मोदीनेतृत्वको भारत र नेपाल-भारत सम्बन्ध

मोदीनेतृत्वको भारत र नेपाल-भारत सम्बन्ध


छिमेकी मित्रराष्ट्र भारतले आफ्नो ७४औँ स्वतन्त्रता दिवस मनाएको छ । कोरोना महामारीले विश्व आक्रान्त बनिरहेको परिवेशमा भौतिक दूरी कायम गर्दै राजधानी दिल्लीको लालकिल्लामा विशेष प्रकारले आयोजना गरिएको स्वतन्त्रता दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘आत्मविश्वासले भरपुर भारत’ निर्माणको आफ्नो लक्ष्य र कर्मबारे जसरी प्रष्ट्याउने प्रयत्न गरे, उक्त सन्दर्भ विश्वका विकाससील तथा नेपालजस्तो विकासोन्मुख मुलुकका निम्ति विशेष मननीय रह्यो ।

विश्वमञ्चमा आज प्रभावशाली तथा अहम् उपस्थिति जमाउन सफल भारतलाई आजको अवस्थामा उभ्याउन भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका के–कस्तो र कति रहेको छ भन्ने प्रष्ट्याइरहनु पर्ने विषय होइन । राजनीतिक अस्थिरताको चपेटबाट देशलाई मुक्त तुल्याउँदै स्थिर र एकतावद्ध भारतको जुन जग मोदीले बसाएका छन्, विपक्षी दलहरूलाई समेत आफ्नो दायित्व बोध गराउँदै स्वस्थ प्रतिपक्षीय भूमिकामा रहन र भारतीय जनतालाई एक भएर देशको अग्रगमनतर्फ प्रतिबद्ध रहन जसरी उत्प्रेरित गरेका छन्, भारतको इतिहासमा यस पाटोको उच्च मूल्याङ्कन हुनेमा मोदीका आलोचकहरू समेत विमति राख्दैनन् । अर्थात्, उदाउँदो ‘शक्तिराष्ट्र’ भारतको अन्तर्राष्ट्रिय छवि निर्माण, प्रभाव विस्तार एवम् बढोत्तरीमा वर्तमान भारतीय नेतृत्व, खासगरी प्रधानमन्त्री मोदीको अत्यन्त ठूलो योगदान रहेको सर्वस्वीकार्य सन्दर्भ बनेको छ । र, देशको लागि समर्पित, निःस्वार्थ एवम् दृढ इच्छाशक्ति भएको एउटै नेताले पनि राष्ट्रलाई अघि बढाउने सवालमा कति महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दोरहेछ भन्ने ज्वलन्त उदाहरण बन्न पुगेका छन् नरेन्द्र मोदी ।

भारतसँगको नेपालको सम्बन्ध सदियौँदेखि प्रगाढ रहँदै आएको सर्वविदित नै छ । अनेक उतारचढाव पार गर्दै नेपाल र भारतबीच अहिले पनि अरू देशसँग तुलना गर्न नसकिने विशेष सम्बन्ध रहिआएको छ । नेपाल र भारतबीचको सम्बन्धलाई घनिष्ठ अनि विशेष बनाउने तत्वहरू मूलतः धार्मिक, सामाजिक एवम् सांस्कृतिक समानता नै हो । यी दुई देशका जनताले प्राचीन समयदेखि एकैखाले धर्म, संस्कार अँगालेका पाइन्छन्, मिल्दाजुल्दा सामाजिक, सांस्कृतिक चलन र रीतिरिवाज अवलम्बन गर्दै आएका छन् । दुवै देशमा बहुसङ्ख्यक जनसङ्ख्याले सनातन हिन्दू धर्म अवलम्बन गरेका छन् । र, यी समान विशेषता द्विपक्षीय मित्रताको सवालमा यस्ता आधारहरू हुन् जसलाई कुनै तत्वविशेषले कमजोर बनाउन खोज्दैमा कमजोर हुँदैन ।

