मधेशी नेताहरूलाई लडाएर दलको नेता बन्ने ‘प्रचण्ड दाउ’मा बाबुराम !

मधेशी नेताहरूलाई लडाएर दलको नेता बन्ने ‘प्रचण्ड दाउ’मा बाबुराम !


विभिन्न राजनीतिक दल चहार्दै पछिल्लो पटक जनता समाजवादी नामक मधेशकेन्द्रित समूहमा आवद्ध हुन पुगेका बाबुराम भट्टराई आफूसम्बद्ध समूहको संसदीय दलको नेता बन्ने अन्तिम प्रयासमा रहेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । पूर्वप्रधानमन्त्रीको हैसियत बनाएर पनि पूर्वमन्त्रीहरूको भन्दा तल्लो मर्यादा क्रममा (बरियतामा चौथो) रहेका भट्टराईले पार्टी मर्यादा क्रममा ध्यान नदिनुको एक मात्र कारण संसदीय दलको नेता पद हात पार्नुभएको बताइन्छ ।

संसदीय दलको नेताका रूपमा महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव, राजकिशोर यादव, शरतसिंह भण्डारी र बाबुराम भट्टराईमध्ये एकलाई अपनाउन सकिने भए पनि मूख्य प्रतिष्पर्धा ठाकुर, यादव र महतोका बीच रहेको छ । तीनमध्ये पनि महन्थ ठाकुरलाई कमजोर प्रतिष्पर्धी मानिएकोले उपेन्द्र यादव र राजेन्द्र महतोबीच मूख्य प्रतिष्पर्धाको स्थिति उत्पन्न भएको छ । यसरी मधेशी नेताहरूबीच आपसमा चर्को प्रतिस्पर्धा गराउन स्वयम् बाबुराम भट्टराईले ‘प्रचण्ड भूमिका’ निर्वाह गरिरहेको बुझिन्छ ।

मधेशी नेताहरूलाई आपसमा लडाएर एकले अर्कोलाई कुनै हालतमा स्विकार नगर्ने बनाउन भट्टराईले सबै प्रतिष्पर्धीहरूलाई एक्लाएक्लै भेट गरी ‘तपाईंबाहेक अरु यो पदका निम्ति अनुपयुक्त’ भनी उचाल्ने गरेको बुझिएको छ । हरेक प्रतिष्पर्धीले आफू दलको नेता हुन नसकेको अवस्थामा बाबुरामको नाममा सहमति बनाउन सक्ने विश्वासका साथ बाबुरामबाट मधेशी नेताहरूलाई परस्पर लडाउने काम भइरहेको छ ।

बाबुरामको चालको सबैभन्दा ठूलो असर उपेन्द्र यादव र राजेन्द्र महतोमा परेको देखिन्छ । उनीहरू एकअर्कोलाई कुनै पनि हालतमा समर्थन गर्न नसक्ने गरी आपसी प्रतिष्पर्धा गर्दैछन् र, यस्तै अवस्था कायम रहेमा सहमतिको उम्मेदवारका रूपमा कसैबाट बाबुराम भट्टराईको नाम अगाडि सारिन सम्भव छ । कुनै तरिकाले संसदीय दलको नेता बनेमा यही संसदीय कार्यकालभित्रै प्रधानमन्त्री बन्न सकिने विश्वासमा बाबुराम रहेको उनका निकटवर्तीहरूको भनाइ छ ।

नेकपाबाट प्रचण्डलाई बाहिर ल्याउने र मधेशी समूह, काङ्ग्रेस र माओवादीबीचको गठबन्धनबाट नयाँ सरकार गठन गरी आफू प्रधानमन्त्री बन्ने खेलमा बाबुराम रहेको बताउन थालिएको छ । आफ्नो यस प्रकारको योजना कार्यान्वयन गराउन बाबुराम यतिबेला आफूसम्बद्ध पार्टीभित्रै कसरत गर्दैछन् । यस्तो प्रयास असफल भएमा बाबुराम मधेशकेन्द्रित समूहमा कहिलेसम्म रहन सक्लान् भन्ने जिज्ञाशा पनि उत्पन्न भएको छ । नेपालमा हाल क्रियाशील माथिल्लो तहका राजनीतिजीवीहरूमध्ये बाबुराम भट्टराई सबैभन्दा धेरै पार्टी बदल्ने व्यक्तिका रूपमा चिनिन्छन् । जीवनको शुरुवाती चरणमा काङ्ग्रेससँग निकट रहेका उनी चौथो महाधिवेशन, मशाल, मसाल, जनमोर्चा, माओवादी र नयाँ शक्तिहुँदै अहिले मधेशकेन्द्रित समूह जनता समाजवादीमा पुगेका छन् । यो समूहमा पनि उनी लामो समय अडिन नसक्ने अनुमान विश्लेषकहरूको छ ।