सृष्टिलाई निरन्तरता दिनु पर्छ या पर्दैन ?

सृष्टिलाई निरन्तरता दिनु पर्छ या पर्दैन ?


■ देवप्रकाश त्रिपाठी

बिहानको खानेकुरा अलिक ढिला खाएकोले उनीहरू दुवैलाई खानेबित्तिकै निद्राले छोप्यो । अभ्यस्त आफ्नो बिछ्यौनामा गएर सुत्यो भने निराकारचाहिँ घरबाहिर हुर्कदै गरेको एक रूखको छहारीमा । दुवैजना लामो निद्रामा परे । ब्युझिँदा घामले रातोमुख लगाइसकेको थियो ।

घरभित्रबाट ‘आज खुब सुतियो नि’ भन्दै अभ्यस्त बाहिर निस्कियो र आमाको नजिकै गएर बस्यो ।

निराकारले भनिन्, ‘ढिला खाना खाएपछि यस्तो हुन्छ । तिम्रै कारणले आज यस्तो भएको हो, आइन्दा यस्तो नगर्नू ।’

‘हुन्छ, कोसिस गरौँला, तर मलाई एउटा कुरा जान्न मन लागिरहेको छ आमा’, उसले भन्यो ।

‘कस्तो कुरा ?’

‘यो ठीक र यो बेठीक भनेर कुनै पनि कुरालाई कसरी छुट्याउन सकिन्छ ?’

‘बुद्धि र विवेकको प्रयोगद्वारा !’

‘ठीक भनेको के हो आमा ?’

‘जेलाई हामी गलत मान्दैनौँ र उचित ठान्छौँ, त्यही नै ठीक हो ।’

‘अहिले साँझ पर्न लाग्दै छ, यो ठीक हो ?’

‘यो ठीक मात्र होइन, सत्य नै हो ।’

‘के फरक छ आमा सत्य र ठीकमा ?’

‘हरेक सत्यहरू ठीक हुन् तर हरेक ठीकहरू सत्य नहुन सक्छन् ।’

‘मैले बुझ्न सकिनँ आमा ।’

‘कुरा साधारण छ बाबु, कुनै कुरा हामीले ठीक मान्दा ठीक र नमान्दा बेठीक हुन्छ तर सत्यचाहिँ हामीले मान्दा र नमान्दा पनि एउटै हुन्छ । जस्तै अहिले साँझ पर्न लागेको छ यो सत्य हो, हामीले नमान्दैमा यो गलत हुँदैन । तर आजको दिनलाई शुक्रबार भनेर भन्यौँ भने मान्दा मात्रै ठीक नमान्दा यो बेठीक हो । सूर्य चम्किलो छ भनेर हामीले अस्वीकार गरे पनि सूर्य चम्किलो नै हुन्छ, त्यो सत्य हो । तर, हामी आफैले सिर्जना गरेर मानेका कुराहरू चाहिँ मानेका कारणले मात्रै ठीक हुन् । पहिले धर्तीमा मानिस मर्दा गाड्नुपर्छ र गाड्नु नै ठीक भन्नेहरू पनि थिए, जलाउनुपर्छ भन्नेहरू पनि थिए । जसले जे मान्छ त्यही नै ठीक हो । तर, त्यो सत्यचाहिँ होइन । सत्य के हो भने शरीर नाशवान छ नगाडे र नजलाए पनि यो नाश हुन्छ ।’

‘हामीले पहिले जे–जस्ता मान्यताहरू बनाएका छौँ, ती ठीक हुन् कि सत्य नि आमा ?’

‘एउटा मर्यादामा रहेर जीवन चलाउन बनाइएका नियमहरू ठीक हुन सक्छन्, तर सत्य होइन ।’

‘हामी पनि अरू जनावरजस्तै एउटा प्राणी हौँ, उनीहरूमा चाहिँ जीवनपद्धतिको कुनै नियम नै थिएन, हामीमा मात्रै किन त्यस्तो हुनुपर्ने ?’