यस्तै, नेपालको आर्थिक तथा सामाजिक विकासमा मात्र नभएर विभिन्न विपदावस्थामा खोज, उद्धार, राहत एवम् विभिन्न किसिमका मानवीय सहायता उपलब्ध गराउन भारत नै अग्रसर रहँदै आएको छ र सहयोगी मुलुकको प्रमुख स्थान भारतले नै ओगटेको छ । नेपाली श्रमिकहरू लाखौँको सङ्ख्यामा भारतमा रोजगारी गरिरहेका छन् भने नेपालमा रोजगारी तथा व्यापार व्यसायको सिलसिलामा आउने भारतीयहरूको सङ्ख्या पनि कम्ती छैन । अन्योन्यास्रित सम्बन्धको एउटा कडी हो यो, जसलाई चाहेर पनि तोड्न मुस्किल छ ।

यस्तो परिवेशमा सन्दर्भविशेषले नेपाल–भारत सम्बन्धको तलाउमा यतिबेला शङ्काको तरङ्ग पैदा भएको अर्थ लगाएर ब्याख्या–विश्लेषण गरिएका छन् । हालै उठे–उठाइएका नक्सा, अयोध्या जस्ता विषयले दुवै देशको नेतृत्व तहमा केही अमिलोपन पैदा गरिदिएको ठानिँदै छ । तर, नेपाल र भारतबीचको सम्बन्धका आयामलाई सुक्ष्म तवरले हेर्दा सम्बन्धका सवालमा ‘उग्र’ धारणा राख्नेहरू अन्ततः गलत नै सावित हुँदै आएका छन् ।

यस वर्षको स्वतन्त्रता दिवसमा मन्तव्य दिँदै प्रधानमन्त्री मोदीले ‘छिमेकी देश’बारे व्यक्त गरेका धारणा यहाँनेर उद्धृत गर्नु सान्दर्भिक हुनेछ । उनले भनेका छन्– ‘हाम्रा छिमेकी भनेका भौगोलिक सीमा मिल्नेहरू मात्रै होइनन्, जोसँग मन मिल्छ उनीहरू पनि छिमेकी नै हुन् ।’ वर्तमान सन्दर्भमा भारत र नेपालबीचको सम्बन्धमाथि औंला उठाउनेहरूका लागि मोदीको यो अभिव्यक्ति बिग्रह बढाउने ‘उर्जा’ बन्न सक्ला, तर त्यस्ता प्रयास अन्ततः फजुल सावित हुनेछन् । प्रधानमन्त्री मोदीद्वारा ब्यापक अर्थमा दिइएको उक्त अभिव्यक्तिलाई दुई देशबीच यतिबेला राजनीतिक तहमा देखिएको ‘विवाद’को अवस्थासँग जोडेर हेर्नु युक्तिसङ्गत हुँदैन । बरु विश्वलाई नै एक परिवार ठानेर मोदी–नेतृत्वको भारतले समृद्धि र क्षमताको शिखर छुने जुन प्रयत्न गरिरहेको छ, देशलाई आधुनिकताको नयाँ दिशातर्फ डो¥याउन मोदीद्वारा जुन सार्थक कार्य भएका छन्, अनि नयाँ नीति र नयाँ रीतिका साथ भारतलाई अघि बढाउने जुन अठोट भारतीय नेतृत्वले गरेको छ, जनस्तरदेखिकै सम्बन्ध गाँसिएको नेपालले भारतको उक्त रणनीतिसँग तादाम्यता मिलाउन सके छिमेकी मित्रराष्ट्रको प्रगतिसँगै आफूलाई पनि अगाडि लैजान सक्नेमा सन्देह पालिरहनु पर्दैन ।

अन्तमा यो सत्य दोहो¥याउनै पर्छ कि दृष्टि बदल्न सकिए पनि हामी सृष्टि फेर्न सक्दैनौँ भनेझैँ छिमेकीसँगको सम्बन्ध त फेर्न सक्छौँ तर छिमेकी नै बदल्न किमार्थ सक्दैनौँ । हामीले गर्न सक्ने भनेको आपसी अविश्वास, वैमस्यता न्यून गर्दै र आपसी विश्वास अभिवृद्धि गर्दै जाने नै हो । तसर्थ, हामीले यस्ता सकारात्मक सबै उपायहरू अवलम्बन गर्दै सम्बन्धलाई प्रभावकारी बनाएर अघि बढ्ने प्रण गर्नु बुद्धिमत्ता ठहरिने छ । ७४औँ स्वतन्त्रता दिवसको अवसरमा मित्रराष्ट्र भारतलाई हाम्रो शुभकामना !