दक्षिण एसियाली मुलुकका नेताहरुले मिलेर काम गर्नु आवश्यक : मोदी

भारतमा आज ७४ औँ स्वतन्त्रता दिवस मनाइँदै

भारतमा आज ७४औँ स्वतन्त्रता दिवस मनाइँदै छ । भारतभर अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ । यसै क्रममा आज बिहान ७ः१५ बजे प्रधानमन्त्री नरेन्द्र मोदी भारतको लालकिल्लामा पुगेर भारतीय स्वतन्त्रता दिवसको सामान्य समारोहलाई सम्बोधन गर्नुभएको थियो ।

स्वतन्त्रता दिवसको बिहानै नयाँ दिल्लीको लालकिल्लास्थित इन्डिया गेटमा प्रधानमन्त्री मोदी पुग्दा भारतका रक्षामन्त्री राजनाथ सिंहले स्वागत गर्नुभएको थियो । उहाँलाई लालकिल्लामा आयोजित एक विशेष समारोहमा भारतीय उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।

त्यसक्रममा भारतीय प्रधानमन्त्री मोदीले भारतको झण्डाको झण्डोत्तोलन गर्नुभएको थियो भने उहाँलाई त्यस क्रममा भारतीय सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो । एएनआईले जनाएअनुसार उहाँलाई सेनाले सम्मानस्वरुप गार्ड अफ अनर दिएपछि डायसमा पुगेर बस्नुभएका प्रधानमन्त्री मोदीले सम्मानस्वरुप भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रस्तुत गरिने विविध कार्यक्रमहरु हेर्नुभएको थियो ।

भारत सन् १९४७ को अगष्ट १५ मा बृटिस साम्राज्यबाट मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो ।

सोही मुक्तिको स्मरणमा आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका छन् । यस अवसरमा भारतको लालकिल्लामा विशेष समारोहको आयोजना गर्ने गरिन्छ । यस अवसरमा प्रधानमन्त्री मोदीले गर्नुभएको सम्बोधनमा भारतले छिमेकी मुलुकहरुसँग सामाजिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध राम्रो बनाएको बताउनुभएको थियो ।

स्वतन्त्रता दिवसका अवसरमा आज दिल्लीको लालकिल्लामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले दक्षिण एसियाली मुलुकका नेताहरुले यस क्षेत्रको विकासमा मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रधानमन्त्री मोदीले यस क्षेत्रमा शान्ति आएसँगै मानवताको हितमा कामहरु हुने पनि बताउनुभयो । उहाँले केही समयदेखि भारतले पश्चिम एशियासँगको सम्बन्धलाई अझ बलियो बनाएको र ती देशसँग भएका ऊर्जा क्षेत्रको साझेदारी महत्वपूर्ण रहेको बताउनुभएको थियो ।



प्रतिक्रिया