ज्ञानमित्रको सन्देश- डराएर होइन सचेत भएर कोरोनाको मुकाबिला गरौँ

'घन्टौँ सँगै बिताएका मेरा आफन्तलाई कोरोना भए पनि म बिन्दास छु'

साउन २५ गते आइतबार बिहान विराटनगरबाट आएका एकजना आफन्तसँग २–३ घन्टा सँगै थिएँ, परिस्थिति बाध्यात्मक थियो ।

आइतबार दिउँसो नै उनले कोरोना संक्रमण परीक्षण गराए। भोलिपल्ट सोमबार ३ बजेतिर उनले आफ्नो रिपोर्ट ‘पोजिटिभ’ आएको खबर गरे । उनले परीक्षण गराउनुअघि २–३ घन्टा म उनीसँग थिएँ, अतः मैले सावधानी अपनाउनु आवश्यक थियो ।

जनवरी महीनादेखि नै म कोरोना भाइरस सम्बन्धमा अध्ययन एवम् लेखन गर्दै आइरहेको छु । मेरा लागि कोरोना कुनै खतरनाक भाइरस होइन । मैले सावधानी अपनाउनुको अर्थ यो होइन कि म यस भाइरसबाट किञ्चित पनि भयभीत छु, डराएको छु, आत्तिएको छु अथवा मानसिक रुपमा अलिकति पनि कमजोर भएको छु ।

सावधानी अपनाउनुको अर्थ यति नै हो यदि साँच्चै नै म कोरोनासंक्रमित भएको छु भने मबाट यो संक्रमण अन्य कोहीसम्म नपुगोस् । घरमा ७४ वर्षीय आमा हुनुहुन्छ, ६० प्लसको भिनाजु हुनुहुन्छ । उहाँहरुको सुरक्षार्थ म स्वतः संज्ञान लिई ‘आइसोलेसन’मा बसेँ । ‘आइसोलेसन’का लागि मैले घर नै रोजेँ ।

अब यसलाई मेरो आत्मविश्वास, मूर्खता अथवा तपाईंलाई जे मन लाग्छ भन्न सक्नुहुन्छ, म कोरोना संक्रमण परीक्षण ‘पिसिआर’ गराउनतिर लागिनँ । कारण यदि मैले टेस्ट गराएको भए र रिपोर्ट ‘पोजिटिभ’ नै आएको भए पनि मैले गर्नु पर्ने यही नै हुन्थ्यो, अर्थात ‘आइसोलेसन’मा नै बस्नु पर्ने हुन्थ्यो । रिपोर्ट ‘पोजिटिभ’ आउँदैमा संक्रमितले अस्पताल जानुपर्दैन । र, ‘आइसोलेसन सेन्टर’ भनेको अस्पताल होइन।

कोरोनाको उदय भएपछि केही शब्द खुबै प्रचलनमा आएका छन्, सामान्यजन पनि यी शब्दसँग परिचित भइसकेका छन् । ती धेरै शब्दमध्ये ‘क्वरेन्टिन’ र आइसोलेसन पनि रहेका छन् । प्रकृति झण्डैझण्डै मिले पनि अलिकति भेद छ, यी दुवै शब्दमा।

कोरोना फैलिएको क्षेत्रबाट कोही मानिस अन्य क्षेत्रमा जान्छ। अब सबैको ‘कोरोना टेस्ट’ गर्नु सम्भव हुन्न, नेपालमै मात्र होइन, विकसित राष्ट्रमा पनि सम्भव हुँदैन । ‘एयरपोर्ट’, प्रमुख नाका, शहर प्रवेश द्वारमा स्वास्थ्यसेवीले संक्रमण परीक्षण हेतु आगन्तुकको शरीरको ताप नाप्छन् । शरीरमा सामान्यभन्दा बढी ताप देखिएमा व्यक्तिलाई शंकास्पद ठानी संक्रमण परीक्षणका लागि पठाइन्छ। परीक्षणमा कोरोना संक्रमण ‘पोजिटिभ’ भएको खण्डमा व्यक्तिलाई ‘आइसोलेसन’मा पठाइन्छ। उसको कोरोना रिपोर्ट ‘निगेटिभ’ नआएसम्म उसलाई ‘आइसोलेसन’मा राखिन्छ ।

