‘उद्यमी बन्न लगानीभन्दा सीपको आवश्यकता’

‘उद्यमी बन्न लगानीभन्दा सीपको आवश्यकता’


■ सनत आचार्य

३३ वर्षीय विक्रम लामा पढाइले सूचना प्रविधि इन्जिनीयर हुन । युवा अवस्थादेखि नै उनी, परिवारका अन्य सदस्यझैँ व्यापार–व्यवसाय सञ्चालन गर्न चाहन्थे । उनका आफन्तहरू पनि जागिर खानुभन्दा व्यापार–व्यवसाय गर्न सुझाउँथे । विक्रमले युवा अवस्थामै स–साना काममा हात हाले । कतै सफल भए त कतै असफल । अन्तमा उनले रियलस्टेट कम्पनी सञ्चालन गर्ने निधो गरे र, हाल उनी आठ वर्षदेखि निरन्तर यो व्यवसायमा संलग्न छन् ।

जनयुद्धले शहरकेन्द्रीत बसाइलाई आकर्षित गऱ्यो । त्यो बेला असुरक्षाका कारण हजारौँ मानिस गाउँको बसाइ छाडेर शहरतर्फ लागे । शहरमा घरजग्गाको भाउ क्रमशः महँगिन थाल्यो । आफ्ना नजिकका आफन्तसमेत घरजग्गाको कारोबारमा संलग्न रही प्रगति गरिरहेको देखेपछि उनी यो व्यवसायतर्फ आकर्षित भई घरजग्गा व्यवसायको गहिरो अध्ययन गर्न थाले । निष्कर्षमा उनले रियल स्टेट व्यवसायलाई परिमार्जित रूपले सञ्चालन गरे सबैलाई फाइदा पुग्ने देखे र यो व्यवासयमा आवद्ध भए ।

लामाले व्यवसाय गर्नुभन्दा पहिले त्यसको विस्तृत जानकारी लिन आवश्यक ठाने । उनले शहरमा भएका आफन्त र साथीभाइहरूबाट घर–जग्गाको कारोबारसम्बन्धी जानकारी लिए । आफ्नो सामथ्र्य हेरे । अनि धेरथोर पुँजीको जोहो गर्न थाले ।

उनका अनुसार नेपालमा ०५५–०५६ सालतिर रियलस्टेटको कारोबार शुरु भयो । यो कारोबारमा अधिकांश पुरानो पुस्ताको संलग्नता रह्यो । यो व्यवसायको सुक्ष्म अध्ययन गरेका विक्रमले व्यवसायलाई परिस्कृत रूपमा सञ्चालन गर्न सकिन्छ कि भनेर सिर्जनात्मक रूपले सोच्दै गए ।

केही मानिसले पेशागत नैतिकता अँगालेर काम नगरिदिँदा घरजग्गा किनबेचमा अलिक समस्या आयो । केही व्यक्तिहरू मात्र यो पेशामा लाग्दा यसको क्षेत्र अलिक साँघुरिने भएको हुँदा उनले रियलस्टेटबाट काम गर्दा यसको दायरा अझ बढ्न सक्ने र घरजग्गा खरिद–बिक्री व्यक्तिभन्दा कम्पनीबाट गर्दा खरिदकर्ता र बिक्रीकर्तालाई समेत अवसर बढि हुने निष्कर्ष निकालेर नेपालभूमि रियलस्टेट एजेन्सी नामक कम्पनी दर्ता गरे । जुन कम्पनी ८ वर्षदेखि यो क्षेत्रमा क्रियाशील छ ।

विक्रमको अनुभवमा रियलस्टेट कम्पनीबाट कारोबार गरे खरिदकर्ता र बिक्रीकर्ता दुवैलाई फाइदा हुने देख्दछन् । कम्पनीमार्फत घरजग्गा खरिद वा बिक्री गर्नेले आफ्नो वस्तुको उचित मूल्य पाउने, कानुनी हिसाबले पनि दुवै ठगिनबाट बच्ने, पैसाको बचत हुने, समयमै काम हुने र सरकारले पनि जग्गाअनुसारको राजश्व प्राप्त गर्ने बताउँछन् ।

उनको अनुसार घरजग्गा कारोबार एउटा सम्मानित व्यवसाय र पेशा हो । यसले रोजगारीको अवसर पनि सिर्जना गरेको छ । रियलस्टेट क्षेत्रले देशको आर्थिक क्षेत्रलाई पनि मनग्य योगदान गरेको छ ।

नेपालभूमिले परामर्श सेवा, प्राविधिक सेवा, घरजग्गा किनबेच र भवन निर्माण गरी घर–जग्गा सम्बन्धी चार क्षेत्रमा सेवा प्रदान गरिरहेको उनको भनाई छ । त्यसै गरी अनलाइनबाट घर–जग्गाको कारोबार गर्ने यो कम्पनी नेपालको पहिलो कम्पनी भएको पनि उनको दाबी छ ।

