल्सन मण्डेलासँग तुलना गरेको पनि पाइन्छ । पुनः जीवन पाएकाले केपीले अब अझै क्रियाशीलता र सचेतताका साथ काम गर्दछन् भन्ने पनि छ । प्रष्ट वक्ता र ठिक निर्णय हो भन्ने लागेपछि कुनै पनि दबाबमा पछि नहट्ने उनको स्वभावका कारण नै उनी प्रशंसित र आलोचित दुवै हुँदै आएका छन् ।

केपी ओली भ्रष्टाचारको प्रत्यक्ष गन्ध नआएका प्रधानमन्त्री हुन् । उनका कतिपय आसेपासेहरू भने बदनाम छन् । उनले पार्टी चलाउन नै भ्रष्टाचार गरेको भएबाहेक निजी उद्देश्यको लागि भ्रष्टाचार गरेका छन् र होलान् भनेर कसैले भन्न आँट नगर्लान् । उनले भ्रष्टाचार गर्नुपर्ने कारण नै देखिँदैन । उनको चरित्र पनि भ्रष्टाचारी देखिँदैन । उनको आर्थिक प्रवृत्ति सुशील कोइरालासँग मिल्छ जस्तो लाग्छ । यो उनमा रहेको सुन्दर पक्ष हो ।

तर, राजनीतिक दल सञ्चालनको लागि पनि भ्रष्टाचार गर्नुपर्ने र राज्यको साधन–शक्तिको दोहन गर्नैपर्ने हो भने त्यो राम्रो अवश्य होइन । सत्तामा जाँदा कमाउने, चन्दादाताहरू र कार्यकर्तालाई खुवाउने, पार्टी चलाउने र सत्ताबाहिर रहँदा पुनः सत्तामा रहँदा मोज गर्न पाइन्छ भन्ने आशमा राजनीति गर्ने चरित्रको विकास हुँदैछ भने त्यो लोरेलिक संगीत नै हो (लोरेलिक संगीत पानीजहाज चट्टानमा ठोक्किएर यात्रुहरू मर्ने प्रवल सम्भावना भएमा यात्रु नडराउन् र लठ्ठ बनुन् भनेर सुनाइने गीत हो, जुन पहिला पानीजहाजमा फिट गरिन्थ्यो ।) भारतमा मोदी–शाहले त्यो चेन तोड्न खोजे जस्तो देखिन्छ । नेपालमा यो तोड्ने जिम्मा केपी ओलीले लिन सक्नु पर्दछ र त्यो क्षमता र हैसियत उनमा छ । सबैमा त्यो हैसियत पनि हुँदैन ।

प्रधानमन्त्री ओलीले इमानदार भइरहेर र भ्रष्टाचार कम गरेर मात्र देशमा ठुलो काम गर्न सक्ने भने होइनन् । किनभने देशको राजश्वबाट साधारण खर्च धानिँदैन । विदेशको भर गरेर विदेशीले तोकेको क्षेत्रमा काम गरेर विकासको अनुभूति दिनु नै अहिलेका नेपाली सरकारको बाध्यता हो । तिनै सहयोगमा भ्रष्टाचार नमिसाउनेसम्म हाम्राका नेताहरूको काम हो । निजी फाइदाको लागि प्रयोग नगरेर दलको लागि भ्रष्टाचार गर्नेमा बामदेव गौतम र खुमबहादुर खड्काको नाम आयो । खड्कालाई अख्तियारले रहश्यपूर्ण ढङ्गबाट दोषी देखायो र अदालतले पनि ‘हो’ भनिदियो । वामदेव गौतमलाई खुलामञ्चमा जनताको अगाडि पार्टीकै नेताद्वारा भ्रष्टाचारी घोषित गरियो । जनताले पनि ‘हो’ भने तर त्यो प्रकृया अदालतसम्म पुगेन ।

प्रचण्डहरूले क्यान्टोन्मेन्ट समेतमा धेरै भ्रष्टाचार गरेका भनेर अहिलेकै सत्ताधारीका सरकारमा रहेकाहरूले पनि विगतमा भने तर त्यो अख्तियार र अदालतमा पुगेन ।

यस्तै, प्रचण्डहरूले क्यान्टोन्मेन्ट समेतमा धेरै भ्रष्टाचार गरेका भनेर अहिलेकै सत्ताधारीका सरकारमा रहेकाहरूले पनि विगतमा भने तर त्यो अख्तियार र अदालतमा पुगेन । विगतमा सत्र हजार मारिएका र २३ हजार हराएकाले वास्तवमा भन्दा सबै मारिएकाले ४० हजार सिधासाधा नेपालीहरूका आशा र बाध्यता वा पीडा त निरासामा परिणत भएको छ नै, तर त्यो हेर्ने अदालत र अख्तियार त जनताबाहेक अरु कोही हुन सक्दैन ।

