अनशनरत युवाको माग तत्काल सम्बोधन गर्न देउवाको आग्रह

अनशनरत युवाको माग तत्काल सम्बोधन गर्न देउवाको आग्रह


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वसन्तपुरमा अनशनरत युवाको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

शतप्रतिशत पिसीआर परीक्षणको माग राख्दै १५ दिनदेखि अनशनरत ‘इनफ इज इनफ’का अभियन्तालाई शनिबार वसन्तपुरमा भेटेर उनले अनशनकारीको माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

सभापति देउवाले अनशनकारीको मागप्रति काङ्ग्रेसको ऐक्यबद्धता रहेको जानकारी दिँदै भने– ‘मान्छेलाई मर्न दिन हुँदैन, वर्तमान सरकारले तुरुन्तै आफ्नो मान्छे पठाएर अनशनमा बसेका युवालाई बचाउनुपर्छ, सरकारले शान्तिपूर्ण आन्दोलनकारी माथि धरपकड गर्न खोजेको छ, म यसको घोर भत्र्सना गर्छु ।”

उनले सरकार जनताको स्वास्थ्यमाथि गम्भीर हुनुपर्ने औंल्याए ।

सो अवसरमा कृष्णप्रसाद सिटौलाले १५ दिनदेखि अनशनमा बस्दै आएका युवाले उठाउँदै आएको माग देश र जनताको हितमा रहेको दाबी गर्दै भने– “सरकारले आफ्ना प्रतिनिधि पठाएर मागलाई तत्काल सम्बोधन गर्नुपर्छ ।’

यसअघि काङ्ग्रेस नेता प्रकाशमान सिंह, पूर्वमन्त्री नविन्द्रराज जोशीलगायतले अनशनरत युवालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

शतप्रतिशत पिसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्नेलगायतका माग राख्दै आएका अभियन्तासँग सरकारले गत असार २३ गते लिखित प्रतिबद्धता जनाए पनि अहिलेसम्म कार्यान्वयन नभएको अनशनकारीहरूको भनाइ छ ।

pict:rss