‘मानिदेउ न शिवजी’ : धार्मिक आस्थामाथिको निकृष्ट प्रहार !

‘मानिदेउ न शिवजी’ : धार्मिक आस्थामाथिको निकृष्ट प्रहार !


■ राजन घिमिरे

एउटा भारतीय चलचित्रमा गीत छ ‘चल..चल रे काठमाण्डु, मिलेंगे वहाँ शम्भो…’ । निकै सम्मानजनक र आदरणीय प्रस्तुतिका साथ यो गीतमा नेपालको पशुपतिनाथ र भगवान् शिवको चर्चा अनि ख्यातिको बारेमा खुलेर बयान गरिएको छ । भनिन्छ, यो गीत बजारमा आएपछि पशुपतिनाथ घुम्न आउने भारतीय पर्यटकहरूको सङ्ख्या ह्वात्तै बढेको थियो त्यतिबेला ।

पशुपतिमा विराजमान देवादिदेव महादेव अर्थात् शिव, शम्भो, भोलेनाथको भारतीय चलचित्रको पर्दामा चर्चा गरेर नेपालको धार्मिक स्थलको खुलेरै बखान गर्छन् विदेशीहरू । तर विडम्बना ! समाजको रूपान्तरणमा विशेष भूमिका खेल्ने र राष्ट्रकै गहना मानिने हाम्रा नेपाली सर्जकहरू भने ८० प्रतिशत हिन्दु धर्मांलम्वीहरू भएको देशमा शिव भगवानको धज्जी उडाउने र विवादमा ल्याउने गीत–सङ्गीत सिर्जना गर्छन् ।

पहिले तपाईं पनि यो गीत हेर्नुस् अनि तपाइं भगवान शिवप्रति आस्था राख्नुहुन्छ भने तपाईंले पनि यो गीतमा गायिका, मोडल र भिडियो निर्देशकको सृजनाप्रति असहमति जनाउंनुहुने छ । यो गीत अस्मिता जुरेलीले गाएकी हुन् र यसमा मोडलिङ पनि उनैको रहेको छ । उनले भिडियोमा शिवको मूर्तिअगाडि अर्धनग्न पहिरनमा गाएकी छिन्– ‘तिम्रो भक्त कति–कति कसलाई भ्याउने… म जस्तो कामभक्त कहाँ भ्याउने…. डेटिङ जाउँला शिवजी….।’ यस्तै के के हो के के शब्द र हाउभाउ ! शब्द उस्तै अनि शब्दसँग मेल खाने आइटम डान्स । आइटम गीत भनेर चर्चा गरिएको यो गीतले करोडौँ हिन्दुहरूको मन र भावनामा चोट पारेको भन्दै यतिबेला हिन्दु अभियन्ताहरू आक्रोशित हुन पुगेका छन् ।

गीत–संगीतले भाषा, संस्कृति र शैलीको पनि प्रतिनिधित्व गर्ने गर्दछ । यो कुरा सर्जकले पनि बुझ्नुपर्छ । तर यो गीतमा शिव भगवानको नामलाई यसरी गलत तरिकाले प्रस्तुत गरिएको छ कि मोडलको हाउभाउ अनि उपस्थिति साँच्चै मन नै अमिलो बनाउने र हिन्दु धर्मालम्वीहरूको आस्थामाथि चोट पुऱ्याउने खालको छ । त्यसो त, पछिल्लोपटक केही विवादास्पद सृजना गरियो भने भाइरल हुने लोभ र लालचमा केही मौसमे सर्जकहरू देखापर्दा यही विधा र क्षेत्रमा जीवन समर्पण गरेका सर्जकहरूको स्वाभिमानमा ठेस पुगिरहेको तर्फ कसैले ध्यान दिएको देखिँदैन । रातारात चर्चा पाउने लोभ र निकृष्ट सोचले यस्ता सर्जकहरू रातोरात नै गुमनाम पनि भैरहेका छन्, आखिर नियत नै त हो ? नियत सफा भए सबै सफा । भोलि कुनै समूह, जमघट, विशेष समारोह वा प्रतिष्ठित उपस्थितिमा परिचय दिनुपऱ्यो भने म यस्तो गीतकी गायिका, यस्ती मोडल भनेर परिचय दिने ? यसतर्फ पनि सोच्ने कि तपाइंजस्तो बौद्धिक सर्जकले ?

तपाईं त त्यसै चिनिनुहुन्छ, तपाईंको आफ्नै पहिचान र विशेषता छ । तर, पनि धार्मिक आस्था र पहिचानमाथि आँच पुऱ्याउने यस्तो सृजनामा किन मुछिनुभयो ? तपाईंले गाएको यो गीत र तपाईंको प्रस्तुति साँच्चै गौरव गर्नलायक र वाहवाही भन्ने खालको छ त ? यो भिडियो हेरेर केहीले आनन्द लिए होलान्, मनोरन्जन पनि पाए होलान्, तर दीर्घकालीन रूपमा एउटा ठूलो समूहले आस्थामाथिको यो प्रहारलाई कसरी सकारात्मक रूपमा लिन सक्छन् होला ? तपाईंसँग जवाफ छ ?

यतिबेला विश्वमा आफ्नो धर्म र संस्कृति बचाउंन, यसको मूल्य र मान्यतालाई सिरोधार्य गर्दै यसको पहिचान र गरिमालाई अच्छुण राख्न विश्वका मान्छेहरू लागिपरेका छन् । तर, हामी हाम्रै धार्मिक आस्था, स्वाभिमान र पहिचानलाई नङ्ग्याउँदै यसको खिल्ली उडाएर आफ्नै घरमा आगो लगाएर त्यसको खरानी ताप्नुमा नै आनन्द लिइरहेका छौँ । कुन मन, भावना र स्वाभिमानले यस्ता कृयाकलाप गर्न हामीलाई अभिप्रेरित गरिरहेको छ ?! हाम्रा अग्रज स्रस्टा–सर्जकहरूले देखाएको बाटो अनि कोरेको गोरेटो त यस्तो थिएन…।