तर शरीरमा ताप सामान्य भएमा यस्ता व्यक्तिलाई १४ दिनसम्म ‘क्वरेन्टीन’मा बस्ने आग्रहका साथ घर पठाइन्छ । यस १४ दिनको अर्थ बुझ्नुस्। प्रारम्भमा कोरोना भाइरस सम्बन्धमा भएको अध्ययनले के देखाएको थियो भने यस भाइरस को ‘इन्क्यूबेशन पिरियड’ ९ष्लअगदबतष्यल उभचष्यम ० १४ दिनको हो । अर्थात कसैलाई भाइरस संक्रमण भएको छ भने १४ दिनमा भाइरसले शरीरमा आफ्नो संख्या वृद्धि गरी संक्रमणका लक्षण उत्पन्न गर्नुका साथै आफ्नो दुष्प्रभाव देखाउन थाल्छ । तर पछिल्लो अध्ययनमा यो अवधि २१ दिन हुन पुगेको छ । भनौँ संक्रमण फैलिएको क्षेत्रबाट आएको व्यक्तिले २१ दिनसम्म आफूलाई ‘क्वरेन्टीन’ गरेको छ र उसमा कुनै किसिमका लक्षण २१ दिनसम्म देखिएनन् भने त्यस व्यक्तिमा कोरोना संक्रमण भएको थिएन अथवा भएर पनि उसको आफ्नै शारीरिक प्रतिरोधक क्षमताले भाइरसलाई परास्त गरी ऊ स्वस्थ भइसकेको छ भन्ने बुझ्नुपर्छ।

तर यस अवधिमा उसमा कुनै लक्षण देखिए भने उसको ‘टेस्ट’ गरिन्छ, रिपोर्ट ‘पोजिटिभ’ आएमा उसलाई पुनः कसैको संपर्कमा न आउने गरी बस्न भनिन्छ अथवा राखिन्छ। यस सम्पर्कविहीन अवस्थालाई ‘आइसोलेसन’ भनिन्छ । भन्न सकिन्छ, संक्रमण पुष्टि नभएको अवस्थामा गरिने एकान्तवास ‘क्वरेन्टिन’ हो भने संक्रमण पुष्टि भइसकेपछिको एकान्तवास ‘आइसोलेसन’ हो।

मैले आफूमा संक्रमण पुष्टि नभई नै आफूलाई ‘आइसोलेसन’ गरेको उल्लेख गरेँ। यसको कारण हो– म टेस्टका लागि ४–५ हज़ारको व्यय गर्न तयार छैन । आखिर पुष्टि भएपछि पनि संक्रमणको कुनै औषधि त छैन, बस्नुपर्ने एकान्तवास नै हो । मैले ‘क्वरेन्टिन’ शब्द प्रयोग नगरी सोझै ‘आइसोलेसन’ उल्लेख गरे।
अब कोरोना कुनै एक–दुई क्षेत्रमा सीमित छैन, झण्डै सबै ठाउँमा पुगिसकेको छ, तसर्थ अब ‘क्वरेन्टिन’भन्दा ‘आइसोलेसन’ शब्द प्रयोग गर्नु नै ठीक हो । किनकि अब सबैजनाको कोरोना संक्रमित हुने सम्भावना अति नै वृद्धि भइसकेको छ।

सोमबार साँझ नै मैले फेसबुकमा आफू संक्रमितको सम्पर्कमा आएकाले घरमै ‘सेल्फ आइसोलेसन’मा बसेको सार्वजनिक गरेँ।

