स्वघोषित ‘समाजसेवी’ यूटुबरको खास धन्दा डलर खेती !

स्वघोषित ‘समाजसेवी’ यूटुबरको खास धन्दा डलर खेती !



■ राजन घिमिरे

यूटुबर सञ्चारकर्मी हुन् कि समाजसेवाको नाममा पेट पाल्ने परजीवी ? मान्छेका भावनामाथि खेलबाड गरेर पीडा दिने परपीडक नै त होइनन् नेपालका यूटुबर ? अब त यस्तै प्रश्न खडा भएको छ । र, यसबारे स्पष्ट नहुँदा पेशा वा विधा नै यतिबेला विवादित बनेको छ ।

अख्तियार, प्रहरी र न्यायाधीश नै आफै जस्तो गरेर मानिसहरूलाई हमला अनि केरकार गर्ने र आफूले ज्यादति गरेको भिडियो निर्लज्ज ढङ्गले यूटुबमा अपलोड गरेर राष्ट्रिय–अन्तर्राष्ट्रिय बेइज्जत गर्ने ! गजबको शैली र संस्कारको विकास गरिरहेका छन् यहाँका कतिपय यूटुबरहरूले । यूटुबमार्फत् समाज र राष्ट्रलाई सकारात्मक योगदान पुर्‍याइरहेका विद्या चापागाइँलगायतका सञ्चारकर्मीहरू पनि छन्, तर यो पेशाकै बदनाम गरेर समाजमा प्रदुषण फैलाइरहेका कतिपय यूटुबरका कारण राम्रो कर्म गर्नेहरूलाई समेत आज मुख लुकाउनु पर्ने अवस्था निम्तिएको छ । आफूलाई ‘भाइरल यूटुबर’ ठान्ने कतिपय, जसले आज समाजमा एक प्रकारको द्वन्द्व नै निम्त्याइरहेका छन्, तपाईंहरू यूटुबलाई पत्रकारिताकै अंश मान्ने हो र आफूलाई पत्रकार भनेर चिनाउने हो भने केही सिक्नुस् विद्या चापागाइँहरूबाट । यूटुबको ठाडो खेती गर्ने अनि पत्रकारिता गरेको छु भनेर अरूलाई भ्रममा नपार्नुस्, यसले तपाईंहरू आफै भ्रममा परि राख्नुभएको छ ।

तपाईं यूटुबर कि पत्रकार हो कि समाजसेवी ? पहिला आफूले रोजेको क्षेत्र र काम गरेको विधा छुट्याउनुस् र, त्यसैमा सक्रिय हुनुहोस् । तपाईं आफै स्पष्ट हुनुहुन्न भने कसरी समाजलाई सही मार्गदर्शन दिन सक्नुहुन्छ ? आफैं बोक्सी आफैं धामी बनेर आफ्नै उपहास ननिम्त्याउनुहोस् !

त्यसो त हामी दर्शकहरू पनि यूटुबमा सकारात्मक र ज्ञानगुनका कुराभन्दा यस्तै उट्पट्याङ, अफवाह र अश्लीलता नै हेर्न रूचाउँछौँ । अर्काका पीडा, वेदना र आँशु मिसिएका भिडियोहरू हेरेर समय कटाउनु हाम्रो ‘मनोरञ्जन’को एउटा पाटो बन्न थालेको छ । हाम्रो यो मानसिकता यूटुबरहरूले राम्रोसँग बुझेका छन् र त त्यस्तै सामग्री पस्केर दोहन गरिरहेका छन् । विषयबस्तु खुट्याएर हेर्न नजान्दा तिनका डलरेधन्दाको सहयोगी बनिरहेका छौँ हामी दर्शक ।

