शनिबार एक हजार ५१७ नेपाली स्वदेश फर्किए

शनिबार एक हजार ५१७ नेपाली स्वदेश फर्किए


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आवागमन र प्रस्थान दुवै गरी १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ५१७ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन् ।

नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट २५८ र दमामबाट १४७ यात्रु काठमाडौं ल्याएको छ । रियदमामबाट दुई उडानमा क्रमशः २५९ र १४४ यात्रु काठमाडौं ल्याएको छ । थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज दुबई र जेदाह प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।

यस्तै हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ यात्रु तथा एक शव र दमामबाट १५४ यात्रु नेपाल ल्याएको छ । थप उडानका लागि हिमालयको जहाज चीनको कुनमिं, दोहा र क्वालालम्पुर उडेको विमानस्थलले जनाएको छ ।

मालिन्दो एयरले क्वालालम्पुरबाट दुई चार्टर्ड उडान गरी क्रमशः १७३ र १७१, एयर अरेबियाले सारजाहाबाट १६७, फलाई दुबईले १५७ र इतिहाद एयरले १३६ नेपाली काठमाडौं ल्याएको छ । आइतबार पनि विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी १० चार्टर्ड उडान हुने विमानस्थलले जनाएको छ ।