आर्थिक लेनदेनका कारण गोंगबु घटना घटेको मृतकका आफन्तको भनाई

आर्थिक लेनदेनका कारण गोंगबु घटना घटेको मृतकका आफन्तको भनाई


■ सनत आचार्य

काठमाडौंको गोँगबुमा यही साउन २४ गते शनिबार हत्या गरिएका कृष्णबहादुर बोहराको चरित्र र हत्या हुँदाको अवस्थामा बोहराद्वारा गरिएको व्यवहारबारे आरोपी कल्पना मुडभरी पौडेलले प्रहरीसमक्ष दिएको ‘नकारात्मक’ बयान सञ्चारमाध्यममा आएपछि उनका आफन्त र साथीभाइहरूले ‘गलत’ भनी टिप्पणी गर्दै असन्तुष्टि एवम् कडा आपत्ति जनाएका छन् ।

मृतक बोहराका भाञ्जा शोभाकर रोकाले आफू मामासँग लामो समय दुबई र इराकमा काम गरेकोले मामाको स्वभाव आरोपीले भनेजस्तो नभएको तर्क दिएका छन् ।

रोकाका अनुसार मृतक बोहरा अत्यन्त मेहनती, शान्त र सहयोगी स्वभावका थिए । बोहरा अर्काको दुःखमा सहयोग गर्न कहिल्यै चुक्दैनथे । र, उनमा रिस–राग भन्ने कहिल्यै आफूले नदेखेको उनी बताउँछन् । सञ्चारमाध्यममा उनका बारेमा गरिएको नकारात्मक टीकाटिप्पणी पूरै गलत भएको रोकाको भनाई छ ।

मृतक बोहरा बस्दै आएको गोंगबुस्थित नरसिंहधाम गेष्टहाउस सञ्चालक दीपेन्द्र छतकुलीले समेत बोहरा अत्यन्त सरल र मेहनती भएको टिप्पणी गरेका छन् ।

छतकुलीका अनुसार उनी प्रत्येक दिन बिहान ६ बजे गेष्टहाउसबाट निस्कने र बेलुकी ८ बजेको हाराहारीमा फर्किने गरेका थिए । ८ महिनाको अवधिमा उनले कुनै पनि साथीभाइलाई आफू बस्ने कोठामा नलगेको र भेट्नका लागि कहिलेकाहीँ साथीभाइ आउँदा तल नै बसेर कुरा गर्ने गरेको उनी बताउँछन् ।

गेष्टहाउस मालिक छलकुली र बोहराले बेलुकीको खाना प्रायः सँगै खाने गरेका थिए । छतकुलीका अनुसार बोहराको स्वभाव अत्यन्त मिलनसार, नम्र र धार्मिक विषयमा पनि ज्ञान भएको र विशेषगरी ओमशान्तिमा बढि चासो रहेको बताउँछन् । समय–समयमा बोहराले उनीहरूलाई जीवनका व्यवहारसम्बन्धी विविध विषयमा अर्ति–उपदेश पनि दिने गरेको छतकुलीको भनाई छ ।

त्यस्तै, उनी जति राती भए तापनि गेष्टहाउसमै आएर सुत्ने गरेको गेष्टहाउस मालिकको भनाई छ ।

भान्जा रोकाका अनुसार मृतक बोहराले करिव १७ वर्षपहिले दाङबाटै लक्ष्मी रावतसँग विवाह गरेका थिए । लक्ष्मीको कोखबाट एक छोरी र एक छोरा जन्मिए । तर छोरीको १५ वर्षको कलिलो उमेरमा मृत्यु भयो । छोरीको मृत्युमा बोहरा निकै शोकमग्न भएका बताइन्छ ।

बोहराका जेठी श्रीमतीबाट अहिले १५ वर्षका एक छोरा समीम छन् । उनै छोराले ८३ वर्षीया हजुरआमालाई घोराही उपमहानगरपालिका–११, तल्लो बगाले (नारायणपुरभन्दा उत्तरतर्फ) हेरचाह गर्दै आएका थिए । मृतक बोहराले कान्छी श्रीमतीको आग्रह र पढाई आदिका कारण समीमलाई गत फागुनमा कान्छीआमा पार्वती रेग्मी बोहरासँग भारतको फरिदावादमा लिएर गएका थिए । मृतककी कान्छी श्रीमती आफ्ना मामासँग २ वर्षदेखि फरिदावादमा बस्दै आएकी छन् । मृतक बोहराले गत फागुन महिनामा दाङ आई दुई रात साला रामप्रसाद रेग्मीको घरमा बसेर समीमलाई फरिदावाद लगेका थिए ।

