महासचिव भट्टाचार्यमाथि दुव्र्यवहार, रमिते बने अध्यक्ष अवाले

महासचिव भट्टाचार्यमाथि दुव्र्यवहार, रमिते बने अध्यक्ष अवाले


नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्यले आफूमाथि दुर्व्यवहार भएको बताएका छन् ।

आफूलाई नेपाल बक्सिङ संघका सदस्य तथा राष्ट्रिय खेलकुद परिषदका सहायक प्रशिक्षक दीपक महर्जनले दुर्व्यवहार गरेको भट्टाचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

भट्टाचार्यमाथि श्रेष्ठले दुर्व्यवहार गर्दा सोही बैठकमा उपस्थित अध्यक्ष राम अवाले भने रमिते बनेका थिए । अवालेले प्रशिक्षक श्रेष्ठलाई रोक्नु र सम्झाउनुको सट्टा उल्टै महासचिवको मानमर्दन हुँदासमेत कुनै प्रतिक्रिया जाहेर नगरेपछि आफुले प्रेस व्यज्ञप्तिमार्फत घटना सार्वजनिक गर्न बाध्य भएको भट्टाचार्यले बताएका छन् ।

नेपाल बक्सिङ संघले यही साउन १५ गते बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको थियो । लामो समयपछि प्रतिकुल समयमा बोलाएको उक्त बैठकप्रति मोफसलका पदाधिकारीले असन्तुष्टि प्रकट गरेका थिए । बैठक साउन १५ गते नै बसे पनि विभिन्न प्रस्तावउपर गम्भीर रूपमा छलफलमा पुग्नुपर्ने देखिएपछि बैठकलाई साउन १६ गतेसम्म निरन्तरता दिइएको थियो ।

साउन १६ गतेको बैठकमा बक्सिङ संघका पदाधिकारीको न्युन उपस्थितिका रहेको थियो । यस्तो अवस्थामा प्रस्ताव गरिएका विषयमा मिहीन रूपले छलफल गर्नुपर्नेमा ती प्रस्तावहरूमा छलफल नै नगरि बहुमतको संख्याको आधारमा जबर्जस्ती पास गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो ।

महासचिव भट्टाचार्यले यस्तो स्थितिमा आफुले माइन्युटमा हस्ताक्षर नगर्ने र आफुले असहमति प्रकट गर्छु अर्थात् लेख्छु भनेपछि दीपक महर्जनले आफुमाथि अभद्र व्यवहार गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै उनले आफ्नो फरक मत राख्न पाउने अधिकारलाई कुण्ठित गरी आफुप्रति अभद्र व्यवहार भएकोमा घोर भत्सर्ना गरेका छन् । त्यस्तै, नयाँ खेलकुद ऐनअनुसार सहायक प्रशिक्षक वा संघको सदस्य एकबाट महर्जनले राजीनामा दिनुपर्ने भए पनि उनले अहिलेसम्म दुवै पद ओगटेर बसेकोमा रोष प्रकट गरेका छन् ।

त्यस्तै विगत लामो समयदेखि संघ एकलौटी र स्वइच्छाचारी ढङ्गले चल्दै आएको र महासचिव पदको पनि अवमूल्यन गर्दै आएको आरोप लगाएका छन् । महासचिवलाई संघले कुनै सूचना नदिने र माइन्युट समेत आफूनजिकका व्यक्तिलाई लेखाउने कार्य गर्दै आएको भट्टाचार्यले खुलासा गरेका छन् ।

त्यसै लामो समयदेखि संघमा आर्थिक अनियमितता हुँदै आएको र निर्वाचित कोषाध्यक्षबाट कोष परिचालन नगरि मनोमानी तवरले विधान विपरित कार्य भैरहको पनि विज्ञप्तीमा जानकारी गराएका छन् । यसैगरि बर्तमान कार्यसमितिले निर्वाचित भएर आएको चार वर्षको अवधिमा कुनैपनि साधारणसभा नगरेको र आर्थिक प्रतिवेदन समेत पास नभएको भट्टाचार्यले जनाएका छन् ।

साथै बक्सिङ संघको यस्तै पेलेर जाने रणनीतिको अख्तियार गरे त्यो नेपाली बक्सिङको लागि प्रत्युत्पादक बन्ने समेत चुनौती दिएका छन् । स्मरणरहोस्, अध्यक्ष अवालेको चारवर्षे कार्यकाल गत महिना सकिसकेको छ ।