नेपालभूमि हाल काठमाडौं र ललितपुर जिल्लामा केन्द्रीत छ । यो कम्पनीमा विक्रमको आफ्नै लगानी छ । ३० लाख रुपैयाँबाट शुरु गरेको कम्पनीको अहिले ३० करोड भन्दा बढिको कारोबार रहेको खुलाउँछन् उनी ।

कतिपय मध्यमवर्गका मानिसको काठमाडौंमा घरबास जोड्ने सपना भएता पनि घरजग्गामा ठूलो लगानी गर्न नसकेको अवस्थामा नेपालभूमिले यस्ता परिवारको सपना साकार पार्न रिङरोडबाहिर सुविधासम्पन्न आधुनिक घरहरू सुपथ मूल्यमा उपलब्ध गराउने योजना अगाडि सारेको छ । यो योजनाअन्तर्गत सुविधासम्पन्न सुपथ घरहरू निर्माण गर्ने र इच्छुक व्यक्तिलाई सहज रूपले उपलब्ध गराउने उनको पछिल्लो योजना छ ।

युवा व्यवसायी लामाका अनुसार रियलस्टेट होस् वा अन्य कुनै पनि व्यवसायमा इमान्दारिता अति नै आवश्यक छ । यदि व्यवसाय गर्ने मानिसले इमान्दारी गुमायो भने व्यापार गर्न कठिन पर्छ । यसबाट व्यवसायमा पनि धक्का लाग्छ ।

युवाहरूलाई व्यवसायी लामाको सुझाव :

रियलस्टेट व्यवसायी लामाका अनुसार युवा देशको भविष्य र कर्णधार पनि हुन् । परिवार, समाज र सिङ्गो राष्ट्र निर्माणमा उनीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । यो जनशक्तिलाई व्यापक परिचालन गर्न सकियो भने रोजगारीका हजारौँ–लाखौँ अवसरहरू नेपालमा सिर्जना हुन सक्दछ र देश आर्थिक समृद्धितर्फ अगाडि बढ्न सक्दछ ।

उनका अनुसार कुनै पनि व्यवासय सञ्चालनका लागि युवामा धैर्य, मिहेनत र इमान्दारी हुन आवश्यक छ । त्यस्तै, आफुले चाहेको व्यवसायलाई निरन्तरता दिइराख्नु पर्दछ । यसका साथै समय–परिस्थितिअनुसार युवा सिर्जनशील पनि हुन आवश्यक छ ।

हाम्रो जस्तो विकाशोन्मुख देशमा युवा उद्यमशील बन्न अति आवश्यक छ । युवा उद्यमशील बने परिवार उद्यमशील हुन्छ । परिवार उद्यमी बने समाज र समाज उद्यमी बने सिङ्गो देश उद्यमशील बन्छ । र, अन्ततोगत्वा देश आर्थिक समृद्धिको बाटो हुँदै अघि बढ्छ ।

अहिले युवाले गर्न सक्ने थुप्रै व्यवासाय छन् जुन स्थानीय स्तरमा पनि गर्न सकिन्छ । यसका लागि आफूसँगका सम्भाव्य सबल पक्षहरूलाई ध्यान दिँदै आफूले चाहेको व्यवसाय सञ्चालन गर्नका लागि स्रोत–साधनको समेत लेखाजोखा गर्नुपर्ने उनी सुझाउँछन् ।

उनको विचारमा कुनै पनि व्यवसाय सञ्चालन गर्न ठूलो रकम वा लगानीको आवश्यकता पर्दैैन । शुरुमै ठुलो पूँजी लगानी गरे व्यवसाय सफल हुन्छ भन्ने छैन । पुँजी एउटा माध्यम मात्र हो । पुँजी भन्दा पनि पुँजी परिचालन गर्ने क्षमताले व्यवसायलाई अगाडि बढाउँछ ।

उनको अनुभवमा ठूलो रकम लगानी गर्दा यदि लगानी डुब्यो भने आत्तिनु पर्ने अवस्था आउँछ । त्यसपछि विस्तारै असफलतातिर जाने खतरा बढि हुन्छ । सानो बजेटमा पनि आफूले चाहेको र सोचेको जस्तो उद्यमको शुरुवात गर्न सकिन्छ । आर्थिक अभाव भएको खण्डमा युवाले सामुहिक लगानीबाट पनि व्यवसाय गर्न सक्दछन् ।

सरकारले युवामैत्री नीति ल्याई युवाहरूलाई उद्यम गर्न प्रेरित गर्न पनि आवश्यक छ । यदि युवामैत्री नीति तथा कार्यक्रम भएमा अधिकांश युवाहरू स्वदेशमै कुनै न कुनै पेशा व्यवसाय गरेर बस्ने वातावरण सिर्जना हुन सक्दछ । यसबारे सरकारले गम्भीरतापूर्वक सोच्नु अपरिहार्य छ ।