दशौँ कक्षा पनि उत्तीर्ण नगरेका मृतक बोहरा रोजगारीको शिलशिलामा दुबई गए । दुबईमा उनी एक रेष्टुरेन्टमा काम गर्दथे । काम गर्ने क्रममा उनको केही इराकीहरूसँग जान–पहिचान र हिमचिम बढ्यो । उनको मेहनत र लगनशीलतालाई देखेर इराकीले इराक जाने प्रस्ताव गरे । पछि उनीलाई इराक लगेर थप केही जिम्मेवारी दिए । इराकमा बस्दा बोहराले वैदेशिक रोजगारका लागि विभिन्न देशबाट अर्डर लिने कामसमेत गरे ।

इराकमा बस्दा बोहराले आफूले कमाएको पैसा पनि घर पठाए । तर, जेठी श्रीमतीले पैसा हिनामिना गरेपछि उनीहरूबीचको सम्बन्धमा चिसोपन बढ्यो र वैवाहिक सम्बन्ध लामो समयसम्म टिक्न सकेन । त्यसपछि उनीहरूले सम्बन्ध विच्छेद गरे ।

पहिलो श्रीमतीसँगको सम्बन्धबिच्छेदपछि दाङकै पार्वती रेग्मीसँग उनको चिनजान भयो, चिनजान विस्तारै प्रेम सम्बन्धमा रुपान्तरण भयो । त्यतिबेला उनी इराकमै थिए । त्यसपछि इराकबाट फर्केका उनले ७ वर्षअगाडि पार्वती रेग्मीसँग विवाह गरे । उनीबाट पनि एक छोरा जन्मियो । जो अहिले ६ वर्षका छन् ।

कान्छी श्रीमतीलाई विवाह गरेपछि उनीहरू सानो कोठा लिएर केही समय घोराहीमा बसे । त्यसपछि बोहरा टर्की गए ।

टर्की जानपूर्व बोहराले तल्लोबगाले (दाङ)मा रहेको आफ्नो केही जमिन ७२ लाखमा बेचे । दलाललाई केही पैसा खुवाएर उनी टर्की गएको उनका आफन्त बताउँछन् ।

आफन्तजनका अनुसार कल्पनासँग उनको चिनजान सोही समयमा भएको अनुमान छ । त्यस्तै जग्गा बेचेर खर्च गरेको रकमबाट बचेको पैसा र टर्कीको कमाई बोहराले अन्यत्रै लगानी गरेको अनुमान पनि परिवारजनको छ ।

कसरी पुग्यो मूल घरमा हत्या भएको खबर ?

आइतबार (२५ साउन) भान्जा शोभाकर रोका बेलुकी ६ बजेको ‘थाहा खबर’ सुन्दै थिए । सोही खबरमा ‘दाङ घोराहीका कृष्णबहादुर बोहराको गोंगबुमा हत्या भएको’ समाचार प्रसारित भयो । ‘घोराही र कृष्ण बहादुर’ भन्ने शब्दले उनलाई झस्कायो, उनी आत्तिए । लगत्तै मामा कृष्णबहादुर बोहराको मोबाइलमा फोन गरे । फोन स्वीचअफ् थियो । त्यसपछि उनी घरनजिकैको मामाघर जहाँ ८४ वर्षीया हजुरआमा (मृतककी आमा) बस्नुहुन्छ, त्यतै गए । वृद्ध हजुरआमा पेटीमा बसेर रोटी खाँदै थिइन् । घरमा पाहुना आएकी एक जना बहिनीले कान्छी सानिमाको छोरीसँग सोही विषयमा फोनमा खासखुस कुरा गरेको सुने । बहिनीहरूलाई हप्काए ।

रोकाले आफ्नो सम्पूर्ण ध्यान मोबाइलमा लगाए । मोबाइल कोट्याउँदै गर्दा उनीले शीर काटिएको एउटा श्याम–स्वेत र अर्को रंगीन फोटो देखे । यो फोटो देखेपछि समाचारमा उल्लेख गरिएका पात्र आफ्ना मामा नै हुन् भन्ने यकिन भयो । उनी अत्तालिँदै यताउता गर्न थाले । रोटी खाँदै गरेकी हजुरआमालाई कसरी भन्ने ? भन्ने कि नभन्ने ? दोधारमा परे उनी । पुनः घर गए र घर–सल्लाह भयो । रातिको समयमा बुढी आमालाई घटनाबारे झ्वास्सै जानकारी दिँदा फेरि अर्को अप्रिय घटना होला कि भन्ने सोचेर सबै त्राही–त्राही भए । यसरी आफन्तजनले सोही दिन घटनाबारे जानकारी पाए पनि मृतककी वृद्धा आमालाई भने भोलिपल्ट मात्रै यसबारे जानकारी मिलेको थियो ।

