सीमापारि नेपालीहरू कुटिने क्रम बढ्दो

सीमापारि नेपालीहरू कुटिने क्रम बढ्दो


आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासीको अति विकट स्थानको रूपमा परिचित सुस्ता गाउँबाट सीमापार भारतमा औषधी किन्न जाने नेपालीहरूलाई भारतीय सुरक्षाकर्मीले कुटपिट गर्न थालेका छन् ।

सुस्ता गाउँपालिका–५ सुस्ता टोलमा बस्ने १८ वर्षीय राहुल चौधरी, १७ वर्षीय डब्लु शेख, २० वर्षीय गुड्डुलगायत आधा दर्जन नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीहरूले निर्घात कुटपिट गरेको सुस्ता बचाऔँ अभियानका प्रवक्त्ता रवीन्द्र जैसवालले जानकारी दिए ।

गत बुधबार (१४ साउन) नारायणी नदीमा बाढि आएको कारण औषधि खरिद गर्न भारत जाँदा नेपाली कुटिएको बताइएको छ । सामान्य मुल्य–मान्यतालाई ख्याल नगर्ने भारतीय सुरक्षाकर्मीले सुस्तावासीलाई कुटपिट गर्ने घटना नयाँ नभएको पनि पीडितहरूको भनाई छ ।

यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकसँग प्रतिक्रिया माग्दा यसबारे आफूलाई जानकारी नभएकोले घटनाबारे सत्यतथ्य बुझ्ने बताउनुभयो ।

यसैबीच, पश्चिम नवलपरासीको सुनवल क्षेत्रमा समुदाय स्तरमा कोरोनाको संक्रमणको त्रास देखिएपछि उद्योग वाणिज्य संघ सुनवलले बजार क्षेत्रमा सचेतना अभियान सञ्चालन गरेको छ ।

पछिल्लो समयमा लकडाउन खुकुलो भएसँगै ब्यापार–व्यवसाय सञ्चालनमा आएको र बजार क्षेत्रमा भीडभाडसँगै कोरोनाको सङ्क्रमण पनि समुदाय स्तरमा देखिएपछि रोकथाम तथा नियन्त्रणका लागि व्यवसायीको सटर–सटरमा पुग्ने अभियान सञ्चालन गरेको उद्योग वाणिज्य संघ सुनवलले जनाएको छ ।

उद्योगी व्यवसायीलाई सचेत गराउँदै नेपाल सरकारले लकडाउन खुकुलो बनाएको भए पनि कोरोना भाइरस बढ्न सक्ने अवस्था भएका कारण आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने मनसायले प्रत्येक व्यवसायीको सटरमा पुगी सचेत गराउन अनुरोध पत्रसहित मास्क, सेनेटाइजर प्रयोग गरौँ र आउने ग्राहकलाई पनि अनिवार्य रूपले मास्क सेनेटाइजर लगाउन आग्रह गरौँ भन्ने अनुरोध गरेको उद्योग वाणिज्य सङ्घ सुनवलका अध्यक्ष रमेश कर्माचर्याले बताउनुभयो ।

व्यवसायीले पनि उद्योग वाणिज्य संघको आग्रहलाई सकरात्मक रुपमा लिएको संघका वाणिज्य उपाध्यक्ष लेखनाथ खरेलले जानकारी दिनुभयो ।

सचेतना कार्यक्रममा वडा नम्बर १२ का वडाध्यक्ष यमलाल पाण्डे, वडा नम्बर १३ का अध्यक्ष कृष्णप्रसाद देवकोटा, कार्यपालिका सदस्य अर्जुन सुनार, इलाका प्रहरी कार्यालय सुनवल र सञ्चारकर्मीका साथै उद्योग बाणिज्य संघ सुनवलको उपस्थितिमा सुनवल नगरपालिका वार्ड नं १२ र १३ का व्यवसायी तथा उपभोक्ता वर्गमा अनिवार्य रूपमा भौतिक दूरी कायम राख्न अनुरोध गरेको छ ।

साथै उद्योग वाणिज्य संघको टोलिले राजमार्गमा चलेका सवारी साधनहरूलाई समेत सचेत रहन आग्रह गरेको थियो । कार्यक्रमको पहिलो दिन सुनवल नगरपालिकाको भुमही हरकटा, बडेरा बजारमा उद्योग वाणिज्य संघको टोलीले पसल–पसलमा पुगी सचेत गराएको थियो भने यसलाई निरन्तरता दिँदै सुनवल, स्वाठी लगायतका बजार क्षेत्रमा आइतबार सचेतनासहितको पत्र लिएर प्रत्येक व्यवसायीको सटरमा पुग्ने उद्योग वाणीज्य संघ सुनवलले जनाएको छ ।