जनावरहरूको पनि जीवन–प्रक्रियाको एउटा पद्धति हुन्छ, तर त्यो पद्धति प्रकृतिले निर्धारण गरेको सीमाभित्र हुन्छ । मानिसचाहिँ विवेक र बुद्धि पनि भएको प्राणी हुनाले प्रकृतिबाहेक बेग्लै मर्यादा निर्धारण गरेर जीवनपद्धति बनाएका हुन् । जन्मजात प्रत्ययहरूको आधारमा मात्र हाम्रो जीवन सञ्चालित हुँदैन ।’

‘मानवनिर्मित मर्यादा भङ्ग गरेर जीवन बाँच्न खोजियो भने के हुन्छ ?

‘अरू के हुनु ? जीवन कष्टप्रद हुन्छ । खुसीसाथ बाँचेको हुँदैन जीवन ।’

‘यहाँ हामीले मर्यादा भङ्ग नै गऱ्यौँ भने पनि सजाय कसले दिन्छ र आमा ?’

‘मर्यादा भनेको आफ्नै खुसी र सन्तुष्टिका लागि राख्ने कुरा हो । दण्ड वा पुरस्कारका कारण यसको पालना गरिने वा नगरिने भन्ने हुँदैन ।’– निराकारले अलिक कठोरतापूर्वक जवाफ फर्काइन् ।

साँझ परिसकेको थियो । तर, दिउँसोको खाना ढिला भएकोले उनीहरू अहिलेसम्म भोकाएका थिएनन् । त्यसैले उनीहरू अरू केहीबेर कुराकानी गरेर बस्ने भए ।

आकाशमा चन्द्रमा थिएन । खुला आकाशमा चम्किरहेका सहस्र ताराहरूको मुनि निष्पट्ट अन्धकार । नजिकै बसेका उनीहरू पनि एकअर्कालाई कालो छायाकै रूपमा मात्रै देखिरहेका थिए । कसैले कसैको अनुहार पढ्न सक्ने अवस्था त्यहाँ थिएन । अभ्यस्तले जिज्ञासु बन्दै प्रश्न अघि सा¥यो, ‘आमा, आत्मा र शरीरको सम्बन्ध कस्तो हुन्छ ?’

‘शरीर र लुगाको जस्तो’, निराकारले उसको प्रश्न खस्न नपाउँदै प्याच्चै भनिदिइन् ।

‘आत्माचाहिँ शरीर जस्तो कि लुगाजस्तो ?’

‘शरीरजस्तो लुगाहरू । अनेकौँ फेरिइरहेका हुन्छन्, शरीर एउटै भएजस्तै आत्माले पनि अनेकौँ शरीर फेरिरहेका हुन्छन् । आत्मा चेतन तत्त्व हो । मर्दैन र देखिँदैन पनि ।’

‘आत्माबिनाको शरीरको कुनै मूल्य हुन्छ ?’– अभ्यस्तले थप जिज्ञासा पोख्यो ।

‘आत्माबिनाको शरीर एउटा पदार्थ मात्र हो, जुन आत्माबिना अस्तित्वमा रहन सक्दैन । पहिले एकथरी मानिसले पदार्थको परिणामका रूपमा मात्र चेतनालाई लिने गरिएको पनि पाइन्थ्यो । पदार्थकै परिणाम भनेर मानिदिने हो भने पनि शरीरमा चेतनाको उपस्थिति निर्विकल्पित ढङ्गले प्रभावकारी हुन्छ । शरीरमाथि चेतना यति हाबी भइदिन्छ कि शरीर आत्माको लाचार छायाजस्तो मात्र प्रतीत हुन्छ’, निराकारले कुरा टुङ्ग्याउन खोजिन् ।

तर अभ्यस्त रोकिएन । उसले फेरि प्रश्न अघि साऱ्यो– ‘शरीर नाशवान र आत्मा अमर छ भने शरीरले गर्ने कर्म–कुकर्मका लागि आत्मा त दोषी हुन्न नि, होइन ?’

‘किन हुँदैन, हुन्छ । किन हुन्छ भने आत्माको निर्देशनअनुसार नै शरीर सञ्चालित हुन्छ । शरीरले गर्ने हरेक कुराको जिम्मेवारी आत्माले लिनैपर्छ ।’

‘आमाको भनाइअनुसार नै भन्ने हो भने आत्मा ईश्वरको अंश होइन ?’

