केपी र प्रचण्डबीच छलफल : ‘स्थिति सकारात्मक तर टुङ्गोमा नपुगी केही भन्न नसकिने’

केपी र प्रचण्डबीच छलफल : ‘स्थिति सकारात्मक तर टुङ्गोमा नपुगी केही भन्न नसकिने’


असमझदारी बढ्दै गएर झण्डै पानीबाराबारको अवस्थामा पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्ने विषयमा आइतबार (१८ साउन) विचार माझ्ने गरी छलफल भएको दाबी गरिएको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली र सहअध्यक्ष प्रचण्डबीच केही दिनयता संवाद नै हुन सकेको थिएन ।

यस्तो परिवेशबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सो पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङसहित सघन छलफल भएको हो । स्थायी कमिटीको बैठक पटक–पटक स्थगन भएको र नियमित कार्यसूचीमा छलफल हुन नसकेका कारण सत्तारुढ नेकपामा विवाद बढेको छ । स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँड तथा सरकार र पार्टीबीचको समन्वयबारे विवाद बढेको हो । खासगरी केपी ओलीलाई प्रधानमन्त्री र पार्टीअध्यक्ष दुर्व जिम्मेवारीबाट किनारा लगाउन प्रचण्डले चलखेल तीव्र बनाएपछि पार्टी झण्डै फुटको संघारसम्म पुगेको आँकलन गरिएको थियो ।

आइतबारको भेटमा सहभागी भएका नेता नेम्वाङले संवादहीनता फुकेर अध्यक्षद्वयबीच स–सानादेखि हाल सतहमा आएका सबै विषयमा छलफल भएको दाबी गरेका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले स्थिति सकारात्मक भएको तर सबै कोणबाट छलफल जारी रहेकाले टुङ्गोमा नपुगी केही भन्न नसकिने बताए । उनका अनुसार सोमबार पुनः बसेर थप छलफल हुने कुरा छ । दुई अध्यक्ष बसेर सहमति गर्नेको विकल्प नदेखिएको नेम्वाङको तर्क छ ।

पछिल्लो समय यही साउन १३ गतेको पूर्वनिर्धारित स्थायी कमिटीको बैठक स्थगनपछि बहुमत सदस्यको बैठकले अध्यक्ष ओलीसँग संवाद गर्न प्रचण्डलाई जिम्मेवारी दिएको थियो ।