जस्तो कि मुलुकमा प्रचारित छ र विभिन्न महानुभावले माग पनि गरिरहेका छन्– सरकारले परीक्षणको दायरा बढाउनुपर्‍यो, संक्रमितको सम्पर्कमा आएको व्यक्तिको खोजी गरेर (कन्ट्याक्ट ट्रेसिङ) परीक्षणको दायरामा ल्याउनुपर्‍यो। एक घर एक परीक्षणको कुरा व्यापक भइरहेका छन् । सरकारलाई ‘ट्रेसिङ’ गर्न सजिलो होस् भन्ने हेतुले नै मैले कोरोना संक्रमितको सम्पर्कमा आएको सार्वजनिक गरेको थिएँ । कुनै सरकारी निकायले मसँग सम्पर्क गर्छ होला भन्ने लागेको थियो, तर यो यथार्थमा फलित भएन । मैले आफू सम्पर्कमा आएको संक्रमण प्रमाणित भएको व्यक्तिसँग सम्पर्क गरेँ। राज्यले उनलाई राजधानीको एउटा ‘आइसोलेसन’ केन्द्रमा लगेर राखेको छ।

मैले उनीसँग जिज्ञासा राखेँ, ‘के सम्बन्धित निकायले उनीसँग क–कस्को सम्पर्कमा आएको’ सोधपुछ गर्‍यो ?
‘यसबारे मसँग कसैले केही पनि सोधेन।’

कोरोनासँग डराएर होइन, यसप्रति सचेत भएर मात्रै यसको मुकाबिला गर्न सकिन्छ । नेपालको प्रबुद्ध वर्गले अब कोरोनाबाट जोगिने उपाय प्रचारित गर्नुभन्दा कोरोना संक्रमित भइहालेमा के गर्ने, कसरी बस्ने ? भन्नेबारे प्रचार गरिदिए धेरैको कल्याण हुन्थ्यो।

अब जब प्रमाणित संक्रमितसँग नै क–कस्को सम्पर्कमा आएको सोधिँदैन भने उसको सम्पर्कमा आएको सम्भावित संक्रमितसँग राज्यले सम्पर्क गर्ने आशा गर्नु दिवास्वपन बाहेक के हुन सक्छ ।

कोरोनाको उत्कर्ष (पिक) के हुन्छ, कस्तो हुन्छ, कहिले हुन्छ अथवा कोरोनाको अवसान कहिले हुन्छ, कसरी हुन्छ ? यसबारे यकीनसाथ केही भन्न सक्ने सामर्थ्य कसैसँग छैन । वर्तमानको परिस्थिति यो हो– हामीलाई कोरोना छ भन्ने थाहा छ, यसको कुनै औषधि छैन भन्ने पनि थाहा छ । यस्तो विषम परिस्थितिमा हामीले यसको मुकाबिला गर्नु बाहेक अन्य कुनै उपाय छैन !

कुनै पनि शत्रुसँग मुकाबिला गर्न हामीले त्यसप्रतिको आफ्नो मनमा भएको डर, त्रास, आतंकबाट मुक्त हुनुपर्छ । शत्रुको आतंकबाट ग्रस्त मनले शत्रुको सामना गर्न सकिन्न। भनौँ, यस्तो मनस्थितिले युद्धभन्दा पहिला नै ८० प्रतिशत युद्ध हारिसकेको हुन्छ । आतंकबाट मुक्त भएपछि शत्रुको प्रहारक क्षमताबारे थाहा भयो भने आफ्नो बचाव गर्दै शत्रुलाई सजिलै पराजित गर्न सकिन्छ।

के तपाईं कोरोनाको आतंकबाट मुक्त हुन चाहनुहुन्छ ?

त्यसोभए ध्यान दिएर पढ्नुस् ।

आज शनिबार बिहानको ७ बजेर ५९ मिनट जाँदा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड़ १० लाख ७९ हज़ार ३०५ पुगेको छ। विश्वभरी मर्नेको संख्या ७ लाख ५३ हज़ार ४५१ रहेको छ। तपाईंलाई राम्ररी थाहा छ– मर्नेहरुको यस संख्यामा ८० प्रतिशतभन्दा बढी मानिस कोरोनाका कारणले नभई शरीरमा रहेका अन्य रोगका कारण मरेका छन् । एक–दुई दिनअघि मेडिसिटी अस्पतालमा मृत्यु भएका जनकपुरनिवासी एकजनालाई कोरोनाबाट मृत्युवरण गर्नेमा राखियो। उहाँको ‘केस हिस्ट्री’हेर्दा उहाँ उच्च रक्तचाप र मधुमेहको दीर्घ रोगी हुनुहुन्थ्यो । जनकपुरमै बेहोश भएर लडेपछि उहाँलाई उपचारार्थ हेलिकाप्टर चार्टर गरेर काठमान्डू ल्याइयो । अस्पताल आएपछि उहाँ संक्रमित भएको थाहा भयो। सुनेको छु– उहाँको उपचारमा रेमेडिसभिरका साथै प्लाज्मा थेरापी पनि प्रयोग गरियो । प्लाज्मा दिएपछि उहाँको अवस्थामा अपेक्षित सुधार पनि आएको अस्पताल सुत्रले भन्यो। तर पछि गएर उहाँको निधन भयो। उहाँको मृत्युलाई कोरोना कोटामा राखियो ।