यूटुबरले समाजसेवा गर्नै हुँदैन भन्ने कदापि होइन, तर कथित समाजसेवाको आडमा कसैको बाध्यता–विवशता, लाचारीपन र आँशुमाथि खेलबाड गर्दै सहयोग गर्ने बहानामा यूटुबरले अर्काको घर–कोठामा जन्ती नै लिएर हुलहुज्जत गर्दै प्रवेश गर्न मिल्छ ? समाजसेवीले हल्ला गर्ने हो कि चुपचाप सेवा प्रदान गर्ने हो ? चोखो मनले गरिने समाजसेवालाई ब्यवसायिक तुल्याउने ? कति यूटुबरहरू त जानी–नजानी समाजसेवी बनिटोपलेका छन् । भिडियो बनाउने, यो पेज लाइक गर्नुस्, सेयर गर्नुस् भनेर आग्रह गर्ने अनि डलरको खेती लगाउने ? भाग्य र शिशिरको शुरू–शुरूका यूटुब भिडियो हेर्नुस् । शुरूमा यी दुवैले राम्रा समाचार तथा जानकारीमूलक सामाग्रीहरू यूटुबमा पस्कन्थे । उनीहरूको यूटुबको नाम पनि सामान्य प्रकारकै थियो । समाचारमूलक रिपोर्टिङ गर्दा अप्ठ्यारो र समय पनि धेरै लाग्ने गरेको अनि पेज र सस्क्राइब पनि धेरै लाइक नहुने देखेर यिनीहरूले शुरूमा अँगालेको बाटो र उद्देश्य नै फरक गरे । यूटुब पत्रकारिता भन्दा पीडा, दुःख र आँशु धेरै बिक्ने र हेरिने भएकाले पत्रकारिताको मूलधारबाट हटे यिनीहरू, अनि दुःख बिकेपछि प्रवासबाट रकम पनि उठाउन मिल्ने, धेरै हेरेपछि यूटुबबाट डलर पनि आउने र आफ्नो साइडको लाइक र सस्क्राइब पनि बढ्ने ? गजबको जुक्ति लगाए यिनीहरूले । यहाँ कुन सोच, मोड र धेर्यमा समाजसेवाको पाटो झल्कन्छ ? भन्नुस् त ?

भाग्य न्यौपानेले आफैले सहयोग गरेको रकम दश हजार फिर्ता मागेछन् । उनलाई एउटा आग्रह छ, त्यै बालकको पीडा र आँशु यूटुबमा राख्दा डलर पनि आयो होला । त्यो चाहिँ फिर्ता गर्नु पर्दैन ? दुनियाँलाई बालकको पीडा देखाएर लाखौँ जम्मा गर्ने, अनि दिएको दश हजार पनि फिर्ता माग्ने ? यो पनि हो त समाजसेवा ?

यहाँ भाग्य न्यौपाने र केही यूटुबरको लाइक र फलोअर्स बढी छन् । यो सब जनताले मन पराएर भएको हो । अरूहरूले डाह गरेर हुन्छ ? भन्ने महामानवहरू पनि देखियो । यसलाई नै त्यो ब्यक्तिको प्रतिष्ठा, मान–सम्मान, वाहवाही र लोकप्रियताको मापन मान्ने हो भने नेपालमा चलेका हिरोइनहरू भन्दा अर्चना पनेरूको फलोअर्सहरू बढी छन् । के अब अर्चना महान अभिनेतृ हुन् त ? राष्ट्रकवि माधव घिमिरे, समाजसेवी अनुराधा कोइराला, महावीर पुनलगायतका देशका प्रतिष्ठितहरूको पेज न लाइक छ न त फलोअर्स नै ? के अब भाग्य उहाँहरूभन्दा माथि हुन् ? यस्ता वाहियात तर्क नदिने कि ?

ल ठिक छ, तपाइईं यूटूबर समाजसेवी नै हो । तपाईंहरूले समाजलाई ठूलो योगदान दिनुभएको छ । तपाईंहरूको हामी वाहवाही पनि गर्छौं । तर समाजसेवा गर्न जानुअगाडि तपाईंहरू जहाँ जानुहुन्छ किन क्यामेरा बोकेर यूटूबरहरूको जन्ती लिएर जानुहुन्छ ? अरूको संवेदना र पीडालाई खिचेर किन सार्वजनिक गर्नुहुन्छ ? समाजसेवा गर्नलाई अरूको आँशु र पीडालाई खिचेर यूटुबमा हाल्नैपर्छ र ? तपाईंहरूलाई त यस्तो पीडा हालेर पनि अझै शान्ति मिल्दैन । त्यसपछि भन्नुहुन्छ– ‘यस्तै–यस्तै भिडियो हेर्न हामीलाई लाइक र सस्क्राइब गर्नुस् !’ लाग्छ– यस्ता पीडा र आँशुहरू अरू पनि तपाईंहरूले तयार पार्नुभएको छ । तपाईंहरूले यति सहयोग गरेँ, उति गरेँ भनेर जसरी खोक्नुभएको छ नि त्यो भन्दा बढी त तपाईंहरूले जसको पीडा र आँशु हाल्नुभएको यूटुबबाट डलर आउँछ होला । यस अर्थमा तपाईंले पीडकलाई होइन, पीडकले चाहिँ तपाईंको यूटुबलाई चर्चामा ल्याउन र तपाईंहरूलाई कमाउन सहयोग गरिराख्नु भएको छ । होइन भन्न सक्नुहुन्छ .. ?