त्यसैले दलले खोलेको र निर्देशन गरेबाहेकको जन अदालत भन्ने पनि हुँदोरहेछ । दलले भन्ने जनअदालत त ‘दल’ अदालत हो ‘जन’ नाम त केवल पेटेन्ट मात्र हो । तर अहिलेको वास्तविक जनअदालत अर्थात् दलबाहिरका जनता बीचमा नेता, कार्यकर्ताको साख नराम्रोसँग घटेको छ । जनताले सबैको हितको आशा गरेर दिएका बलीदानको बदलामा केहीले केवल नेताको नजिक बनेर पद पाए होलान्, केहीले गल्तीहरूमा क्षमाको वातावरण पाउँछन् र आशाका अनन्त समाज बदल्ने सपनाहरू केहीको लागि ब्यक्तिगत फाइदामा सीमित भएका छन् ।

यो अवस्थालाई बदलेर जनतालाई आशावान बनाउने शक्ति र नैतिक बल प्रधानमन्त्री केपी ओलीसँग छ । उनीसँग ब्यक्तिगत फाइदाको लागि कुनै आर्थिक गल्ती नगरेको भन्ने सङ्केत दिने क्षमता छ । उनले केही फोहोरीहरूबाट बच्न सके हुन्छ । ब्यक्तिगत लक्ष्यका लागि आर्थिक गल्ती गर्नुपर्ने कारण पनि छैन । उनले त उनी तथा उनकी पत्नीको मृत्युपछि सम्पत्ति नै देशलाई दिने घोषणा गरेका पनि छन् । सायद उनी यस्तो गर्ने नेपालका पहिलो त्यो स्तरका नेता हुन् जसको कारणले उनमा ‘राजनेता’को एउटा हैसियत देखिन्छ ।

केपी ओलीलाई जति नै आरोप लगाए पनि उनले संघीयताको विवादमा प्रान्तको सङ्ख्या घटाउने र विवादलाई कम गर्दै अन्त्य गर्नेमा भूमिका खेलेको प्रमुख श्रेय जान्छ । देशमा प्रकारन्तरले गृहयुद्ध आउन सक्ने अवस्थालाई उनले रोकेका हुन् । संघीयता राम्रो हुँदाहुँदै पनि काम राम्रो गर्न नसकेमा कर बढाउने र जनताले केही नपाउने तर तानाशाहहरू घरको नजिकै देखिने ब्यवस्था हो भन्ने ब्यवहारिक उदाहरणहरूको सम्बन्धमा हामी सचेत छौँ वा बुझ्दै छौँ । प्रान्तको संख्या बढि भएको भए यो अवस्था अझै कठोर हुने थियो । कतिपय विषयमा तितो बोलेर पनि ओलीले राम्रो गरे । विभिन्न प्रसङ्गमा उल्लेख भएका ‘बैलगाडा’ र ‘आँगन’ शब्दको सकारात्मक परिणाम पनि हेर्न सक्नु पर्दछ । समयमा उनले ध्यान नदिएको भए नेपाल कुनै देशको रिमोट कन्ट्रोल वा युद्धभूमि बन्ने थियो ।

केपी ओलीलाई जति नै आरोप लगाए पनि उनले संघीयताको विवादमा प्रान्तको सङ्ख्या घटाउने र विवादलाई कम गर्दै अन्त्य गर्नेमा भूमिका खेलेको प्रमुख श्रेय जान्छ । देशमा प्रकारन्तरले गृहयुद्ध आउन सक्ने अवस्थालाई उनले रोकेका हुन् ।

मदन भण्डारीले दिएको बहुदलीय जनवादलाई केपीले वास्तविकतामा उतारेका हुन् । उनले बारम्बार भनेका छन् कि काङ्ग्रेसले मलाई असहयोग गर्दछ तापनि लोकतन्त्र र बहुलवादको लागि काङ्ग्रेस अवश्यक छ । उनले आफ्नो सङ्घर्ष कहिल्यै लोकतन्त्र बहुलवादको विरुद्धमा सहयोग हुने किसिमको हुन नसक्ने बताउँदै आएका छन् । बीपी पनि त्यस्तै सजग ब्यवहारिक थिए । उनले राजाको र आफ्नो घाँटी जोडिएको बताएर नेपाल जस्तो देशमा भारतको कारणले (?) राजसंस्थाको आवश्यकताको बारेमा सिक्किमको तुलना गरेर बताउँथे । जबकि उनी ब्यक्तिगत रूपमा राजतन्त्रको पक्षमा थिएनन् । त्यस तथ्यलाई रामराजा प्रसाद सिंहले यस पङ्क्तिकारसँग पनि उल्लेख गरेका छन् । बीपी बिरामी हुँदा रामराजाप्रसाद सिंह दिल्लीमा भेट्न गएका बेला बीपीले उनलाई ‘तिमी गणतन्त्रवादी हुँ भन्छौ र मलाई राजावादी हो भन्ने भ्रम पाल्छौ’ भनेको रामराजाले उल्लेख गरेका थिए । बीपी ब्यक्तिगत सम्बन्ध, उतारचढाव र जनताको सेन्टिमेन्टभन्दा बाहिर गएर समाज र देशको हित तथा आवश्यकता बुझ्थे । उनी आज पनि पुजिने विभिन्न कारणमध्ये त्यो पनि एक महत्वपूर्ण कारण हो र बीपी राजनेताको हैसियतमा चिनिन्छन् । त्यस्तै प्रकारको ब्यवहार ओलीको छ । तर त्यो ब्यवहारलाई अझै खार्नु भने पर्दछ ।

