कपिलवस्तु अस्पतालका चिकित्साकर्मी आन्दोलित

कपिलवस्तु अस्पतालका चिकित्साकर्मी आन्दोलित


विशेष प्रतिनिधि, कपिलवस्तु

ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि हातपात गरी अस्पतालसमेत तोडफोड गर्ने उपर कारवाहीको माग गर्दै कपिलवस्तु अस्पतालमा कार्यरत डाक्टर तथा कर्मचारी आन्दोलित बनेका छन् ।

आन्दोलित डाक्टर तथा स्वास्थ्यकर्मीहरुले बिहीबार (२९ साउन)बाट अति आवश्यक सेवा बाहेक कुनै पनि सेवा प्रवाह नगर्ने सामुहिक घोषणा गरेका छन् ।

गत शनिबार साँझ कपिलवस्तु अस्पतालमा तातो चियाबाट जलेर घाईइते अवस्थामा आएकी एक वर्षीया बालिकाको उपचारका क्रममा उपचारमा संलग्न मेडिकल अधिकृतमाथि भएको हातपात र अस्पताल तोडफोडको विषयमा स्थानीय प्रशासनले कुनै कारवाही प्रक्रिया अघि नबढाएको भन्दै डाक्टर तथा अस्पताल कर्मचारीहरु आन्दोलत भएका हुन् ।

आज दिउँसो अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट, मेडिकल अधिकृतदेखि सबै कर्मचारीहरुले सामुहिक रुपमा प्रेस विज्ञप्ति जारी गर्दै आजै दिउँसोबाट अस्पतालबाट प्रवाह गरिने सेवाहरु अनिश्चितकालीन रुपमा बन्द गरेको घोषणा गरेका छन् । आफ्ना माग सनुवाई नभए अस्पतालमा कार्यरत सबैस्वास्थ्यकर्मीहरुले सामुहिक रुपमा राजीनामा दिने समेत घोषणा गरेका छन् ।

शनिवार साँझ कपिलवस्तु नगरपालिका वडा नंं. ८ की एक र्षीय बालिका सोफिया खानको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतक बालिकालाई तातो चियाले पोलेर घाइते अवस्थामा उपचारका लागि कपिलवस्तु अस्पताल ल्याइएको थियो । उपचारका क्रममा अस्पतालका स्वास्थ्यकर्मीको लापर्वाही भएको भन्दै आक्रोशित मृतक बालिकाका आफन्तले डाक्टरमाथि हातपात गर्नुका साथै अस्पतालको इमर्जेन्सी वार्डमा तोडफोड गरेका थिए ।

डाक्टर कुटिँदा र अस्पताल तोडफोड हुँदासमेत स्थानीय प्रशासनले आफुहरुको समस्याबारे चासो नराखेका कारण बाध्य भई आफुहरु आन्दोलनमा उत्रिनु परेका आन्दोलित डा. गणेश क्षेत्रीले बताए ।

घटनाको छानविनका लागि गत शनिबार नै जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरि सकेको छ । बालिकाको मृत्यु अस्पतालको लापर्वाहीले भएको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका मृतकका आफन्त र सर्वसाधारण प्रशासनबाट छानविन समिति बन्ने निर्णय भएपछि शान्त बनेका थिए ।