पोल्यान्ड पठाइदिने बहानामा १७ लाख ठगी गर्ने महिला पक्राउ

पोल्यान्ड पठाइदिने बहानामा १७ लाख ठगी गर्ने महिला पक्राउ


पोल्यान्ड पठाइदिन्छु भनी रु १७ लाख ठगी गर्ने एक महिलालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले चितवनका विभिन्न व्यक्तिसँग पोल्यान्ड पठाइदिने भन्दै ठूलो रकम लिने चितवनकी ४० वर्षीय कमलाकुमारी थापालाई सोमबार (१९ साउन) पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले विभिन्न प्रलोभनमा पारेर लक्ष्मी देवकोटासमेतका व्यक्तिसँग ठूलो रकम लिएको उजुरीका आधारमा थापालाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेकी थापालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ ।

ठगीमा संलग्न अमेरिकी नागरिक पनि पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले अमेरिकामा कम्पनी दर्ता गरिदिन्छु भनी नेपाली नागरिकलाई ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले कोटेश्वरका टुकनारायण श्रेष्ठको एटलस सेक्युरिटी प्रालिलाई अमेरिकामा दर्ता गरिदिन्छु भनी रु १० लाख ठगी गर्ने अमेरिकाका ६५ वर्षीय डेनियल ली मेगीलाई आइतबार क्षेत्रपाटीबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता कार्कीले बिजनेस भिषामा अमेरिका लाने भनेर सुजन थापा, सन्दीप कार्कीलाई प्रतिव्यक्ति रु पाँच लाख ठगी गर्ने प्रयास गर्दागर्दै पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ मेगीले अरू व्यक्तिलाई पनि ठगेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।