नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार ९ सय ५७

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार ९ सय ५७


नेपालमा बिहीबार (२९ साउन) थप ५ सय २५ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोे छ ।

देशका विभिन्न प्रयोगशालामा नौ हजार ८५९ जनामा गरिएको पिसिआर परीक्षणमा ५२५ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यससँगै नेपालमा कोरोना सङ्क्रमित २४ हजार ९५७ जना पुगेका छन् ।

उनका अनुसार पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससहित नेपालमा हालसम्म १६ हजार ८३७ उपचारपछि निको भएका छन् ।

काठमाडौं उपत्यकामा बिहीबार १२७ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा पाँच जना कोरोना सङ्क्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा नेपालमा थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । महोत्तरी, धनुषा, अछाम र मोरङमा एकएक जनाको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए । यससँगै कोरोना सङ्क्रमित मृतक ९५ जना पुगेका छन् ।

महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ का ४५ वर्षीय एक पुरुषको उपचारका क्रममा राम जानकी अस्पतालमा यही साउन २५ गते मृत्यु भएको हो । उनी क्षयरोग तथा मधुमेहका रोगी थिए । त्यस्तै धनुषाको मिथिला नगरपालिका वडा नं ७ ढल्केबरका ८५ वर्षीया महिलाको यही साउन २८ गते मृत्यु भएको छ । उनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिइन् ।

त्यस्तै अछामको रामारोशन गाउँपालिका वडा नं ५ का १८ वर्षीय एक पुरुषको यही साउन २८ गते उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ । उनी मुटुरोगी थिए । त्यसैगरी मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं ३ का ५७ वर्षीय एक पुरुषको यही साउन २८ गते उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ । उनी उच्च रक्तचाप तथा मधुमेहका बिरामी रहेको बताइएको छ ।