जनचाहनाविपरीतको शासकीय यात्रा !

जनचाहनाविपरीतको शासकीय यात्रा !


राजनीतिक बिचौलिया बनेर ठूला आयोजना हात लगाउने, योजना हत्याइसकेपछि त्यसलाई पूरा गर्नेभन्दा अनेक तिगडमबाजी गरेर दुहुनो गाई तुल्याउने र अलपत्रै छोडिदिने ! मखनबोलीमा ठुल्ठूला कुरा गरेर शासनसत्ताको उच्च ओहदामा रहेका पात्रहरूलाई लठ्याउने, वशमा पार्ने र तिनका घरका कोठाचोटासम्म सहज पहुँच राख्ने ! हर दुःख–सुखमा पारिवारिक सदस्य या आत्मीयजनजत्तिकै बनेर हात बाँडेको नौटङ्की रच्ने ! यस्तै र यिनै प्रकृतिका कर्म गरेर भ्रष्ट राजनीतिकर्मीलाई पोस्ने, देशदोहन गरी आर्जेको रकमबाट शानमान बढाउने, धाकधक्कु लडाउने अनि कर्मचारीतन्त्रका लुब्ध पात्रहरूदेखि हरेक राजनीतिक दलका हर्ताकर्तालाई आवश्यकतानुसार लुटको धनले कजाउने ! एवम् प्रक्रिया चक्रजस्तै चालु राख्ने ।

राज्यको ढुकुटीमा चुना लगाएर जसरी पनि धन सोहोर्ने अभीष्टसिद्धिका निम्ति लागिपरेका हरेक बिचौलिया–व्यवसायीको चरित्र लगभग मिल्लदोजुल्दो या उपर्उल्लिखित प्रकृतिकै रहेको पाइन्छ । तिनका लागि देश के हो, देशका तमाम नागरिक को हुन्, देशप्रतिको दायित्व के हो भन्ने जस्ता प्रश्नले कुनै महत्व राख्दैन । तिनले गर्ने देशभक्तिका कुरा, सेवा र विकासका कुरा मिथ्या हुन्छन् । रातलाई दिनको रूपमा चित्रित गरेर या कालोलाई सेतो हो भनी विश्वास दिलाएर आर्जन गर्न पल्किएकाको निम्ति धन नै सबथोक हो ।

उल्लिखित चरित्रसँग मेल खाने स्वभावका पात्रहरूबारे नेपाली मिडियाले पनि बेला–बेला चर्चा उठाउने गर्छ, जस्तो कि बितेको साताभर भएको पाइयो । लगानी बोर्डजस्तो अत्यन्त महत्वशाली निकायको सिइओ नियुक्तिको सन्दर्भमा चर्चा चल्दै गर्दा सरकारले सङ्कास्पद व्यवसायिक चरित्रका पात्र या त्यस्ता पात्रविशेषका पारिवारिक सदस्यलाई छनोट गर्न लागेको विषयलाई विभिन्न सञ्चारमाध्यमहरूले निकै महत्वका साथ समाचार सम्प्रेषण गरे । जसलाई छनोट गर्न लागिएको अनुमान गरिएको थियो, ती पात्रबाट विगतमा राज्यलाई भारी मात्रामा नोक्सानी पुऱ्याउने गरी भएका कार्यहरूको फेहरिस्त सप्रमाण मिडियाहरूले उधिने । यस्तो लाग्थ्यो– नियुक्त गरिने सुनिश्चित भनिएका यस्ता विवादित–पात्रको नियुक्ति अब टरेर जानेछ ! तर, आमअनुमानलाई छक्याउँदै र छक्क पार्दै सरकारले कुनै धक–अप्ठ्यारो नमानीकन अन्ततः उनै पात्रलाई बोर्डको सिईओ नियुक्त गऱ्यो । ‘प्रधानमन्त्रीको सुत्ने कोठासम्मै पुगेर आफ्ना स्वार्थका एजेण्डा हाकाहाकी तेर्स्याउन सक्ने हैसियतका’ भनेर चर्चा गरिएका पात्रबारेको संशय तोडियो, मिडियाले चित्रित गरेकै जस्तो नतिजा सामुन्ने आयो !

प्रधानमन्त्री केपी शर्मा ओली हालसम्मका प्रधानमन्त्रीहरूमध्ये केही गर्ने बुता–बर्कत भएका, ध्येय पनि त्यस्तै बोकेका पात्रका रूपमा सह्राइएका व्यक्तित्व हुन् । अझै पनि उनबाट देशका लागि केही गतिलो काम हुन्छ भनी विश्वास गर्नेहरू भेटिन्छन् । ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ अर्थात् ‘भ्रष्टाचारीकोे मुखै हेर्दिनँ’ भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्ति उनका चर्चित बोलीमध्येका शीर्षबोलीमा पर्दछ । यस्ता बोली बोलेर जनतामा आशा जगाएका यिनै प्रधानमन्त्रीका कतिपय शैली, व्यवहार, निर्णय र कदम देखी बेला–बेला नेपाली जनता वाल्लजिल्ल पर्दछन् । के बोली र व्यवहारमा तादाम्यता नराखेर पनि एउटा प्रधानमन्त्री सफल बन्न सक्छ ? सर्वेसर्वा शासकले कुरा राम्रो गर्ने तर सोअनुरुपको पाइला चाल्ने चेष्टा नगर्दा पनि देश समृद्धितर्फ नै अघि बढ्छ ? यस्तै प्रकारका प्रश्नले यतिबेला सचेत नागरिक तप्काको मथिङ्गल मथिरहेको अवस्था छ ।

प्रधानमन्त्रीलाई आफ्नै दलभित्रबाट हुँदै आएको असहयोग चिर्नका लागि विचार वा राजनीतिक आस्थाका हिसाबले जुनसुकै कित्तामा भए पनि तमाम नेपाली एकै ठाउँमा उभिएका छन् । सरकारलाई अस्थिर तुल्याउन खोज्ने तत्वहरूविरुद्ध स्वयम् प्रधानमन्त्री वा सरकारलाई पनि उछिनेर नागरिकहरू जुर्मुराएका छन् । हिजो ‘मुर्दावाद’ भन्न पछि नपरेकाहरू समेत केपी ओली केही हुन् भनिरहेका सुनिन्छन् । यस्तो प्रकारको साथ कुनै शासकलाई बिरलै उपलब्ध हुने विषय हो । तथापि, नागरिकको अभूतपूर्व साथ पाएर पनि उनै नागरिकको भावनामाथि कुठाराघात किन गरिँदै छ ? विडम्बनाको विषय बन्न पुगेको छ । कसैको शुभेच्छाले मात्र शासकहरूलाई सही स्थानमा उभ्याउन सकिन्न, तिनका सल्लाहकार, सहयोगी र आसपास रहेर कर्म गर्ने (आसेपासे)हरूले धेरै फरक पार्दछ भन्ने आमधारणा रहिआएको छ । आखिर यही धारणा नै व्यवहारतः ओली–शासनमा लागू भएको हो त ? यो प्रश्न अत्यन्त दर्बिलो गरी खडा हुन पुगेको छ ।