कोरोनाबाट मृत्यु हुनेको प्रचारित संख्यामा ८० प्रतिशतभन्दा बढी मृत्यु यसै किसिमका रहेका छन् ।

ल यसकै पनि प्रतिशत हेरौँ न । संसारभरि संक्रमित २,१०,७९,३०५ मध्ये मृतक संख्या ७,५३,४५१ जुन प्रतिशतमा ३ दशमलब ५ हुन आउँछ। तथ्यांकले स्पष्ट गरिरहेको छ– संसारभरि १०० कोरोना संक्रमितमध्ये ३ दशमलब ५ जनाको मृत्यु भएको छ।

छिमेकी मुलुक भारतकै तथ्यांक हेर्ने हो भने त्यहाँ संक्रमित संख्या २४,५९,६५३ छ भने मृतक संख्या ४८,१४४ रहेको छ । भनौँ भारतमा कोरोनाको ‘मोर्टेलिटी रेट’ १ दशमलब ९५ रहेको छ। हाम्रै देशको डाटा पनि हेरौँ- नेपालमा कुल संक्रमित संख्या २४,९५७ र मृतक संख्या ९७ रहेको छ। यो भनेको ० दशमलव ३ प्रतिशत हो।

अब अलिक लामो सास फेरि अर्को तथ्यांक पनि हेरौँ । विश्वमा संक्रमण लागेर स्वस्थ हुनेको संख्या १,३९,११,३७८ रहेको छ । अर्थात स्वस्थ हुनेको प्रतिशत ६५ दशमलब ९९ रहेको छ। भारतमा स्वस्थ हुनेको संख्या ७१ प्रतिशत भन्दा माथि रहेको छ, हाम्रै देशमा स्वस्थ हुनेको संख्या १६,८३७ अर्थात ६७ प्रतिशतभन्दा माथि छ।

म आफ्नो शत्रुको नै निन्दा अथवा आलोचना गर्न मन पराउँदिन, सरकार त मेरो शत्रु होइन । तर एउटा प्रश्न गर्न मन लागेको छ– सरकारी डाटा छ नेपालमा अहिलेसम्म २४,९५७ व्यक्तिमा संक्रमण देखियो । यसमध्ये ९७ जनाको मृत्यु भयो । १६,८३७ जना व्यक्ति स्वस्थ भइसके। सोझै हिसाब छ– नेपालमा कुल ‘एक्टिभ’ संक्रमित संख्या ८,०२३ मात्रै छ।

सरकार, यी ८ हज़ारमध्ये कतिजना ‘भेन्टिलेटर’मा छन्, कतिजना ‘आईसीयू’मा छन्, कतिजना अस्पतालमा छन् र कतिजना ‘आइसोलेसन’मा छन् ? सरकार प्रचारित गरिरहेको छ– ‘भेन्टिलेटर’ छैन, ‘आइसियू’ खालि छैनन्, अस्पतालमा ठाउँ छैन, घरमै ‘आइसोलेसन’मा बस्नुस्, ‘आइसोलेसन’ केन्द्र भरिभराउ छन् । २०–३० जना पनि ‘भेन्टिलेटर’मा छैनन् होला, ६०–७० जना पनि ‘आइसियू’मा छैनन् होला, बढीमा हज़ार जना अस्पताल भर्ना होलान् र सबै संक्रमित नै सरकारले बनाएको ‘आइसोलेसन’ केंद्रमा छन् भने पनि यो संख्या पुगनपुग ७ हज़ार होला ।

खैर, सरकारसँग दोहोरी खेल्ने मेरो आशय होइन । मेरो आशय तपाईंहरुलाई कोरोनाको आतंकबाट मुक्त बनाउनु हो। तथ्यांक हेरिहाल्नु भयो, नपत्याए ‘क्रस चेक’ गर्नुस् । अब भन्नुस् विश्वभरि १०० जनामा ३ जना, भारतमा १०० मा २ जना र नेपालमा १०० मा ० दशमलब ३ जनालाई मृत्युको मुखमा लगिरहेको भाइरससँग किन आतंकित हुने ?