‘हो ।’

‘अनि ईश्वरले गल्ती गर्दैनन् भन्ने भनाइ पनि रहिआएको छ, ईश्वरको अंश अर्थात् आत्माले गरेको कुनै पनि कामलाई किन गलत मान्ने ? ईश्वरले गल्ती गर्छन् र ?’

‘ईश्वर, जो कहिल्यै नाश हुँदैनन्, निर्विकार र व्याप्त छन् । कसैको शरीरमा प्रवेश नगर्दाको अवस्था नै ईश्वरको अवस्था हो र त्यसबेला ईश्वर निरपेक्ष रहन्छन् र गल्ती पनि गर्दैनन् । तर जब शरीरमा प्रवेश हुन्छ, त्यो बेग्लै अवस्था हो । शरीरमा प्रवेश गरेपछि शरीरकै सीमाभित्र रहेर मात्र आत्माले भूमिका निर्वाह गर्न सक्छ । गोरूको शरीरभित्र प्रवेश गर्ने आत्मा र चराको शरीरमा आबद्ध आत्माले एकै प्रकारको भूमिका निर्वाह गर्न सक्दैन । जुन स्वरूप र शरीरमा भूमिका निर्वाह गर्छन्, त्यसको त्यही आधारमा मूल्याङ्कन हुन्छ र सही–गलतको जिम्मेवारी त्यही शरीरधारीले लिनुपर्छ ।’

‘हामी सबै प्राणीहरू ईश्वरको सिर्जना हौँ आमा ?’

‘सृष्टिको संयोजन कसबाट भएको हो, यो खोजीको विषय हो । ईश्वर जो कहिल्यै नाश हुँदैनन् र व्याप्त छन्, उनकै अस्तित्वको प्रमाणिकता र परिभाषा हुन अझै बाँकी छ । प्राणीहरूको सृष्टि ईश्वरबाट नै भएको हो भने मृग बनाउनेले बाघ किन बनाए ? जब बाघ बनाउनु र मृगलाई आहारा बनाउनु थियो भने बरू दुवैलाई नबनाएको भए पनि हुने थियो कि भन्ने पनि लाग्छ । ईश्वर आफैले संयोजन गरेको भए आफ्नो सन्तानले आफ्नै सन्तानको हत्या भएको हेर्ने इच्छा उनको हुनु नपर्ने हो । त्यसैले म के भन्छु भने ईश्वर अवश्य छन्, जसको परिभाषा हुन बाँकी नै छ, तर प्राणी सृष्टिको संयोजनचाहिँ ईश्वरले जानाजान गरेका हुन् या स्वाभाविक प्रक्रियाको परिणाम मात्र हो भन्ने कुरामा म स्पष्ट छैन ।’

‘ईश्वरका बारेमा पनि बुझ्न धेरै बाँकी छ । समग्रमा जीवनचाहिँ के हो त आमा ?’

‘सङ्क्षिप्तमा भन्नुपर्दा जीवन जोड, घटाउ, गुणा र भाग गर्दा शून्य उत्तर आउने अवस्था हो । त्यो किनभने हामी जीवनमा अनेकौँ काम गरिरहेका ठान्दछौँ, तर हामी जे गरिरहेका हुनेछौँ त्यो खासमा केही पनि हुने छैन । अन्तिममा शून्य ।’

‘त्यस्तो हो भने मानव सृष्टिलाई निरन्तरता दिँदा या नदिँदा के फरक पर्छ त आमा ?’

‘हो, दिँदा के फरक पर्छ त्यो म सोच्दै छु, तर नदिँदा पनि त के फरक पर्छ र ?’

यति भन्दै निराकार उठिन् र ओछ्यानतिर सोझिइन्, अभ्यस्त पनि जुरूक्क उठ्यो र उनकै पछिपछि आफ्नो बिछ्यौनातिर लाग्यो ।

000

यसअघिको खण्ड हेर्नुहोस्–

अभ्यस्तको ‘उपचार’को सवाल