किड्नीको दोश्रो सफल उपचारपछि उनमा देशको हितको लागि उत्साह आउनु पर्दछ र ब्यक्तिगत आकाङ्क्षाभन्दा अझै बाहिर रहने साहस थपिएको हुनु पर्दछ ।

प्रचण्डले भनेका छन् कि शोभियत संघको पतनको कारण अमेरिका नभइ रुसको आन्तरिक कारण नै हो, त्यस्तै कारणले नेपालका कम्युनिष्टहरू पनि कमजोर हुन सक्दछन् । रुसमा कम्युनिष्ट ब्यवस्था ढल्नुको मुख्य कारण लोकतन्त्र र बहुलवादमा आधारित समाजवाद नभएर नै हो । लोकतन्त्र र बहुलवादले ब्यवस्था एवम् आफ्नो विचारलाई तिखार्न र अझै समुन्नत वा समयसापेक्ष बनाउन सिकाउँछ । यसले आफूलाई हास्यास्पद बनाउनबाट पनि बचाउँछ । शोभियत रुसका राष्ट्रपति एवम् कम्युनिष्ट पार्टीका महासचिव मिखायल गोर्भाचोभ फ्रान्समा गएर सुपर मार्केटमा पुग्दा साना उद्योगीहरू, सम्मानित मजदुरहरू, ब्यवसायीहरू समेत देखेपछि झस्केछन् । उनी अरु कारणले झस्केका थिएन् बरु पुँजीवादको विकास हुँदा पुँजीपतिहरू कम हुँदै जाने र मजदुर धेरै हुने कारणले समेत मजदुरको जित हुने र पुँजीवाद आफैंभित्र खोक्रिने पढेका थिए । मजदुरहरू मार्क्सले भनेजस्तो पुँजीवादी ब्यवस्थापीडित थिएनन् भन्ने उनले देखे । मार्क्सको त्यो पुरानो विचार पराजित भएको थियो । ती रुसी नेताको आँखामा भने त्यतिबेला मात्र पराजित भएको थियो किनभने पहिला उनले अनुभव गर्न पाएका थिएनन् । ओलीहरू जस्ताको आँखामा बहुदलको कारणले विचार परिस्कृत भएको थियो । मानिस भगवान् र सर्वज्ञानी हुन सक्दैन । उसको विचारलाई प्रतिपक्षी, निजी सम्पत्ति, सञ्चारमाध्यम आदिले तिखार्ने काम गर्दछन् । गल्तीहरू सुध्रन्छन् । त्यही नै लोकतन्त्रको मर्म हो ।

केपी ओली चुनौतीलाई अवसरमा परिणत गर्ने अवस्थामा छन् । यो उपयुक्त समय पनि हो । उनको इमान्दारी, क्षमता र लोकतन्त्र अनि बहुलवादप्रतिको आस्थाबाट केही भने पनि लक्ष्यको जग बनाउन सकिन्छ ।

प्रथमतः विकास र सामाजिक सुरक्षाको लागि राज्यले गर्ने गरेका अन्य खर्च कटाउन आवश्यक छ । सामाजिक सुरक्षालाई पनि विकाससापेक्ष बनाउन सकिन्छ । जल, जलविद्युत, जडिबुटी र पर्यटनबाट देशलाई विश्वको सम्पन्न मुलुकको रूपमा लग्नको लागि आधार बनाउन सकिन्छ । उनले आधार रेखा, ब्यवहार र विचारबाट दिन सक्दछन् । लोकतन्त्र र बहुलवादप्रति अविचलित सैद्धान्तिक आस्था भएको नेपाली काङ्ग्रेसलाई सही बाटोमा जान उनको सहयोगले उनलाई पनि सहयोग हुने छ । किनभने, देशमा मुलतः दुई वटा बलिया लोकतान्त्रिक दलहरू आवश्यक छन् ।