पश्चिम नवलपरासीका वन–उपभोक्ता वन विनास रोक्न दृढ

पश्चिम नवलपरासीका वन–उपभोक्ता वन विनास रोक्न दृढ


आरपी उपाध्याय, नवलपरासी

२५औँ सामुदायिक वन दिवसको अवसरमा पारिजात सामुदायिक वन उपभोक्ता समुह बर्दघाट–४ पश्चिम नवलपरासीले वन क्षेत्रमा वृक्षरोपण दिवस मनाएको छ ।

‘समृद्धिका लागि सामुदायिक वन उत्पादन र उत्पादकत्व वृद्धिमा योगदान’ भन्ने मूल नाराका साथ पारिजात सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा समुहको वन क्षेत्रभित्र वृक्षारोपण गरिएको हो । समूहका अध्यक्ष चुडामणि भण्डारीको अध्यक्षता तथा बर्दघाट सरावल सव–डिभिजन कार्यालय बर्दघाटका प्रमुख रामनारायण शाहको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम भएको थियो ।

कार्यक्रममा सो सामुदायिक वनका सरोकारवाला निकायले वन सरंक्षणका क्रममा वन क्षेत्रभित्रको चरिचरण बन्द हुँदा पशुपालक कृषकहरूलाई पर्न जाने असुविधामाथि मध्यनजर गर्दै पर्यावरण जोगाउने खालका कार्यक्रम ल्याउनुपर्ने कुरामा जोड दिए ।

सो अवसरमा सामुदायिक वन उपभोक्ता माहासंघका जिल्ला अध्यक्ष कमल परियार, सामुदायिक वन महासंघ प्रदेश नम्बर ५ की प्रदेश सदस्य लक्ष्मी बर्तौला, सशस्त्र प्रहरी बल यूक्ति तालिम महाविद्यालयका वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोख्रेललगायतले विभिन्न जातका विरुवाहरू लगाई वृक्षारोपण कार्यक्रमको सुरुवात गरेका थिए ।

पारिजात सामुदयिक वनले मर्चाघोला उत्तरको वन क्षेत्रको खाली भूभाग करिव ५ हेक्टर क्षेत्रफलमा बकाइनो, आँप, टिक, सिमल लगायतका १२ सय ५० वटा विरुवा वृक्षरोपण गरिएको बताइएको छ । वृक्षारोपण कार्यक्रमबाट हरियाली बढाई वन विनास रोक्ने दृढता स्थानीय उपभोक्ताहरूले प्रकट गरेका छन् ।