विश्वभरि करोड़ौँ मानिस कोरोना लागेर परीक्षण नभई नै ठीक भइसके, यसको कुनै लेखाजोखा नै हुन सक्दैन। नेपालमै लाखौँ मानिस कोरोना संक्रमित भई परीक्षणको दायरामा नआई नै ठीक भइसके । कोरोना कुनै घातक भाइरस नै होइन, हो– यसप्रति फिँजाइएको हल्ला भने घातक छ। तपाईंले यस हल्लाबाट आफूलाई मुक्त राख्नुपर्छ । म प्रारम्भदेखि नै कोरोनाको हल्लाबाट आफूलाई पृथक राख्दै आएको छु, त्यसैले आज संक्रमणको आशंका हुँदा पनि, ‘आइसोलेसन’मा बस्दा पनि बिन्दास छु ।

म ‘आइसोलेसन’मा बसेको आज पाँचौ दिन हो । प्रत्येक दिन केही न केही लेखी नै रहेको छु, लेखी नै रहने छु। कोरोना संक्रमण ढिलोचाँडो सबैलाई नै हुन्छ। मास्क लाउनुस्, नलाउनुस् केही फरक पर्दैन । जतिसुकै मास्क लाए पनि, जोगिने जति सुकै अरु उपाय गरे पनि कोरोनाबाट कोही पनि मुक्त रहँदैन। किनकि कोरोना भाइरस निमिट्यान्न हुँदैन । मानसिक रूपमा आफू बलियो हुनु नै सर्वोत्तम उपाय हो, साथै आफूलाई २१ दिनसम्म ‘आइसोलेसन’मा बस्नका लागि आजैदेखि प्रशिक्षित गर्न थाल्नुस्।

आफ्नो घर हुनेले संक्रमण भएमा अथवा संक्रमणको आशंका भएमा सरकारी ‘आइसोलेसन’ केन्द्र को चाहना नगर्नुस्, घरमै ‘आइसोलेसन’ बस्नु स्। किनकि यो कुनै रोग होइन, तपाईं रोगी होइन, तपाईंलाई कुनै औषधिमुलोको आवश्यकता पर्दैन । बढीमा २१ दिनसम्म तपाईंले एकान्तवास गर्नु पर्ने हुन्छ।

काठमान्डू लगायत सबै ठाउँका अधिकांश होटल खालि छन् । यी होटलधनीले होटललाई ‘आइसोलेसन’ केन्द्र बनाए हुन्छ। होटलको स्तर हेरी १०००–२००० रुपैंयाँसम्म दैनिक भाड़ा लिए हुन्छ । खाना, चिया, नास्ताको प्रबन्ध यसैभित्र हुनुपर्छ। यसो हुँदा डेरामा बस्ने मानिसलाई सजिलो हुनुका साथै होटलको पनि धेरथोर आम्दानी हुन्छ ।



यो निश्चित भइसकेको छ– कोरोनासँग जुध्न अब सरकारी प्रयासले मात्रै सम्भव छैन । सबै नेपालीले यसप्रति जागरूक हुनुपर्छ। कोरोनासँग डराएर होइन, यसप्रति सचेत भएर मात्रै यसको मुकाबिला गर्न सकिन्छ। नेपालको प्रबुद्ध वर्गले अब कोरोनाबाट जोगिने उपाय प्रचारित गर्नु भन्दा कोरोना संक्रमित भई हालेमा के गर्ने, कसरी बस्ने भन्नेबारे प्रचार गरिदिए धेरैको कल्याण हुन्थ्यो।

प्रतिक्रिया