कोभिड-१९ बाट नेपालमा मृत्यु हुनेको सङ्ख्या ७३, सात जिल्ला सङ्क्रमित शून्य

कोभिड-१९ बाट नेपालमा मृत्यु हुनेको सङ्ख्या ७३, सात जिल्ला सङ्क्रमित शून्य


गत २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जनासहित देशका विभिन्न जिल्लामा ३ सय ७८ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा शनिबार (२४ साउन) मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ बाट तीन जनाको मृत्यु भएको जानकारी दिए । नेपालमा हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ७३ जना पुगेको छ ।

प्रवक्ता डा. गौतमले भने, “सक्रिय सङ्क्रमित ६ हजार २०६ मध्ये प्रदेश नं १ मा ४७८, प्रदेश नं २ मा दुई हजार ९२९, वाग्मती प्रदेशमा एक हजार २९, गण्डकी प्रदेशमा २४२, प्रदेश नं ५ मा ३९०, कर्णाली प्रदेशमा १६३ र सुदूरपश्चिम प्रदेशमा ९७५ सक्रिय सङ्क्रमित रहेका छन् ।”

हालसम्म विश्वभर एक करोड ९५ लाख ४९ हजार ९०१ कोभिड–१९ बाट सङ्क्रमित छन् । सात लाख २४ हजार १८६ व्यक्तिको मृत्यु भइसकेको छ र एक करोड २५ लाख ७० हजार ६३१ व्यक्ति यस रोगबाट निको हुनुभएको छ । पछिल्लो २४ घण्टामा सात हजार ७८८ जनाको पिसीआर परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

हालसम्म जम्मा चार लाख ३५ हजार २८९ परीक्षण भएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या १० हजार ७९२ छ ।

गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या ४९९ जना छन् । हालसम्म डिस्चार्ज हुने १६ हजार ३१३ छन् । पिसीआर सात हजार ८८८ जनामा परीक्षण गरिएको छ । सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी सात जिल्ला छन् ।