बोहराको हत्या शनिबार भएको थियो । अरु दिन ६ बजे निस्कने बोहरा त्यसदिन आफ्ना कपडा धोएर छतमाथि सुकाएर बिहान ७ बजे गेष्टहाउसबाट निस्केका थिए । सधैं ७÷८ बजे बेलुकी आउने बोहरा त्यसदिन ४ बजे नै गेष्टहाउसमा आए । सुकाएका कपडा उठाए, अनि गेष्टहाउसका मालिकलाई ‘म १–२ दिन नआउन पनि सक्छु, मेरो मोबाइल स्वीचअफ् पनि हुन सक्छ है’ भन्दै साँझ ५.१५ मा बा. ७२ प ५६४४ नं. को स्कुटी लिएरबोहरा कल्पनाको कोठामा गए ।

मृतक बोहराले श्रावण ९ गतेतिर गेष्टहाउस मालिकसँग एक जना व्यक्तिसँग लेनदेनको व्यवहार भएको र ५० लाख पैसा खाएको, लामो समयसम्म पैसा फसेको पनि बताएका थिए । तर, उनले कसले पैसा खायो भन्ने बारेमा भने प्रष्ट पारेनन् ।

मंसिर महिनादेखि गेष्टहाउसमा बस्दै आएका बोहराले बन्दाबन्दी भन्दा पहिलेसम्म गेष्टहाउसको आफ्नो हिसाब सबै चुक्ता गरेको तर बन्दाबन्दीपछि भने व्यापार नभएको कारणले गर्न सकेका थिएनन् । उनले ५० हजार पैसा होटलमा बुझाउन बाँकी रहेको छलकुली बताउँछन् ।

छतकुलीका अनुसार उनको फोन बढि नै आउने र ‘नानु.. नानु’ भनेर कुरा गर्ने गरेका थिए । सँगै खाना खाँदा कयौँ पटक फोन आउने गरेको र खाना खाँदाखाँदै फोनमा कुरा गर्नुभन्दा खाना खाएर कोठामा गई आरामले कुरा गर्दा हुन्छ नि भनेर आफूले सुझाव दिएको पनि उनी बताउँछन् ।

त्यस्तै, बोहराले एक महिनायता स्कुटी चढ्ने गरेको र उक्त स्कुटी बोहराको साथीको भएको पनि बुझिएको छ ।

यस्तो छ मृतकका आफन्तको भनाई

घटना सुनियोजित तवरले घटाइएको मृतकका आफन्तहरूको दाबी छ । उनीहरूका अनुसार यदि मृतकले पैसा दिनुपर्ने भए त्यसरी निर्मम र पासविक तरिकाले हत्या पक्कै हुँदैनथ्यो । मृतकले पैसा लिनुपर्ने भएकै कारण, दिने पक्षबाट सुनियोजित तरिकाले बोहराको हत्या गरिएको हो ।

त्यस्तै, यो घटनमा कल्पनाको मात्र हात छैन । एक जना महिलाले अजङ्ग शरीर भएका व्यक्तिलाई गिँडेर घरबाट लाश निकाल्नेसम्मको कार्य गर्न सक्दैन । यसमा अरु पनि सहयोगी हुन सक्छन् । यसको शुक्ष्म अनुसन्धान गर्न प्रहरी र सरकारसमक्ष आग्रह गरेका छन् ।

उनीहरूले यस्ता प्रकारका घटनाहरू भविष्यमा नदोहोरिनका लागि दोषीलाई फाँसीको सजाय दिनुपर्ने माग गरेका छन् । फाँसीको सजाय हुन सक्दैन भने जन्मकैदको व्यवस्था होस् भन्ने उनीहरूको भनाई छ । कडाभन्दा कडा सजाय हुनुपर्ने माग गर्दै आफन्तजनले न्याय नपाउँदासम्म लाश नउठाउने बताए ।

मृतकको शव सनाखत भइसकेको छ, तर शव बुझिहाल्ने पक्षमा परिवारका सदस्यहरू नरहेकाले यो केस सहजै टुङ्गिन नसक्ने सम्भावना बढेको छ । मृतकका ८४ वर्षीया आमा, कान्छी दिदी कमला घर्ती, कान्छी श्रीमती पार्वती रेग्मी बोहरा, दुवै छोराहरू, भान्जा र माइलो बुबाको छोरा शान्तराज बोहरा, साइँलो बुबाको छोरा देवबहादुर बोहरा आज (श्रावण २८) बेलुकी करिब ३ बजे दाङबाट काठमाडौंतर्फ प्रस्थान गरिसकेको पनि भाञ्जा शोभाराम रोकाले जानकारी दिएका छन् ।